अर्थमन्त्री हुने योग्यता कति ?
काठमाडौं: गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०४८ सालमा कांग्रेस नेतृत्वको सरकार बनेपछि अन्तर्राष्ट्रिय मुद्रकोषका अर्थशास्त्री सुकदेव शाहलाई अर्थमन्त्री बन्न प्रस्ताव गरियो । उनले उक्त प्रस्तावमा आनाकानी गरे । एकथरीका अनुसार शाहले अर्थमन्त्रीको तलब कति हुन्छ भनेर सोधेपछि प्रधानमन्त्री कोइराला आक्रोशित भएका थिए ।
अर्थमन्त्रीजस्तो पद अफर गर्दा तलब सोध्ने भन्दै कोइराला बम्किएका थिए । डा. रामशरण महतका अनुसार शाहले उनलाई चिठी लेखेर परिवार नै नेपालमा बसाइँ सराइ गर्ने अवस्थामा आफू नरहेको कारण देखाई क्षमायाचना गरेका थिए ।
प्रधानमन्त्री कोइरालाले त्यति बेला नुवाकोटबाट चुनाव हारेका डा. महतलाई नै अर्थमन्त्री बनाउन चाहेका थिए । तर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले चुनाव हारेकालाई राष्ट्रिय सभामा ल्याउन नहुने भनेपछि अमेरिका बस्ने अर्थशास्त्रीलाई प्रस्ताव गरिएको थियो । यसरी अर्थमन्त्रीका लागि अर्थशास्त्री नै खोज्नुको कारण त्यस बेलाको प्रचलन थियो ।
त्यसअघि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री देवेन्द्रराज पाण्डे त अर्थशास्त्रका पिएचडी थिए नै, अर्थसचिवबाट जागिर छाडेका विद्वान् थिए । पञ्चायतकालदेखि यस्तो प्रचलन बसेको थियो । भरतबहादुर प्रधान, डा. प्रकाशचन्द्र लोहनी, डा. यादवप्रसाद पन्त, डा. भेषबहादुर थापा आदि अर्थमन्त्री भए । सबैभन्दा धेरैपटक अर्थमन्त्री भएका सूर्यबहादुर थापाचाहिँ बीए पास थिए ।
महत र शाहलाई अर्थमन्त्री बनाउने प्रयास असफल भएपछि कोइरालाले महेश आचार्यलाई यसको जिम्मेवारी दिए, जो अर्थशास्त्रमा एमए गरेका तीक्ष्ण युवा थिए । त्यसपछि एमाले सरकारमा पटकपटक अर्थमन्त्री भएका भरतमोहन अधिकारी अर्थमन्त्री बन्नुको कारण ठूला व्यापारीसँगको सम्बन्ध पनि भनिन्छ ।
तर, उनी अर्थशास्त्रका एमए र बीएल गरेका हुन् । डा. रामशरण महत, रवीन्द्रनाथ शर्मा अर्थमन्त्री भए । शर्माले बीए पास गरेका थिए । शाहीकालमा डा. बद्रीप्रसाद श्रेष्ठ र पछि मधुकरशमशेर राणा, रुप ज्योतिलाई प्रयोग गरिएको थियो, जो अर्थशास्त्रका राम्रा जानकार थिए ।
'अर्थशास्त्री हुँदैमा राम्रो हुने, गैरअर्थशास्त्री हुँदैमा बिग्रने होइन', पूर्वअर्थसचिव रामेश्वर खनाल भन्छन्, 'मुख्य कुरा मुलुक विकासको भिजन चाहिन्छ, अर्थशास्त्रको आधारभूत कुराको जानकारी अपरिहार्य छ ।' अमेरिकाको विकासको जग बसाउने अर्थमन्त्री अलेक्जेन्डर ह्यामिल्टन अर्थशास्त्री थिएनन्, भिजन थियो । भारतमा पनि जसवन्त सिंह, यशवन्त सिन्हादेखि वर्तमान अर्थमन्त्री अरुण जेटली पनि अर्थशास्त्री हैनन् तर ती सबै भिजन भएका, अर्थशास्त्र बुझेका हुन् ।
बीएड पास गरेका कृष्णबहादुर महरा अर्थमन्त्री भएका छन् । जोन मेजरसँग शैक्षिक योग्यता नभएर के भयो, ह्वाइट हल (बेलायतको ब्युरोक्रेसी) जस्तो दक्ष कर्मचारीतन्त्र थियो, तर महराको टिममा अधिकांश 'हजुरले भनेपछि भइहाल्छ' भन्ने, अर्थशास्त्रका आधारभूत ज्ञान नभएकाको झुन्ड छ ।
मौद्रिक नीति, आर्थिक नीति, समष्टीगत अर्थतन्त्रका कुरामा जानकार हुनुपर्छ । पहिलो संविधानसभाको निर्वाचनपछि अर्थमन्त्री भएका डा. बाबुराम भट्टराईको पीएचडी इन्जिनियरिङमा हो । तर, उनलाई अर्थशास्त्री नभएकैमा औला ठड्याउने ठाउँ थिएन । उनको बुझाइ पर्याप्त थियो ।
त्यसपछि अर्थमन्त्री भए सुरेन्द्र पाण्डे । बीकम पास गरेका पाण्डेमा अर्थमन्त्री हुन पर्याप्त अध्ययन भएको उनकै सचिवको रूपमा काम गरेका खनाल बताउँछन् । वर्षमान पुन र विष्णु पौडेलचाहिँ अर्थमन्त्रीका लागि अयोग्य हुन् भन्ने उनको भनाइ छ । अर्थशास्त्रका आधारभूत ज्ञान नभएकाले मन्त्रालय चलाउने कर्मचारीको भरमा हो । अर्थ मन्त्रालयमै पछिल्लो समय अर्थमन्त्रीलाई उचित सल्लाह दिन सक्ने खालका कर्मचारी छैनन् ।
एलेभल पास गरेका जोन मेजर १३ महिना अर्थमन्त्री र सात वर्ष बेलायतको प्रधानमन्त्री भए । मार्गरेट थ्याचरको मन्त्रिपरिषद्मा उनले काम गरे । तर, मेजरले पढाइपछि लामो समय स्थानीय सरकारमा काम गरेका हुनाले कुरा बुझेका थिए । फेरि आफ्नो सीमितता बुझेका उनले सल्लाहकारको छनोट त्यस्तै गर्थे । क्रिस प्याटनजस्ता विद्वान्लार्इ उनले सल्लाहकार बनाएका थिए ।
पढाइभन्दा बुझाइ ठूलो कुरा हो । बीएड पास गरेका कृष्णबहादुर महरा अर्थमन्त्री भएका छन् । जोन मेजरसँग शैक्षिक योग्यता नभएर के भयो, ह्वाइट हल (बेलायतको ब्युरोक्रेसी) जस्तो दक्ष कर्मचारीतन्त्र थियो, तर महराको टिममा अधिकांश 'हजुरले भनेपछि भइहाल्छ' भन्ने, अर्थशास्त्रका आधारभूत ज्ञान नभएकाको झुन्ड छ ।