प्रधानमन्त्रीबाट क्रिकेट टोलीको बिदाई
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले शुक्रबार आईसिसी विश्व क्रिकेट लिगको टोलीलाई बिदाई गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले क्रिकेट टोली र एसियाली कराँते टोलीका खेलाडीलाई छुट्टाछुट्टै बिदाई गरे ।
बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रले नेपाललाई अन्तराष्ट्रिय जगत्मा चिनाएको भन्दै खुशी व्यक्त गरे । प्रचण्डले भने, ‘क्रिकेट र कराँते क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गरेको छ । देशलाई आत्मविश्वास र भावनात्मक एकता कायम गर्न सफल हुनुभएकोमा म सम्पूर्ण खेलाडीलाई हृदयदेखि धन्यवाद दिन्छु ।’
प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार प्रवेशपछि पहिलो औपचारिक कार्यक्रम खेलाडीसँग गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले प्रतियोगितामा नेपाली टिमको विजय सम्पूर्ण नेपालीको विजय हुने बताए ।
मन्त्री श्रीपालीले आफ्नो कार्यकाल खेलकुदको सुधार र विकासमा समर्पित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । बिदाई कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालको विजयका लागि सम्पूर्ण टोली कटिवद्ध रहेको बताए ।
बिदाई कार्यक्रममा नेपाल कराँते संघका महासचिव लगायतका प्रतिनिधिले खेल क्षेत्रका समस्या र प्रतियोगिताको अवस्थाबारे जानकारी गराए । नेदरल्याण्डमा हुने आइसिसी वल्ड क्रिकेट लिगका लागि कप्तान पारस खड्का नेतृत्वको टोली शनिबार नेदरल्याण्ड प्रस्थान गर्दैछ । त्यसैगरी, मलेसियमा हुने पाँचौं एसियाली कराँते प्रतियोगिताका लागि २९ जनाको टोली शनिबार नै मलेसिया प्रस्थान गर्दैछ ।