पुनर्संरचनामा नवलपरासीवासीको असहमति, जनसंख्या घटाउन सुझाव

पुनर्संरचनामा नवलपरासीवासीको असहमति, जनसंख्या घटाउन सुझाव

परासीः जिल्लामा निर्धारण गरिएको स्थानीय तह पुनर्संरचना मापदण्डमा नवलपरासीवासीहरुले असहमति जनाएका छन् । आयोगले जिल्लामा निर्धारण गरेको तह भौगोलिक अवस्था अनुसार व्यवहारिक नभएको भन्दै असहमति जनाएका हुन् । उनीहरुले उक्त मापदण्ड व्यवहारिक नभएको र कार्यान्वयन पनि हुन नसक्ने भन्दै जनसंख्याको आधार फेरबदल गर्न सुझाव दिएका छन् ।

गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्व क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले नवलपरासीमा ११ तह निर्धारण गरेको छ । जिल्लाको पुनर्संरचनाबारे सुझाव संकलन गर्नका लागि आईतवार र सोमबार कावासोती र सुनवलमा सर्वपक्षिय छलफल कार्यक्रम आयोजना गरिएको थियो ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति (जिविस) द्धारा आयोजित छलफल कार्यक्रमा सहभागी भएका राजनीतिकदल, गाविस सचिव र पूर्वजनप्रतिनिधिहरुले जिल्लाको भौगोलिक अवस्था अनुसार पुनर्संरचना लागू हुन नसक्ने ठहर गरेका छन् ।

स्थानीय तह निर्धारणबारे जिल्लाको राय संकलन गर्न निर्देशन दिएपछि छलफलको आयोजना गरि सुझाव संकलन कार्य सुरु गरिएको हो । तर पुनर्संरचनाको खाका नै अवैज्ञानिक भएको भन्दै कार्यान्वयन हुन नसक्ने प्रतिनिधिहरुले सुझाव दिएका छन् ।

 

संघीय संरचना अनुसार जिल्लालाई दुई प्रदेशमा विभाजन गरिएको छ । जसमा नवलपुर क्षेत्र प्रदेश नं. ४ र परासी क्षेत्र प्रदेश नं. ५ मा रहेकाले पुनर्संरचनामा समस्या रहेको सहभागी प्रतिनिधिहरुले सुझाव दिएका हुन् । ति दुवै प्रेशमा कति कति नगरपालिका र गाउँपालिका रहन्छन् भन्नेमा समेत अन्यौल छ । आयोगको खाका अनुसार तय गरिएका ११ तहमा चार नगरपालिका र सात गाउँपालिका रहने उल्लेख छ ।

जिल्लामा सात नगरपालिका र ५६ गाविस छन् । निर्धारण अनुसार हाल रहेका सात वटा नगरपालिकालाई वरपरका गाविस समावेश गरि यथावत राख्न पनि समस्या छ । जनसंख्याका कारण गाविसलाई समेटेर गाउँपालिका बनाउन पनि अर्को समस्या रहेको समितिलाई उनीहरुले सुझाव दिएका छन् । तह निर्धारण बारे प्राविधिक सहयोग समितिका सदस्य एवम् जिल्ला विकास समितिका योजना अधिकृत प्रकाश पन्थीका अनुसार प्रदेश र जिल्लाको सीमाना नखल्बलिने गरि आयोगले तह निर्धारण गर्न निर्देशन दिएकाले सोही अनुसार छलफल गरि सुझाव संकलन गरिएको हो ।

‘जिल्लाको प्रदेश नं. ४ र ५ को सीमानासमेत स्पष्ट नभएकाले केही अप्ठ्यारो भएको छ । त्रिवेणीसुस्तालाई प्रदेश नं. ४ र दाउन्ने पश्चिमका अन्य गाविस र नगरपालिकालाई प्रदेश नं. ५ मा राखेर तह निर्धारण गर्न आयोगले निर्देशन गरेको छ । ' पंथीले भने ।

