एमाले कोटाका प्रस्तावित राजदूतको सुनुवाइ आज
काठमाडौंः संसदीय सुनुवाइ विशेष समितिले राजनीतिक कोटाबाट प्रस्तावित राजदूतहरूको समेत सुनुवाइ थाल्ने भएको छ ।
समितिले बिहीबार सूचना प्रकाशित गरी केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले एमाले कोटाबाट विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्ने जनाएको हो । उनीहरूलाई शुक्रबार बिहान सुनुवाइका लागि समितिमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।
एमालेबाट प्रस्तावित राजदूतमा महेन्द्रबहादुर पाण्डे (चीन), खड्ग केसी (जापान), नारद भारद्वाज वाग्ले ( श्रीलंका), शिवमाया तुम्बाहाम्फे (इजरायल) अलि अख्तर मिकरानी (साउदी अरेबिया) छन् ।
पूर्ववर्ती सरकारले एमाले कोटाबाट विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाई गर्न लागिएको हो ।
सरकार परिवर्तन भए प्रस्तावित राजदूतको सुनुवाइ रोकिने हो कि भन्ने आशंकाका बीच समितिले राजनीतिक कोटाबाट राजदूत प्रस्तावित व्यक्तिहरूको समेत सुनुवाइ थाल्न लागेको हो ।
सुनुवाइ समितिका सभापति कुलबहादुर गुरुङले नयाँ सरकारले सुनुवाइ रोक्न पत्र लेखे सुनुवाइ रोकिने बताए ।समितिले बिहीबार बिहान बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत लोकबहादुर थापाको सुनुवाइ गरेको थियो ।
समितिले गत मंगलबार पाकिस्तानका लागि प्रस्तावित सेवा अधिकारी, ब्राजिलका लागि ताराप्रसाद पोखरेल, अस्ट्रियाका लागि प्रकाशकुमार सुवेदी, बेलायतका लागि दुर्गाबहादुर सुवेदी क्षेत्री र रूसका लागि ऋषिराम घिमिरेको सुनुवाइ सम्पन्न गरेको थियो ।
समितिले बुधबार इजिप्टका लागि प्रस्तावित राजदूत झविन्द्र अर्याल र जर्मनीका लागि प्रस्तावित राजदूत रमेशप्रसाद खनालको सुनुवाइ गरेको थियो । पहिलो चरणमा सुनुवाइ सकिएका प्रस्तावित राजदूतहरू परराष्ट्र सेवाका सहसचिव हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले गत वैशाख ८ गते २१ देशका लागि र जेठमा थप एक देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।