बेल्ट एन्ड रोड
चीन विश्वस्तरमा एउटा महत्त्वपूर्ण यान्त्रिक बजार मात्र हैन, विश्व अर्थतन्त्र, सुरक्षा र विकासमै अत्यन्त प्रभावशाली नेतृत्वका रूपमा अगाडि आएको छ । उसले आर्जेको हैसियतलाई केही प्रतिस्पर्धी शक्तिहरूले असहजताका साथ भए पनि स्विकारेका छन् र बाँकी विश्व र त्यसमा पनि साना र कमजोर मुलुकहरूले चीनको त्यो रूपमा उदयप्रति हर्ष व्यक्त गरेका छन् ।
चीनबाट प्रत्यक्ष फाइदा नउठाएका मुलुकहरूले समेत चीनलाई फरक प्रकृति र प्रवृत्तिका शक्तिका रूपमा हेर्नु अकारण हैन । मुख्य रूपमा दुई कारण छन् त्यसका । पहिलो, चीनले सिद्धान्त र व्यवहारमा कुनै मुलुकको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्ने नीति अपनाउँदै आएको छ । दोस्रो, उसले आफ्नो स्वार्थ अन्यत्र लाद्न सैन्य शक्तिको प्रयोग गर्ने गरेको छैन ।
यता आएर देङ स्याओ पिङले विकासबाट रूपान्तरित गरेको चीनको वर्तमान नेतृत्व सी जिनपिङले त्यसलाई बृहत् आवरण दिँदै विश्वलाई विकासको सूत्रमा बाँध्ने नीति अख्तियार गरेका छन्, 'वान बेल्ट, वान रोड' अवधारणाअन्तर्गत ।
विश्वमा देखा परेको आतंकवाद, त्यसले त्रस्त पारेको यो जगत् अनि निकै हदसम्म आतंकवाद तथा कमजोर मुलुकको आन्तरिक सार्वभौमसत्तामाथि शक्तिशाली मुलुकहरूले हमला गर्दा उत्पन्न शरणार्थी समस्या दुवैलाई सामना गर्ने चिनियाँ रणनीतिका रूपमा आएको छ, छोटकरीमा 'ओवोर' (वान बेल्ट, वान रोड) भन्ने यो अवधारणा ।
चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र 'पिपुल्स डेली' ले गत साता बेइजिङमा आयोजना गरेको 'ओवोर' सम्बन्धी सञ्चार भेला र त्यस अवसरमा विश्वका करिब तीन दर्जन मुलुकका महत्त्वपूर्ण सञ्चारमाध्यमले उक्त परियोजनामा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेर विकास र शान्तिको अवधारणाको पक्षमा आआफ्ना मुलुक तथा प्रभाव क्षेत्रमा मनोवैज्ञानिक माहोलसँगै नीति निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने जिम्मा लिएका छन् ।
शान्ति र विकासले आतंकवादविरुद्ध वातावरण बनाउँछ भन्ने चिनियाँ आधिकारिक धारणाका वाहक पनि बनेका छन्, यी सञ्चारमाध्यम ।
चीनले प्रत्यक्ष रूपमा उसको अवधारणालाई नीतिगत स्वरूप दिने र कार्यान्वयनमा लैजाने क्रममा कसैको आलोचना नगरे पनि मुख्य रूपमा इस्लामिक तथा मध्यपूर्वबाट आएका प्रतिनिधिहरूले खासगरी अमेरिकाले र उसका सैन्य सहयोगीहरूले इराक, लिबिया, सिरियालगायतका मुलुकहरूको आन्तरिक सार्वभौमसत्तालाई उल्लंघन गरेपछि त्यहाँबाट ठूलो संख्यामा नागरिक जमात शरणार्थीमा रूपान्तरण भएको अनि प्रतिशोधका नाममा आतंकवादी छातामा पुग्न बाध्य भएको आरोप लगाए खुलेरै ।
अर्को अर्थमा, शान्ति र विकासमार्फत विश्वमा 'कनेक्टिभिटी' अर्थात् निकटता उत्पन्न गराउने विभिन्न मुलुकबीच अनि व्यापारबाट उनीहरूको आर्थिक समृद्धि सुनिश्चित गर्ने 'ओवोर' को घोषित सन्देशलाई अमेरिकी मान्यता र व्यवहारलाई चुनौती दिनुपर्ने अपेक्षासमेत राखे चीनबाट ।
चीनले यी सुझावलाई 'ओवोर' अवधारणामा कसरी सामेल गर्ला या नगर्ला, त्यो एउटा पक्ष हो, तर शान्ति र विकासको विस्तारलाई शरणार्थी समस्या र आतंकवादविरुद्धको संयन्त्र र मान्यताका रूपमा प्रस्तुत गर्दा उसले कसरी विद्यमान परिस्थिति र त्यसका कारकतत्वहरूलाई विश्लेषण गर्ला, त्यो पक्कै पनि अर्को चाखलाग्दो प्रकरण हुनेछ ।
तर उसको अवधारणा र त्यसको कार्यान्वयन या अनुमोदनमा स्थापित इन्फ्राक्टक्चर बैंक तथा युरोपलगायतका ७० जति मुलुकहरूले लिएको चासोले विश्वकै भाग्य प्रभावित गर्न सक्ला कि भन्ने आशा जगाएको छ ।