कांग्रेसका जिल्ला सभापति विष्णु लामिछानेले पुनर्संरचना अनुसार जिल्लाको १७ पहाडी गाविसलाईभित्रि मधेसमा राख्दा सिंमाकनमा समस्या हुने र प्रदेश अनुसारका गाविसलाई मिलान गर्दा पनि कठिनाई हुने भन्दै फेरबदल गर्नुपर्ने सुझाव दिए । लामिछानेको आयोगले निर्धारण गरेको ११ तहलाई बढाउनुपर्ने र जनसंख्या घटाउनुपर्ने सुझाव छ ।

माओवादीका जिल्ला नेता एवम् केन्द्रीय सदस्य भविश्वर तिवारीले सीमाकंन नटुङ्गाएसम्म स्थानीय पुनर्संरचनाको बहस यथावत राख्नु पर्ने बताए । जिल्लामा आएका सुझावलाई केन्द्रीय स्तरले परिमार्जन गर्नुपर्ने उनको सुझाव छ ।

एमाले जिल्ला संगठन विभाग प्रमुख थानप्रसाद गैरेले जनसंख्याका आधारमा मात्र इकाई गठन नगरी भौगोलिक क्षेत्रलाई पनि आधार बनाएर गर्नुपर्ने सुझाव दिए । ‘हाम्रो जिल्लामा ७, ८ वटा गाविस मिलाउँदा पनि गाउँपालिका बन्न सक्दैन त्यसैले जनतालाई सुविधा हुने गरि तह मिलाउनु पर्छ ।’ गैरेको भनाई छ ।

कुडियाका निर्वतमान गाविस अध्यक्ष प्रेमचन्द्र गुप्ताले जिल्लामा रहेका दुई प्रदेशकै सीमा निर्धारण नभएकाले यसको बहस व्यर्थ भएको बताए । ‘भारतमा तीन हजार जनसंख्यामा गाउँपालिका बन्छ ।

हाम्रोमा भने जनसंख्या बढी रहने प्रावधान छ । त्यसैले पहिला जनसंख्यालाई घटाएर मात्र पुनर्संरचना इकाई तय गर्नु पर्छ । 'गुप्ताले सुझाव दिए । गुठीप्रसौनीका निर्वतमान गाविस अध्यक्ष रामअवतार कोईरीले जनताको प्रत्यक्ष सरोकार राख्ने तल्लो तह भनेको गाविस भएकाले पहिला जनसंख्या घटाउनुपर्ने सुझाव दिए । संविधान कार्यान्वयनमा नै चुनौती रहेकाले यहि आधारमा पुनर्संरचना गरिए तराई मधेसमा चुनाव संम्भव नभएको कोईरीको भनाई छ । आयोगले नवलपरासीलाई भित्री मधेसको सूचीमा राखेको छ ।

तराई मधेशमा नगरपालिका बनाउन ७५ हजार जनसंख्या, सदरमुकामको नगरपालिकालाई ९५ हजार र गाउँपालिकालाई ५० हजार जनसंख्या तोकिएको छ । मधेसको पहाडी गाविसलाई २५ हजार जनसंख्या तोकिएको छ । तह निर्धारण गर्दा साविकको गाविसलाई कम्तिमा एउटा वडा कायम गरिनुपर्ने उल्लेख छ ।

समितिलाई साउन मसान्तभित्र जिल्ला तहमा छलफल सम्पन्न गरि खाका तयार गरेर प्रतिवेदन पठाउन समय दिइएको छ । २०६८ को जनगणना अनुसार नवलपरासीमा छ लाख ४३ हजार ५ सय ८ जनसंख्या रहेको छ ।

दुवै स्थानमा भएका सरोकारवालाहरुको सुझाव संकलन कार्यक्रम प्राविधिक सहयोग समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी लालकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.