'भाग्यले बाँचेकाहरू' युरोपमा

'भाग्यले बाँचेकाहरू' युरोपमा

काठमाडौं: नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रूपमा नयाँ जीवन पाएका नेपालीको कथा समेटेर बनाइएको चर्चित डकुमेन्ट्री फिल्म 'भाग्यले बाँचेकाहरू' युरोपको नौवटा देशका चलचित्र महोत्सवमा छनोट भएको छ ।

युरोपियन मुलुक स्विटजरल्यान्ड, इटाली, जर्मनी, स्लोभाकिया, पोल्यान्ड, बुल्गेरिया, फिनल्यान्ड, स्लोभानिया र नेदरल्यान्ड्सको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा 'भाग्यले बाँचेकाहरू (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एन्ड मिराकल्स)' प्रतिस्पर्धाका लागि छनोट भएको हो ।

स्विटजरल्यान्डको ड्याब्लोरेमा हुन लागेको प्रतिष्ठित ४७ औं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल, ड्याब्लोरेमा नेपालबाट 'भाग्यले बाँचेकाहरू' छनोट भएको छ ।

फेस्टिभल अगस्ट ८ देखि १३ सम्म हुनेछ । जुलाई ३० तारिखदेखि सुरु भएको इटालीको सिर्भानो सिनेमाउन्टेन फिल्म फेस्टिभलमा अगस्ट ४ तारिखमा 'भाग्यले बाँचेकाहरू' प्रदर्शन भएको छ । उक्त शोलाई सिने माउन्टेन फिल्म फेस्टिभलले नेपाल विशेषका रूपमा मनाएको थियो ।

फिनल्यान्डमा हुन लागेको 'भासा वाइल्डलाइफ फिल्म फेस्टिभल'मा 'म्यान एन्ड नेचर क्याटेगरी'मा भाग्यले बाँचेकाहरू अवार्डका लागि मनोनयनमा परेको छ । स्विटजरल्यान्ड र इटालीमा आगामी साता हुन लागेको फिल्म महोत्सवमा 'भाग्यले बाँचेकाहरू'का निर्देशक गणेश पाण्डे सहभागी हुँदैछन् ।

 

निर्देशक पाण्डेका अनुसार, स्लोभानिया र नेदरल्यान्ड्सको फिल्म महोत्सवमा डकुमेन्ट्री प्रदर्शन भइसकेको छ । अगस्ट महिनामात्र युरोपका तीनवटा देशमा प्रदर्शन हुँदैछ । बाँकी सातवटा महोत्सवमा आगामी दुई महिनाभित्र प्रतिस्पर्धाका लागि प्रदर्शन हुँदैछ ।

'छनोट भएकामध्ये अधिकांश माउन्टेन फिल्म फेस्टिभल हो, यसले नेपालको अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न मद्दत मिल्ने मैले विश्वास लिएको छु', निर्देशक पाण्डेले भने ।

सातवटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको 'भाग्यले बाँचेकाहरू'ले युरोपका चलचित्र महोत्सवमा पनि अवार्ड जित्ने विश्वास निर्देशक पाण्डेको छ । गएका ६ महिनामा भाग्यले बाँचेकाहरू ३२ वटाभन्दा बढी चलचित्र महोत्सवमा प्रतिस्पर्धाका लागि छनोट भइसकेको छ ।

काठमाडौंमा सम्पन्न काठमाडौं पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) मा यसले नेपाल पानोरोमामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र पब्लिक च्वाइस अवार्ड गरी एकसाथ दुईवटा अवार्ड हात पारेको थियो ।

नेपालको विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीको प्रतिनिधिमूलक घटनालाई समेटेर तयार पारिएको 'भाग्यले बाँचेकाहरू'को अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ । यसअघिको नेपाली संस्करण ५५ मिनेटको थियो ।

अंग्रेजी संस्करणका लागि अमेरिकी चलचित्रकर्मी जोसाय हुपर र सपना शाक्यले परामर्शदाता सम्पादकको भूमिका निर्वाह गरेका थिए । लेखन तथा भ्वाइसओभर पनि जोसाय हुपरकै छ । नेपाली संस्करणको लेखन तथा भ्वायसओभर भने सशस्त्र प्रहरी निरीक्षक दीपक कोइरालाले गरेका थिए ।

शारदा गैरेको निर्माण, कुमार शाहको सम्पादन, विनोद विष्टको छायांकन, जुगल डंगोलको संगीत संयोजन तथा सम्राट् भुमिजको पोस्ट प्रडक्सनमा बनेको डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि वैशाख १२ गतेको महाभूकम्पमा परेर चमत्कारिक रूपमा नयाँ जीवन पाएका नौजना नेपालीको कथा अटाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.