विमल एक्सटेपको ब्रान्ड एम्बेसडर
काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगरलाई स्पोर्टस वेयर कम्पनी एक्सटेपले ब्रान्ड एम्बेसडर बनाएको छ । एक्सटेप चिनको अन्तर्राष्ट्रि खेलकुद सामग्री र पोशाख उत्पादन कम्पनी हो ।
एक्टेपले बिलमसँग एक वर्षका लागि सम्झौता गरेको छ । सम्झौतापत्रमा बिहिबार एक्टेप ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका निर्देशक गणेश श्रेष्ठ र विमल घर्तीमगरले हस्ताक्षर गरे ।
सम्झौता अनुसार विमलले एक्टेप ब्रान्डको पोशाख, जुत्ता लगायतका सामग्री लगाएर बजार प्रवद्र्धनमा सहयोग गर्नेछन् । एक्टेपले भने विमललाई पोशाख लगायत सम्मानजनक आर्थिक रकम उपलब्ध गराउने छ । आर्थिक रकम भने दुवैपक्षबाट नखुलाउने सहमति भएको बताईएको छ ।
‘विश्वभर चर्चा पाएको एक्टेप ब्रान्डसँग जोडिन पाउँदा खुशी छु । यसले मेरो फुटबल टोलीलाई समेत हौसला मिलेको छ,’ संझौता कार्यक्रममा विमलले भने । यसैगरी रेन्बोका निर्देशक गणेशले राष्ट्रय टोलीका चर्चित युवा खेलाडीलाई ब्रान्ड एम्बेसडर बनाउनु पाउँदा उत्साहित भएको बताए । उनले छिट्टै राष्ट्रिय टोलीका अन्य चारखेलाडीलाई पनि सहयोग गर्ने जानकारी दिए ।
एक्टेप ब्रान्डको चीनमामात्र सातहजार आधिकारिक विक्रि केन्द्र रहेको छ । एक्टेप ब्रान्डको पोशाक स्पेनिस चर्चित क्लब भिल्लारियलको पनि आधिकारिक पोशाक हो । विमलसँगको संझौतासँगै एक्टेपले बिहिबार देखि नै नेपालमा औपचारिक ब्यापार समेत सुरुआत गरेको छ ।