एक 'आइमाई' को बकपत्र
कविताहरू लेख्ने क्रममा अनेक खालका शब्दसँग ठोक्किन आइपुग्छु । गाउँघरमा बोलीचालीको भाषामा प्रयोग हुने शब्द र वाक्य सम्झन्छु । 'आइमाई बुद्धि चैं नगरेस्', 'आइमाई व्यहोरा', 'आइमाईका जस्ता गफ', 'आइमाईको जस्तो चरित्र' । लाग्ने गथ्र्यो, 'आइमाई' भन्ने कुरा खत्तम हुने रहेछ ।
अर्कोतर्फ तर्क गर्थें, आइमाईको एउटा स्वरूप त म पनि हुँ । म के-के कारणले खत्तम छु ? आइमाई भएकैले के-के अवगुण छन् मभित्र ? म तुलना गर्थें गैर-आइमाई (पुरुष)हरूसित । गैर-आइमाई र आइमाईबीच के-के समानता र के-के असमानता छन् ? म सोच्थेँ ।
शारीरिक हिसाबले गैर-आइमाई र आइमाईबीच केही फरक त पक्कै छ । तर, प्राकृतिक गुणहरूलाई एकअर्कासँग तुलना गरेर आइमाईभित्र गैर-आइमाईका जस्ता गुणहरू छैनन् त्यसैले उनीहरू कमजोर छन् भनेर गरिएका व्याख्याहरू कति जायज छन् त ?
प्राकृतिक र शारीरिक गुणले भरिपूर्ण आइमाईहरू आफ्नै ठाउँमा विशिष्ट छन् र पुरुषहरू पनि आफ्ना ठाउँमा विशिष्ट छन । प्रकृतिले दिएको स्त्रीयोचित गुणलाई अपव्याख्या गरेर शारिरीक रूपमा आइमाईलाई ठगेको र पुरुषलाई वरदान दिएको भनेर गरिने अपव्याख्यालाई कतिञ्जेलसम्म सुनिरहने ?
देखाइ, भोगाइ, अध्ययन र लेखनले मलाई बोध गराएको छ, बच्चा जन्मनेबित्तिकै मान्छेले सबैभन्दा पहिला अनुहार हेर्दैनन् उसको टाङ हेर्छन् । सामाजिक मान्यता होस् वा धार्मिक मान्यता मान्छेको टाङमा आधारित भएर बनेको हुन्छ ।
मानव जातिको विकाससँगै स्थापित भएका हाम्रा सामाजिक मान्यता र धर्मग्रन्थभित्रका नियम कानुनहरू कति त वैज्ञानिक, तार्किक र व्यावहारिक छन् । तर, चलनचल्तीका धेरैजसो मान्यताहरूले पोथी जातिलाई भाले जातिलाई जसरी प्राकृतिक गुणहरूको सम्मान गर्न सकेको देखिँदैन ।
जस्तै, पुरुषका जुँगा र उसका पाखुराको बलसँग महिलालाई तुलना गर्ने गरिन्छ । जुँगा नहुनु वा पुरुषकै जतिकै पाखुरामा बल नहुनु महिलाको कमजोरी होइन । पुरुषकैजस्तो महिलाको पनि गुण भए पुरुष र महिलामा के फरक भयो त ? सबै पुरुषै पुरुष भइजान्थे नि ! अनि सबै पुरुषमात्र भएका भए मानव सृष्टि कसरी चल्थ्यो त ?
महिलाका जस्ता गुणहरू पनि त पुरुषमा हुँदैन भनेर बुझाइलाई उल्ट्याइदिने हो भने नारी-पुरुष एकअर्काका समपूरक हौं भनेर स्वीकारिन्थ्यो कि ?
समकालीन समाजले पनि महिलाका प्राकृतिक गुणहरूलाई चैँ कमजोरीका रूपमा मात्र व्याख्या गर्यो । जस्तै, महिलाको मासिकस्राव हुने गुण र सृष्टिको उत्पत्तिस्थल पाठेघरलाई उसको उन्नति, प्रगतिको बाधक भनेर व्याख्या गरिन्छ । यदि महिलाको मासिकधर्म रोकिने हो भने मानव सृष्टि पनि त्यहीँ रोकिन्थ्यो कि रोकिँदैनथ्यो ? शिक्षित भनिएकाहरूकै मुखबाट गरिन्छ- महिलाले जति पढे पनि बच्चा पाउनैपर्छ, घरधन्दा सम्हाल्नैपर्छ ।
बच्चा पाउने क्षमतालाई समाजले आज पनि गर्वका साथ लिन सकेको छैन । हामी महिला स्वय्ले नै पनि यसलाई गर्वको रूपमा लिनुपर्छ भन्नै जानेनौं । हामीले घरधन्दा नसम्हालेको भए यो सभ्यता कहाँ पुग्ने थियो ?
