आफूलाई 'देशद्रोही' भन्ने युवकलाई प्रचण्डले छुटाए
काठमाडौं: नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशद्रोही भन्दै नारा लगाएको आरोपमा पक्राउ परेका युवकलाई प्रचण्डले छुटाएका छन् ।
बुधबार प्रधानमन्त्रीमा निर्वाचित भएपछि माइतीघरमा आयोजित खुसीयाली सभामा काठमाडौं स्यूचाटारका श्याम खत्रीले अर्धनग्न शरीरमा 'प्रचण्ड देशद्रोही हुन्' भन्दै लेख्नुका साथै नारा लगाएका थिए ।
खुसीयाली सभामा 'प्रचण्ड देशद्रोही' भन्दै चिच्याउँदै गरेका युवकलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो । उनलाई प्रधानमन्त्री प्रचण्डले युवकको कुनै गल्ती नभएको भन्दै छाडिदिन प्रहरीलाई निर्देशन दिएको प्रचण्ड पुत्र प्रकाशले जानकारी दिए ।
पक्राउ परेका खत्रीले आफू कुनै दलसँग निकट नभएको भन्दै प्रचण्डले भारतीय इसारामा ओली नेतृत्वको सरकार ढलाएर विकास विरोधी काम गरेको आरोप लगाएका थिए ।