अमेरिका, जापान, नर्वेद्वारा प्रधानमन्त्रीलाई बधाई
काठमाडौंः अमेरिका, जापान र नर्वेले प्रधानमन्त्री निर्वाचित भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिएका छन् ।
बिहीबार जारी प्रेसविज्ञप्तिमा अमेरिकाले भनेको छ, ‘शान्तिपूर्ण प्रक्रियाबाट सरकार परिवर्तन भएबाट नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता पुष्टि भएको छ ।'
संविधान कार्यान्वयन, पुनर्निर्माण र आर्थिक विकासका महत्वपूर्ण काम सम्पन्न गर्नका लागि अझ लोकतान्त्रिक, समृद्ध र स्थिर राष्ट्र निर्माणमा अमेरिका नेपाली जनता र सरकारसँग साझेदार गर्न चाहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको पुरानो विकास साझेदार मुलुक जापानले दाहाललाई बधाई दिँदै नेपालको लोकतन्त्रीकरण प्रक्रिया, शान्ति र समृद्धिका लागि आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । काठमाडडौंस्थित जापानी दूतावासले प्रेसविज्ञप्तिमा नयाँ राजनीतिक नेतृत्वले समृद्ध, एकीकृत र स्थिर नेपाल निर्माणमा काम गर्ने अपेक्षा राखेको छ ।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्ष यही वर्ष परेको उल्लेख गर्दै आगामी दिन द्विपक्षीय सम्बन्ध अझै सृदृढ हुने दूतावासले विश्वास लिएको छ । ‘नेपालको पुनर्निर्माण र सामाजिक—आर्थिक विकासमा मध्यकालीन तथा दीर्घकालीन रूपमा सहयोग निरन्तर राख्न दूतावास तयार छ', विज्ञप्तिमा भनिएको छ ।
नर्वेले प्रधानमन्त्री दाहाललाई शुभकामना दिँदै स्थानीय निकाय निर्वाचन गर्ने प्रतिबद्धता जनाएकोमा स्वागत गरेको छ । ‘समावेशी लोकतन्त्र, सामाजिक तथा आर्थिक विकासका लागि नेतृत्वको प्रतिबद्धता आएकोमा नर्वे स्वागत गर्छ', काठमाडौंस्थित नर्वेजियन दूतावासले विज्ञप्तिमा भनेको छ । दाहाललाई शान्तिपूर्ण रूपमा नयाँ संविधान कार्यान्वयन गर्न तथा पुनर्निर्माण कार्यलाई तीव्रता दिन नर्वेले आग्रह गरेको छ ।
भारत भ्रमणको औपचारिक निम्तो
काठमाडौंस्थित भारतीय राजदूत रन्जित रेले बिहीबार बिहान प्रधानमन्त्री दाहाललाई भेटी बधाई तथा शुभकामना दिएका थिए । दूतावास उपप्रमुख विनय कुमारसहित दाहाल निवास लाजिम्पाट पुगेका राजदूत रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका थिए । दाहाल पहिलो विदेश भ्रमणमा भारत जाने सोचमा रहेको उनी निकटले बताएका थिए । यद्यपि २०६५ मा पहिलोपटक प्रधानमन्त्री हुँदा दाहाल पहिलो विदेश भ्रमणमा चीन गएका थिए ।