प्रचण्डले शपथ लिदा ‘ईश्वर’ उच्चारण गरेनन्

प्रचण्डले शपथ लिदा   ‘ईश्वर’ उच्चारण गरेनन्

काठमाडौंः पूर्वनिर्धारित समयभन्दा ४१ मिनेट ढिलो नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भणडरीसमक्ष पद तथा गोपनीयताको शपथ लिए ।
शीतल निवासमा बिहीबार अपराह्न ३ः४१ बजे आयोजित कार्यक्रममा राष्ट्रपतिमार्फत प्रधानमन्त्री पदको शपथ लिने क्रममा दाहालले ईश्वरको नाम उच्चारण नगरी राष्ट्र र जनताका नाममा मात्र शपथ लिए ।

यसैगरी राष्ट्रपतिसमक्ष मञ्चभन्दा तल नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि पद तथा गोपनीयताको शपथ लिए । शपथ लिनेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली, कृषिमन्त्री गौरीशंकर थारूले पनि सोही समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिए ।

संविधानको धारा ८० मा शपथको व्यवस्था भएअनुसार, ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष आफ्नो कार्यभार समाल्नुअघि संघीय कानुनबमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।' संविधानमा व्यवस्था भएअनुसार शपथमा रहेको ईश्वर, राष्ट्र र जनतामा ईश्वरको नाम उच्चारणबिना माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित अन्य दुई मन्त्रीले पनि शपथ लिए ।

शपथपछि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिले प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिएका थिए । यसैगरी समारोहमा सहभागी राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि दाहाललाई बधाई दिएका थिए ।

उक्त सामारोहमा नेपाली सेनाले सैनिक सलामी दिएको थियो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति एवं मन्त्रीहरू, संवैैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी व्यवसायीलगायत उपस्थित थिए ।

शपथ ग्रहण समारोहपछि प्रधानमन्त्री दाहालको सम्मानमा राष्ट्रपति भण्डारीले शीतल निवास परिसरमा चियापानको आयोजना गरेकी थिइन् । व्यवस्थापिका संसद्मा बुधबार भएको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए ।

दाहालका दुई उपप्रधानमन्त्री निधि र महरा पार्टी र सत्ताका लागि नयाँ अनुहार नभए पनि निधिका लागि उपप्रधानमन्त्रीको पद पहिलोपटक हो । यी दुवैजना वर्तमान सत्ता समीकरणका नायक मनिन्छन् । निधि कांग्रेस सभापति शेरबहादुर देउवा र महरा प्रधानमन्त्री दाहालका अत्यन्त विश्वासपात्र हुन् ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री लेखक २०६३ सालमा प्रजातान्त्रिक कांग्रेसका तर्फबाट श्रम तथा यातायातराज्यमन्त्री समाल्दै शान्तिप्रक्रियासम्बन्धी कार्यदलमा बसेर निर्णायक भूमिका निर्वाह गरेका थिए । माओवादी केन्द्रबाट युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली र कृषिमन्त्री गौरीशंकर चौधरीले पहिलोपटक मन्त्रीको जिम्मेवारी पाएका छन् । उनीहरूमध्ये एक जना थारू र अर्कोले दलित समुदायको प्रतिनिधित्व गर्छन् । श्रीपाली र चौधरी पार्टी महाधिवशेन आयोजक समितिका सदस्य छन् ।

दाहालका पहिलो चरणका पाँच सहयोगीको परिचय

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराः शिक्षा संकायमा स्नातक उत्तीर्ण महरा यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । ०६३ यता दुईपटक सूचना तथा सञ्चारमन्त्री, दाहाल पहिलोपटक प्रधानन्त्री हुँदा सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री थिए ।

२०४८ सालको संसदीय निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद पदमा निर्वाचत थिए । कम्युनिस्ट राजनीतिमा २०३६ सालमा अघि बढेका महरा २०६० देखि ०६५ सम्म पार्टी प्रवक्ता, पोलिटब्युरो सदस्य, स्थायी समिति सदस्य हुँदै संसद् पुनस्र्थापना भएपछि ०६३ सालमा एमाओवादीका ८३ जना सांसदको नेतृत्व गर्दै संसद्मा प्रवेश गरे । संसदीय धारमा आएर उपप्रधानमन्त्रीलगायत पद समालेपछि महरालाई सरकार निर्माणको चलखेलमा चिनियाँसँग पैसा मागेको टेप प्रकरण, माओवादी लडाकुहरूका लागि सरकारले दिएको रकम हिनामिनाको आरोप लागेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिः निधि पञ्चायत कालमा पटकपटक गरी सात वर्ष बन्दी जीवन बिताउँदै नेपाल विद्यार्थी संघका सभापति भएका छन् । आन्दोलनरत मधेसी मोर्चालाई संसदीय धारमा ल्याउन र भारतसँगको बिग्रँदो सम्बन्ध सुधार गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

 

कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको कार्यकालमा भौतिक योजना निर्माण तथा यातायातमन्त्री हुँदा काठमाडौं-निजगढ द्रुतमार्गमा आफ्नो स्वार्थअनुकूल राज्यलाई ठूलो भार पर्ने गरी भारतीय कम्पनीलाई ठेक्का लगाएको आरोप उनीमाथि रहँदै आएको छ । दुईपटक सामान्य प्रशासनमन्त्री, शिक्षा तथा खेलकुद, वाणिज्य तथा आपूर्ति, निर्माण तथा यातायातमन्त्री भएर काम गरेको अनुुभव उनीसँग छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकः उनले कानुनमा एलएलबी र राजनीतिशास्त्रमा एमए गरेका छन् । वर्तमान सत्ता समीकरणको अदृश्य नायक, संविधान निर्माता, सभापति देउवाको विश्वासपात्र रहेका लेखक यसअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारमा श्रम तथा यातायातराज्यमन्त्री हुँदा तत्कालीन प्रजातान्त्रिक कांग्रेसका तर्फबाट शान्तिप्रक्रियाका लागि गठित वार्ताटोलीका सदस्यसमेत रहेका थिए ।

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीः प्रमाणपत्र तहसम्म पढेका उनी जनयुद्धकालमा माओवादीका पूर्वलडाकु कमान्डर थिए । २०७१ साल माघ ५ गते संसद्को चर्चित कुर्सीकाण्डबाट एकाएक चर्चामा आएका उनी २०४२ सालमा अखिलको राजनीतिबाट अघि बढेका थिए ।

कृषिमन्त्री गौरीशंकर चौधरीः एसएलसीसम्म अध्ययन गरेका चौधरी माओवादी जनयुद्ध कालमा लडाकुमा क्रियाशील थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.