दीर्घकालीन सम्झौता कार्यान्वयन हुने विश्वासःचीन

दीर्घकालीन सम्झौता कार्यान्वयन हुने विश्वासःचीन

काठमाडौंः चिनियाँ राजदूत ऊ चुन्ताईले पूर्ववर्ती सरकारका पालामा भएका नेपाल—चीन दीर्घकालीन महत्वका सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार भएको भेटमा चिनियाँ राजदुत ऊले ओलीले ९ महिना सरकारको नेतृत्व गर्दा नेपाल र चीनबीच द्विपक्षीय दीर्घकालीन हितका विषयमा महत्पूर्ण सम्झौता भएको भन्दै तिनको कार्यान्वयन हुने विश्वास व्यक्त गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको नयाँ सरकारले भारतीय दबाब र हस्तक्षेपमा चीनसँगका महत्वपूर्ण सम्झौता कार्यान्वयन नगर्ने हो कि भन्ने आशंका व्याप्त रहेका बेला चिनियाँ राजदूतले ओलीसँग भेटी सम्झौताबारे छलफल गरेका हुन् ।

राजदूत ऊले नेपाल र चीनबीच ‘कनेक्टिभिटी', नेपालको विकासमा चिनियाँ लगानी र सहयोगलाई द्विपक्षीय समझदारीमा अघि बढाइएको र त्यसका सकारात्मक परिणाम आइरहेको समेत बताए ।

वार्तामा नेपालको विकासमा चीन सधैं सहयोगी रहने समेत चिनियाँ राजदूतले बताएको ओलीका विदेश मामिला विज्ञ गोपाल खनालले बताए ।

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा नेपाल र चीनबीच पारवहन तथा यातायातलगायतका ऐतिहासिक सम्झौता भएकोमा सन्तोष लागेको भन्दै तिनले नेपालको विकासलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

ओलीले नेपालको विकासमा दुवै छिमेकी चीन र भारतलाई उत्तिकै महत्वकासाथ सहभागी हुन आग्रह गरिएको र सन्तुलनका आधारमा वैदेशिक सम्बन्ध अघि बढाएको बताए ।

चीन र नेपालबीचका सम्झौताप्रति भारतले देखाएको नाजायज चासोतर्फ लक्षित गर्दै ओलीले भेटमा भने, ‘चीनसँगका सम्झौता र समझदारी नेपालको हितमा रहेको भन्दै तिनलाई कुनै देश लक्षित रूपमा बुझ्नु हुँदैन ।'

यसअघि बिहीबार चिनियाँ विदेश मन्त्रालयले वक्तव्य निकालेर नेपालसँगका सम्झौता कार्यान्वयन गर्न मिलेर काम गर्न तयार रहेको बताएको थियो ।

‘नेपाल हुँदै भारतसम्म चिनियाँ रेल'

कूटनीतिक मामिलाका चिनियाँ विज्ञहरूले छिङ्हाई—तिब्बत रेलवेलाई नेपाल हुँदै भारतसम्म जोड्न आर्थिक तथा प्राविधिक रूपले सम्भव रहेको बताएका छन् । चाइना टिबेटोलोजी रिसर्च सेन्टरले बेइजिङमा आयोजना गरेको कार्यक्रममा चिनियाँ विज्ञले त्यस्तो बताएका हुन् ।

सन् २०२० सम्म नेपाल—चीन सीमा बिन्दु केरुङसम्म विस्तार हुने चिनियाँ रेलवेलाई स्वशासित क्षेत्र तिब्बत हुँदै दक्षिण एसिया जोड्न प्रविधि र अनुभव चीनसँग रहेको उनीहरूले बताएका छन् । ‘यो कुनै सपनामात्र होइन, व्यावहारमै लागू गर्न सकिन्छ', विज्ञहरूलाई उधृत गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले लेखेको छ ।

तिब्बतको सिगात्से आइपुगेको रेललाई सन् २०२० सम्म केरुङ (जिरोङ) हुँदै नेपालसम्म विस्तार गर्ने लक्ष्य चीनको छ । यद्यपि नेपाल जोड्ने रेल उच्चगतिको भने नहुने भएको छ ।

चीनले काठमाडौंसम्म रेल विस्तार गर्नेमा नेपाल आशावादी देखिएको विज्ञहरूले बताए । ‘नेपालतर्फ रेल विस्तार भएमा राष्ट्रपति सी जिनपिङले प्रस्ताव गरेको वान बेल्ट वान रोड अभियानअन्तर्गत नेपालसँगको आर्थिक, सांस्कृतिक र धार्मिक सम्पर्क बढ्ने चीनको अपेक्षा छ', पिपुल्स डेलीले लेखेको छ ।

बेइजिङ युनिभर्सिटी अफ टेक्नोलोजीका उपनिर्देशक चङ गङले हिमालय पार गरेर रेल निर्माण गर्न आर्थिक तथा प्राविधिक रूपमा सम्भव रहेको बताए ।

केरुङ समुद्री सतहबाट दुई हजार आठ सय मिटर उचाइमा रहेको र केरुङबाट नेपालतर्फको पहाडी भाग समुद्र सतहबाट एक हजार आठ सय मिटरमा रहेकाले भौगोलिक रूपमा चिनियाँ रेल नेपालतर्फ विस्तार सम्भव रहेको उनले बताए ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ् र पूर्वप्रधानमन्त्री ओलीबीच गत मार्चमा बेइजिङमा भएको द्विपक्षीय वार्तामा सीमासम्म रेल विस्तार गर्ने र त्यसका लागि चिनियाँ कम्पनीले प्रारम्भिक अनुसन्धान थाल्ने विषयमा छलफल गरेको पिपुल्स डेलीले लेखेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.