पोखराका बैक फाइनान्सको नाफा वृद्धि

पोखराका बैक फाइनान्सको नाफा वृद्धि

पोखराः भूकम्प र नाकाबन्दीले मुलुकको अर्थतन्त्रमा चोट पुर्‍याएको गएको वर्षमा समेत पोखरामा आधारित बैंक तथा वित्तीय संस्था गतिलै नाफा बढाउन सफल भएका छन् । यहाँ केन्द्रीय कार्यालय रहेका एउटा फाइनान्स र पाँच विकास बैंकले गएको वर्ष गरेको नाफा एक अर्ब ६४ करोड रुपैयाँको हाराहारीमा छ । सबैजसो संस्थाको नाफा २० देखि ३० प्रतिशतले बढोत्तरी भएको छ ।

सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ । ३९ करोड रुपैयाँ खुद नाफा गरेको यो संस्थाको लगानीको मुख्य क्षेत्र लघुवित्त हो । केही अघि मात्रै मुक्तिनाथले धादिङमा केन्द्रीय कार्यालय रहेको सिभिक डेभलपमेन्ट बैंकलाई मर्ज गरेको थियो । मुक्तिनाथपछि उच्च नाफा गर्नेमा ओम डेभलपमेन्ट बैंक छ । उसले ३२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ ।

ओमका सीईओ विश्वमोहन अधिकारी भन्छन्, ‘बैंकको पुँजी र व्यवसाय वृद्धि नै नाफा बढ्नुको कारण हो ।' आफ्नो बैंकको रिकभरी रेट अत्यन्त राम्रो भएको पनि उनले सुनाए । गएकै वर्ष ओम फाइनान्स र सिटी डेभलपमेन्ट बैंक मर्ज भएर ओम डेभलपमेन्ट बनेको हो । सीईओ अधिकारी पोखरा र आसपासका ऋणीमा कर्जा भुत्तानीको सुसंस्कार भएको सुनाउँछन् ।

पोखरालाई आधार बनाएका सबैजसो बैंक तथा वित्तीय संस्थाको नाफा २० देखि ३० प्रतिशतले बढोत्तरी भएको छ ।

फेवा विकास बैंकले ३० करोड पाँच लाख रुपैयाँ खुद नाफा कमाएको छ । भूकम्प प्रभावित क्षेत्रमा आफ्ना शाखा सञ्जाल कम रहेकैले त्यसको कम असर परेको फेवाका सीईओ रेशमबहादुर थापा बताउँछन् । उनी भन्छन्, ‘नाकाबन्दीमा समेत वीरगन्ज नाका ठप्पै भए पनि भैरहवा केही सहज हुँदा यो क्षेत्रको व्यवसायमा अन्तभन्दा कम असर परेको थियो ।' घरजग्गा कारोबार बढ्नु र तिनको मूल्यवृद्धि हुनु लगायत पनि नाफाको कारण रहेको उनले सुनाए । ‘हाम्रो कर्जा असुली अत्यन्त राम्रो भयो, जसका कारण नाफा देखिनु स्वाभाविक हो', उनले भने ।



गरिमा विकास बैंकले २३ करोड ४८ लाख रुपैयाँ नाफा गरेको छ । कामना विकास बैंकको नाफा १७ करोड २० लाख रुपैयाँ छ । कामनाका सीईओ तोयराज अधिकारी भन्छन्, ‘सिस्टममा चल्नुकै कारण बैंकले नाफा गर्न सकेका हुन् ।' पुँजी वृद्धिले बैंक तथा फाइनान्सलाई बलियो बनाउँदै लगेको पनि उनको अनुभव छ । उनी भन्छन्, ‘लेखा प्रणाली राम्रो हुनु त छँदैछ, त्यसमाथि प्रत्येक वर्षको रिजर्भले पनि गुणात्मक प्रभाव पार्दै जान्छ र बैंकहरूलाई ससानो अप्ठ्याराले छुँदैन ।'

१३ करोड १३ लाख रुपैयाँ नाफा कमाएको गण्डकी विकास बैंकका सीईओ छविन्द्र शर्मा नाकाबन्दीले अलिअलि असर गरे पनि भूकम्पबाट पोखरा क्षेत्र अप्ठेरोमा नपर्नुलाई नाफा बढ्नुको कारण मान्छन् । ‘रेमिट्यान्स आम्दानी पनि घटेको छैन', उनले भने, ‘ऋणीहरूले केही सहुलियत पाएका कारण कर्जा भुक्तानी राम्रो गरे ।'

आठ करोड ७५ लाख रुपैयाँ नाफा गरेको पोखरा फाइनान्सका सीईओ राजकुमार गुरुङका अनुभवमा पनि ऋण असुली राम्रो हुनु बैंक तथा फाइनान्सले गतिलो नाफा गर्नुको कारण हो । पछिल्लो समय जग्गाको कारोबार र मूल्यवृद्धिले पनि सकारात्मक प्रभाव बैंक वित्तीय संस्थामा देखिएको उनले बताए । ‘सेयर बजारमा आएको उछाल पनि अर्को कारण हो', उनले भने ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.