सेयर बजारमा कालोधनको त्रास: आत्मविश्वास गुमाउँदै लगानीकर्ता
काठमाडौं: सेयर बजारमा कालोधनको त्रास देखाउँदा साना लगानीकर्ता चेपुवामा परेका छन् । बजार परिसूचक नेप्से बिहीबारमात्रै ४५.१२ अंकले घटेर १७६८.६० विन्दुमा आइपुगेको छ । नेप्से करिब एक सय १२ अंकले घटिसकेको छ । गत बिहीबारदेखि बजार लगातार ओरालो लागिरहेको छ ।
बजार निरन्तर घट्न थालेपछि साना र नयाँ लगानीकर्ताले आत्तिएर सेयर बिक्री गर्न थालेका छन् । मागभन्दा आपूर्ति बढी भएपछि बजारमा त्यसको प्रत्यक्ष असर परेको हो ।
कालोधनको त्रासले ठूला लगानीकर्ता पनि एकैपटक सेयर किन्न हच्किन थालेको ब्रोकरहरू बताउँछन् । ठूला ‘पर्ख र हेर’ को अवस्थामा छन् भने सानाले धमाधम बिक्री गर्ने क्रम सुरु भएको फ्रन्टलाइनमा बसेर काम गरिरहेका ब्रोकरको भनाइ छ ।
साना र नयाँ लगानीकर्तामा तुलनात्मक रूपमा अलि बढी हौसिने र आत्तिने प्रवृत्ति बढी हुन्छ । बजार बढ्दा जतिसुकै मूल्य तिर्न तयार हुने अनि घट्दा पनि जुनसुकै भाउमा पनि आत्तिएर बिक्री गरिहाल्ने प्रवृत्तिका कारण बजार समालिन गाह्रो भएको हो ।
साना आत्तिँदा बजार घटाउन चाहनेहरूलाई पनि सहयोग पुगेको देखिन्छ । त्यसो त पछिल्लो समय बजार वृद्धिको गति पनि अलि छिटो भएको थियो । नेप्से १७ सय अंक पुगेको थोरै समयमै १८८१ अंक आसपासमा दौडिएको थियो । माथि जाने गति छिटो हुँदा तल ओर्लिने क्रम पनि द्रुत भएको ठूला लगानीकर्ताको भनाइ छ ।
दिनमा १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नेको स्रोत खोजी हुने सूचना बाहिर आएपछि ठूला लगानीकर्ता पनि केही हदसम्म त्रसित भएका छन् । बयान दिन जाने झन्झट बेहोर्नुभन्दा दैनिक १० लाख रुपैयाँको सीमामा सेयर कारोबार गर्दा नै सहज हुने निष्कर्षमा कतिपय ठूला लगानीकर्ता पुगेका हुन् ।
कालोधनपछि बजार घटाउने अर्को अस्त्र चेक खरिद भुक्तानीलाई बनाइएको छ । क्लियरिङ बैंकको जिम्मा पाएको ग्लोबल आइएमईले प्रत्येक ब्रोकरलाई पाँच करोड रुपैयाँसम्मको चेक खरिदमा भुक्तानी दिने गरेको थियो । सेयर किन्नेले समयमा पैसा नतिरेमा वा राफसाफमा समस्या आउँदा यही रकम ब्रोकरले सहजै प्रयोग गर्न पाउँथे । तर, राष्ट्र बैंकको पछिल्लो निर्देशनले यो सुविधा हटाइदिएको छ । बजार घटाउन चाहने समूहले यसलाई ठूलो मुद्दा बनाएका छन् ।
बजारका ज्ञाता भने चेक खरिद भुक्तानी सुविधा नभए पनि दीर्घकालमा कुनै असर नपर्ने बताउँछन् । यसको सट्टा ब्रोकर कम्पनीले ओभर ड्राफ्टलगायतका सुविधा प्रयोग गर्न सक्छन् । तर, मनोबल घटेको बजारमा यो अस्त्रले नुनचुक छर्ने काम गरेको छ ।
साना र नयाँ लगानीकर्तामा तुलनात्मक रूपमा अलि बढी हौसिने र आत्तिने प्रवृत्ति हुन्छ । बजार बढ्दा जतिसुकै मूल्य तिर्न तयार हुने अनि घट्दा पनि जुनसुकै भाउमा आत्तिएर बिक्री गरिहाल्ने प्रवृत्तिका कारण बजार समालिन गाह्रो भएको हो ।
बजार घट्नुको अर्को कारण बजार पुँजीकरण निकै माथि जानुलाई मानिएको छ । सेयर बजारको बजार पुँजीकरण २० खर्बभन्दा माथि पुगेको थियो । हाम्रो जीडीपीको आकार २४ खर्ब हाराहारीमा छ । बजार पुँजीकरण जीडीपीकै आकारमा पुग्न लाग्दा जोखिम बढेको तर्क गर्नेहरू पनि बजारमा प्रशस्त छन् ।
सेयर बजार विश्लेषक एवं लगानीकर्ता छोटेलाल रौनियार कालोधनको त्रास, क्लियरिङ बैंकले चेक खरिद सुविधा रोक्नुलगायतका कारणले लगानीकर्ताको मनोबल खस्किएको बताउँछन् । 'लाभांश पाउने समय मुखैमा आएको बेला लगानीकर्ताले आत्तिएर सेयर बिक्री गर्नुहुँदैन,' उनले भने । बुल बजारमा आएको करेक्सन हो । एउटा तहसम्मको करेक्सनपछि बजार फेरि माथि जाने उनको भनाइ छ ।
नयाँ आर्थिक वर्ष भर्खरै सुरु भएको छ । गएको आर्थिक वर्षमा गरेको कमाइको सूचीकृत कम्पनीहरूले धमाधम अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । अहिलेसम्म वासलात सार्वजनिक गरेका एकाधबाहेक प्रायः सबै कम्पनीको नाफा आकर्षक ढंगले माथि गएको छ ।
८० प्रतिशतभन्दा बढी वाणिज्य बैंकहरूको खुद नाफा एक अर्बभन्दा माथि पुग्ने देखिएको छ । बिमा कम्पनीहरूको कमाइ पनि निकै बढेको वासलात सार्वजनिक हुने स्रोतहरूको भनाइ छ । यस्तो बेलामा निरन्तर बजार घट्दा लगानीकर्ता सचेत हुन भने आवश्यक छ । लगानीकर्ताले बजार बढ्दा बिक्री गर्ने अनि घट्दा खरिद गर्ने सिद्धान्त अवलम्बन गर्नुपर्ने विश्लेषक रौनियारको भनाइ छ ।
बजार घट्दा पनि दैनिक डेढ अर्ब हाराहारीमा सेयर कारोबार भइरहेको छ । बिहीबार पनि डेढ अर्बकै सेयर किनबेच भयो । यस दिन २७ लाख ५१ हजार नौ सय कित्ता सेयर किनबेच भएको हो । बिमा, होटेल र बैंकका लगानीकर्ताले धेरै गुमाएका छन् । सबै उपसूचक घटेका छन् ।