आर्जनको भर्सटाइल बन्ने रहर
संगीत सजिलो क्षेत्र होइन । संगीतको महासागरमा डुब्न थालेपछि यसको गहिराइ झन्झन् ठूलो लाग्दै जान्छ । तर पनि यस महासागरमा हाम फाल्न आउनेहरू कहिल्यै घटेनन् । संगीतको महासागरमा डुब्न खोजिरहेका छन्, नवगायक– आर्जन पाण्डे ।
डेढ वर्षअघि संगीत उद्योगमा प्रवेश गरेका २२ वर्षे ठिटो यहाँ आफ्नो ठाउँ खोज्दैछन् । 'ओइलिएर झर्न दिन्न', 'हे कान्छा चाँडै आऊ' र 'रात परेपछि' गरी तीनवटा गीत सांगीतिक बजारमा प्रस्तुत गरिसकेका छन् ।
संगीतको कुनै औपचारिक शिक्षा नलिएका आर्जनलाई कुनै पनि क्षण आफू संगीतरहित भएर बाँच्न सक्छु जस्तो लाग्दैन ।हरेक समय उनको मन र मस्तिष्कमा संगीत गुञ्जिरहेको हुन्छ । भन्छन्, 'घरमा ममीलाई केही कुराको एन्सर दिनुपर्यो भने गीतबाटै दिन्छु ।'
सानैदेखि आमाको प्रेरणाले उनमा गायक बन्ने रहर जागेको हो । गीतकार आमाले छोराको लागि घरमा सांगीतिक वातावरण सिर्जना गरिरहन्छिन् । संगीतको बृहत् क्षेत्रमा गायकका रूपमा आफूलाई चिनाउन उनी कुनै एउटै शैलीको गीत गाउन चाहँदैनन् । गायनका फरक–फरक विधामा आफूलाई प्रस्तुत गर्ने चाहना छ उनमा । भन्छन्, 'भर्सटाइल बन्ने रहर छ ।'
भर्खरै सफ्टवेयर इन्जिनियरिङ सकेका आर्जनले गायक बनेर बाँच्न गाह्रै देखेका छन् । भन्छन्, 'पपुलर भएर शो नगरी बाँच्न गाह्रै पर्ला ।' उनी शब्द र मेलोडी मन परेपछि मात्र गीत स्वीकार गर्छन् । युवाहरूलाई लक्षित गरेर सन्देशमूलक गीत गाउने उनको रहर हो ।
अहिले र्याप गीत भनेर कुनै सन्देश नै नभएका गीत गाएको सुनिन्छ, जुन उनलाई फिटिक्कै मन पर्दैन । अलि लजालु स्वभावका आर्जन अझै गायक हुँ भनेर परिचय दिन अप्ठेरो मान्छन् ।
कमल खत्रीको गायनशैली उनलाई मन पर्छ । आर्जनले भर्खरै प्रवेश गर्दै गरेको संगीत क्षेत्रको सबैभन्दा ठूलो शत्रु 'पाइरेसी' नै देखेका छन् । भन्छन्, 'पाइरेसी' मात्र नियन्त्रण गर्न सके संगीत क्षेत्र यति हलुको बन्ने थिएन ।'