मन्त्री छान्न माओवादी र कांग्रेसको बैठक
काठमाडौंः प्रधानमन्त्रीका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएपछि सरकार विस्तारका लागि मन्त्री चयन गर्न नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस छलफलमा जुटेका छन् । दुवै दल नयाँ मन्त्री चयन गर्ने विषयमा बेग्ला बेग्लै छलफल गरिरहेका छन् ।
माओवादीको हेडक्वाटर बैठक
नेकपा माओवादी केन्द्रको हेटक्वाटर बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड निवास लाजिम्पाटमा जारी छ । बैठकमा सरकारमा सहभागी गराउने मन्त्रीहरुको नामावली टुग्याउने विषयमा छलफल जारी छ ।
माओवादीले पहिलो चरणमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, राम कार्की, हितराज पाण्डेलगायतको नाम चर्चामा रहेपनि त्यसलाई बैठकले अन्तिम रुप दिनेछ ।
माओवादी र कांग्रेसको गठबन्धनमा कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने गरी भागबन्डा मिलाएका छन् । अन्य ६ मन्त्रालय भने राप्रपा, नेकपा संयुक्त र साना दललाई दिने सहमति भएको छ ।
कांग्रेस पनि छलफलमा
सरकारमा सहभागी नयाँ मन्त्री चयनका लागि नेपाली कांग्रेस पनि छलफलमा जुटेको छ । प्रभावशाली केन्द्रीय सदस्य र पदाधिकारी बैठकबाट मन्त्रीको नाम टुङ्गो लगाउने कांग्रेसले जनाएको छ ।
कांग्रेसबाट बिमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी मन्त्री बन्ने चर्चा चलेको छ । बैठकले कसकसलाई कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने निर्णय गर्नेछ ।
कांग्रेसले गृह, रक्षा, परराष्ट्र लगातयका १३ मन्त्रालय लिने समझदारी भएको जनाइएको छ ।