चलचित्र त्याग्दै, नाटक पछ्याउँदै
अभिनय सपना हो, एउटा हुटहुटी । अभिनय सोच्नेहरूले पाएसम्म चलचित्र नै रोज्छन् । पछिल्लो समय दर्शक र कलाकारमा रंगमञ्चप्रतिको आकर्षण बढ्दै गएको छ । र, चलचित्रका अभिनेत्रीहरू रंगमञ्चलाई ट्रान्जिट सोच्न थालेका छन् ।
उनीहरू नाटकमा अभिनय गर्नुलाई अवसरको रूपमा लिन्छन् । रंगमञ्चका नवप्रवेशीहरू यसलाई चलचित्रसम्म पुग्ने खुड्किलोको रूपमा पनि लिन्छन् । तर, रंगमञ्चकी नवप्रवेशी अर्चना पन्थी चाहिँ चलचित्रमा आइरहेका अफरलाई रिजेक्ट गर्दै नाटकमा आएकी हुन् ।
अहिले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक 'माधवी'मा मुख्य पात्रको भूमिकामा देखिएकी अर्चना रंगमञ्चबाट आफ्नो लक्ष्यको गोरेटो कोर्दैछिन् । रंगमञ्चमा पहिलोपटक अभिनय गर्दै गरेकी अर्चनाको पहिलो नाटक नै सहरमा हिट भइरहेको छ ।
शिल्पी थिएटरभित्र जीवनका अनेक रंगलाई नाटकमार्फत देखाइरहेकी उनले चलचित्रको चमकधमक र गुलाबी करियरलाई छोड्दै नाटकमा साधना गरिरहेकी छिन् ।
पाँच वर्षअघि मिस टिनको उपाधि जितेपछि ग्ल्यामर क्षेत्रप्रति उनको रुचि र आत्मविश्वास दुवै बढ्यो । प्लस टु पढ्दै गरेकीले त्यतिबेलाचाहिँ उनले पढाइमै ध्यान दिइन् । त्यसपछि दुईवटा म्युजिक भिडियोमा अभिनय गरेपछि उनलाई चलचित्रको प्रस्ताव आउन थाले । उनी सोच्थिन्-'कुनै पनि काम गर्नुअघि त्यसका लागि उपयुक्त पात्र बन्न सक्नुपर्छ ।' अभिनयमा पोख्त नभई चलचित्रमा काम नगर्ने निर्णय गरिन् । रंगमञ्चप्रति उनको झुकाव चर्को थियो ।
नाटक हेर्न प्रेक्षालय पस्दा उनी आफैंसँग संवाद गर्थिन्- 'यति धेरै दिनसम्म प्रत्यक्ष नाटक कसरी गर्न सकेको होला', 'बीचमै डायलग बिर्सियो भने के गर्ने होला' । रंगमञ्चलाई मनैदेखि आदर गर्ने अर्चनाले यही क्षेत्रलाई अभिनयको पहिलो खुड्किलाको रूपमा रोजिन् । उनलाई लाग्यो- रंगमञ्चमा गरिने प्रत्यक्ष अभिनय नै साँचो अभिनय हो ।
भन्छिन्, 'यहाँ राम्रो एक्टिङ गर्न सकेमात्र चलचित्रमा जानु उपयुक्त हुन्छ ।' उनी चाहन्नन्, आफ्नो पहिलो चलचित्रमै कसैले खोट लगाओस् । त्यसैले अभिनयमा पोख्त भएरमात्र अभिनेत्री बन्न चाहन्छिन् । 'माधवी' मञ्चन भएदेखि उनले थुप्रै प्रतिक्रिया पाइन् । त्यसमध्ये हौसला दिने प्रतिक्रिया धेरै छन् । भन्छिन्, 'पूर्णतया नयाँ एक्सपेरियन्स हो, रंगमञ्चमा अभिनय गर्न गाह्रो छ तैपनि गर्न खोजिरहेकी छु ।'
पहिलोपटक मिस टिनमा भाग लिँदा जित्छु भन्ने आशा थिएन । तर, टाइटल जितेपछि उनमा आत्मविश्वास बढ्यो । तर, पूरै ग्ल्यामरतिर जाने रहर भने छैन । तैपनि अरू कामसँगै यसलाई पनि निरन्तरता दिने रहर छ । समाजमा अझै पनि चलचित्र वा मनोरञ्जनको क्षेत्रमा काम गर्ने छोरीलाई 'बिग्रिई' भन्ने चलन छ ।
उनका केही आफन्तले उनलाई पनि 'बिग्रिन्छे' नभनेका होइनन् । तर, आफ्नो परिवारको बलियो साथ पाएपछि कसैको नराम्रो टिप्पणीले उनलाई छुँदै छोएन । भन्छिन्, 'नराम्रो भन्नेहरू जति छन्, तीभन्दा राम्रो भन्नेहरू धेरै छन्, आफू सही भएपछि कसैले भनेर केही पनि हुँदैन ।'
सेन्ट जेभियर्स कलेजमा 'सोसियल वर्क' विषयमा स्नातक गरिरहेकी अर्चना पढाइमा पनि उत्तिकै संवेदनशील छिन् । सामाजिक कार्य गर्दै अभिनयलाई निरन्तरता दिने उनको लक्ष्य छ । समाजसँग मनोविज्ञान जोडिएकै हुन्छ । अर्चनाको अर्को मनपर्ने विषय 'साइकोलोजी' हो । उनलाई यस क्षेत्रमा पनि काम गर्ने इच्छा छ ।
प्रायः अभिनय गर्नेहरू भन्ने गर्छन्, 'कथाले मागेपछि यस्तो लुगा लगाएँ ।' उनीहरू 'एक्सपोज' हुने भन्दा आफ्नो सहजतालाई बढी महत्त्व दिन्छिन् । अर्चना भन्छिन्, 'आफूलाई सहज हुने लुगा लगाएर मात्र काम गर्न मन पर्छ । असहज हुने खालका लुगा लगाउनुपर्यो भने काम गर्दिनँ ।'