डेनमार्कमा नेपथ्य
काठमाडौंः नेपालको लोक रक ब्यान्ड नेपथ्यले युरोप भ्रमणको दोस्रो र अन्तिम प्रस्तुति कोपेनहेगनमा सम्पन्न गरेको छ । प्रविधिको सहयोग र उल्लेख्य दर्शकमाझ यहाँको ‘आमाबियो'मा आयोजित कन्सर्टमा स्टेज र दर्शक सँगै रमाएका थिए । नेपालसँग जोडिएका डेनमार्कका थोरै बासिन्दा र यहाँ बसोबास गर्दै आएका नेपाली दर्शकले कार्यक्रमस्थल भरिभराउ थियो ।
‘ब्यान्ड र दर्शकबीचको सम्बन्ध गज्जबको थियो', चार वर्ष नेपालस्थित डेनमार्कको दूतावासमा ‘चिफ अफ मिसन' भइसकेका गर्ट मेनिकीले भने । उनी साथी र परिवारसहित कन्सर्टमा आएका थिए ।
पछिल्लो समय नेपाली विद्यार्थीका माझ डेनमार्क लोकप्रिय शैक्षिक गन्तव्य बन्दै आएको छ । यो लोकप्रियतासँगै यहाँ पढ्न आउने विद्यार्थीको संख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ ।
कार्यक्रम सदाबहार नेपथ्यका पुराना हिटहरू ‘छेक्यो छेक्यो', ‘हिमाल चुचुरे', ‘रेशम', ‘तालको पानी' हुँदै भर्खर रिलिज भएको ‘कोसीको पानी यो जिन्दगानी'बाट अघि बढेको थियो । नेपथ्यले आफ्नो शैलीको प्रयोग गर्दै पुनः जागृत गराएको ‘गाउँगाउँबाट उठ' र ‘रातो र चन्द्रसूर्य' पनि यो सूचीमा समावेश थियो ।
‘नेपालीको संख्या नै २५ सय भएको ठाउँमा नेपथ्यजस्तो ब्यान्डको कन्सर्ट आयोजना गर्नु कम्ती चुनौतीपूर्ण हुँदैन', आयोजक आईएनएसका तर्फबाट कार्यक्रम संयोजक रवीन्द्र खड्का भन्छन्, ‘दोस्रो पुस्ताका नेपाली बढेसँगै हामीले सबैलाई केटाकेटीसमेत लिएर नेपथ्यको कार्यक्रम हेर्न आउन अनुरोध गरेका थियौं । यसो गर्दा भावी पुस्ताले विश्वस्तरको हाम्रो आफ्नै ब्यान्डलाई पनि अनुभूत गर्न सकून् ।'
कार्यक्रम अमृत गुरुङको नेपालको स्थिति वर्णनबाट अघि बढेको थियो । फेरि पनि अमृतले सामाजिक सन्देशहरू सुनाएर दर्शकलाई भावविभोर बनाएका थिए । उनले त्यस अवसरमा सबैलाई आफूजस्तै नेपालका रमणीय डाँडाकाँडा घुम्ने निम्तोसमेत बाँडे । परिवार र समाजका निम्ति केही गर्ने मौका पनि अहिले आइपरेको उनले आह्वान गरेका थिए ।