विद्युत चोरी गर्ने चार सय कारबाहीमा
भैरहवाः रुपन्देहीमा विद्युत् चोरी गर्ने चार सयजना ग्राहक कारबाहीमा परेका छन् । प्रहरीको सहयोगमा नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले चोरीको अभियोगमा ७३ जनालाई हिरासतमा राखेर दण्ड जरिवना असुल उपरसमेत गरेको जनाएको छ । केन्द्र प्रमुख मुनिन्द्र ठाकुरले आव २०७२/७३ मा उनीहरू कारबाहीमा परेको बताए ।
यसैगरी प्राधिकरणले यस क्षेत्रका एक हजार तीन सय १५ जना ग्राहकलाई कालो सूचीमा राखेको छ । चोरी नियन्त्रण कारबाही अभियानबाट केन्द्रले ६९ लाख ६७ हजार एक ७७ रुपैयाँ असुली गरेको र कालोपाटीका ग्राहकमध्य ४२ जनाबाट मात्रै नौ लाख ६८ हजार आठ ३४ रुपैयाँ उठाउन सफल भएको केन्द्र प्रमुख ठाकुरले जानकारी दिए । विद्युत् नियम पालना नगर्ने अटेरी पाँच सय ३२ जनाको विद्युत् लाइन विच्छेद गरिदिएको छ । बक्यौता बुझाउने र कारबाही फुकुवा भएका ६ सय ४४ जनाको भने पुनः विद्युत् लाइन जडान गरिदिएको छ । लाइन जडानबाट दुई करोड ३७ लाख ५ हजार नौ सय १९ रुपैयाँ उठेको विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रको लेखा शाखाले जनाएको छ ।
यसैबीच कार्यालयले वार्षिक प्रगति विवरणमा विभिन्न कारबाही प्रक्रियाबाट तीन करोड १६ लाख ४१ हजार नौ सय ३० रुपैयाँ उठेको उल्लेख गरेको छ ।
केन्द्रले सिद्धार्थनगर, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिका क्षेत्रमा जडान गरेको सडक वत्तीको सम्बन्धित नगरपालिकाबाट करिब ६ करोड असुली गर्न सकेको छैन् ।
कालोपाटीको ग्राहकबाट प्राधिकरणले दुई करोड ७७ लाख ९७ हजार रुपैयाँ उठाउन बाँकी छ । मर्चवार, लुम्बिनी र धकधई क्षेत्रमा सबैभन्दा बढी हुकिङ हुने र विद्युत् चोरीका घटना दोहोरीरहेको प्राधिकरणका कर्मचारीले बताए ।
भैरहवा केन्द्र मातहतमा घरयासी ८३ हजार पाँच सय ५४, गैरव्यापारिक पाँच सय ७७, औद्योगिक एक हजार ६सय तीन, व्यापारिक पाँच सय ७१ र अन्य एक हजार सात सय ९७ सहित कुल ८८ हजार एक सय ग्राहक छन् ।