३२ वर्ष कटे नेविसंघको नेता हुन नपाइने !
![३२ वर्ष कटे नेविसंघको नेता हुन नपाइने !](https://annapurnapost.prixacdn.net/media/albums/Nebisang-57a43092aac757.81951117_NfMmvjLtDt.jpg)
काठमाडौंः नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा निर्वाचित हुन चाहनेका लागि ३२ वर्ष उमेरको हद लागू हुने भएको छ ।
संघको ११औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि पार्टीले गठन गरेको निर्देशक समितिले संघमा ३२ वर्षको उमेरको हद लागू हुने गरी विधानको टुङ्गो लगाएको हो ।
यद्यपि उक्त प्रावधान १२औँ महाधिवेशनबाट मात्र लागू हुनेछ । नेविसंघको ११औँ महाधिवेशन यही साउन २३ देखि २५ गतेसम्म राजधानीमा हुँदैछ ।
त्यस्तै संघमा अब एक व्यक्ति एक पदको अवधारणा अनिवार्य रुपमा लागू हुनेछ । कुनै एक पदमा बहाल रहेको व्यक्तिले अर्को पदमा उम्मेदवारी दर्ता गरे उसको तल्लो तहको पद स्वतः खारेज हुने प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
सङ्घको केन्द्रीय समिति एक सय ५१ सदस्यीय हुनेछ । जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक÷एक जनागरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहने छन् ।
त्यस्तै दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एक÷एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको लामिछानेले बताए । त्यस्तै एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।
संघको दुई वर्षभित्र अधिवेशन नगरे तीन महिनामा स्वतः केन्द्रीय समिति भङ्ग हुने गरी पार्टीको निर्देशक समितिले विधानको टुङ्गो लगाएको छ । एघारौँ महाधिवेशनमा उम्मेदवारी दर्ता गरेपछि हाल रहेको केन्द्रीय समितिको पद पनि स्वतः खारेज हुनेछ ।
संघको अध्यक्षमा हालसम्म जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य केही नेताहरू घोषणा गर्ने क्रममा छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)