यो विषयमा किन नबोलेको ? महिलामा भएको स्त्री गुणको महत्त्वबोध नगरी पुरुष गुणलाई नै सर्वोपरि ठान्ने सामाजिक चिन्तनको विरुद्ध हामीले आवाज उठाउनुपर्छ भन्ने बोध पनि भएन । प्रकृतिले दिएको गुणलाई मात्र नभई महिलाको कामलाई पनि हेयको भावले हेरियो, कहिल्यै सम्मान गरेन यो समाजले ।
०००
पुरुष आँखाबाट गरिएको व्याख्यालाई सर्वोपरि ठानेर हामी उनीहरूले तोकेको रूप-कर्म विधान अनुरूप भयौं, हुन खोज्यौं, खोजिरहेछौं । स्त्रीयोचित गुण चिन्ने र त्यसलाई व्याख्या गर्ने भाषाको निर्माण नै भएन । यही भाषालाई टेकेर अब हामीले आफ्नै आवाजमा आफ्नै व्याख्या गर्न सक्नुपर्छ । हाम्रा स्त्रीगुणहरू पुरुष चिन्तनले व्याख्या गरेजस्तो मात्र छैनन् बिल्कुलै फरक पनि छन् भन्न सक्नुपर्छ ।
हाम्रो सबैभन्दा ठूलो कमजोरी, आजसम्म हामी महिलाले आफैंलाई व्याख्या नै गर्न सकेनौं । यसको कारण पनि छः धर्म र कानुनले निर्माण गरेको चालचलन, परम्परा, रीतिरिवाज र सामाजिक चिन्तनले महिला जन्मेको दिनदेखि नै सुसंस्कृत हुने क्रममा आफूलाई गर्वसाथ हेर्ने आँखा नै झिकिदिएको हुन्छ । गर्वसाथ बोल्ने जिब्रो बटारिदिएको हुन्छ ।
यो सामाजिक संरचना महिलालाई केन्द्रमा राखेर बनाइएको नै होइन । केन्द्रमा त पुरुषद्वारा स्थापित धर्म, कानुन, रीतिरिवाज छ । त्यसलाई पालना गर्ने, त्यसलाई जोगाउने मालीको रूपमा मात्र महिलालाई भूमिका दिइएको छ । महिलाहरू मालिक हैन मालीमात्र बन्ने प्रावधान छ धर्म र कानुनमा ।
हाम्रो मनोविज्ञानलाई कानुनले भन्दा बढी धर्मले डोर्याएको हुन्छ । मान्छेको मनोविज्ञानबाट सामाजिक चिन्तन स्थापित हुन्छ । एकातिर समाजले महिलालाई आमा र देवीजस्तो महान् र आदर्शवान् बनाएको छ भने अर्कोतिर बोक्सी र वेश्याजस्तो नीच र तुच्छ बनाएको छ । मनोविज्ञानको यही चक्रब्यूहभित्र हामी आफूलाई चिन्नै नसक्ने गरी बेहोसीमै फनफनी घुमिरहेका छौं ।
रूपको उचाइ र गहिराइका अनेकन सन्दर्भको सहाराले धर्मशास्त्रले महिलालाई अनेक भूमिका र रूपमा व्याख्या गरेको छ । स्त्री, योषिता, अबला, योषा, नारी, सीमन्तिनी, वधू, वामा, वनिता, महिला, आइमाई, जाया, पत्नी, सहधर्मिणी, भार्या, दारा, दम्पती यस्ता यावत् रूपहरू निर्माण गरेर पूर्वीय दर्शनले महिलाका फरक-फरक भूमिकाहरूलाई निर्धारण गरेको छ ।
ती नामअनुसारको काम र भूमिकालाई आधुनिक समाजले कतिपय अवस्थालाई परिमार्जित र परिस्कृत रूपमा स्वीकार गरेको छ भने कतिपय काम र भूमिकालाई अपव्याख्या गरेर झनै अपमान र हेयको भावले हेरिएको छ ।
माथि उल्लेखित महिलाका रूप वा भूमिकाहरूले चलनचल्तीमा पुकार गरिँदैन तर समाजले तिनै रूपको जञ्जालमा कतै न कतैबाट महिलालाई जकडिरहेको छ ।
०००
अचेल नयाँ चलन चल्न थालेको छः महिला या नारीलाई आइमाई भन्नुहुँदैन । स्वयं स्त्रीहरू पनि आइमाई भनेको मन पराउँदैनन् । किनभने आइमाई शब्दलाई हाम्रो समाजले गर्ने व्याख्या नकारात्मक छ ।
हीन र नीच रूपमा आइमाई शब्दलाई व्याख्या गरिएको हुनाले यो शब्दप्रति घृणा जाग्नु स्वाभाविक छ । बुद्धि नभएकी, कुरौटे, अडान नभएकी, पेटमा कुरा अड्याउन नसक्ने जातको रूपमा आइमाईलाई बुझ्ने गरिन्छ । के आइमाई त्यस्तै हुन्छन् त ?
तर, अब हामीले आइमाई शब्दको अर्थ बुझेर यसलाई गर्वसाथ व्याख्या गर्नुपर्छ । संस्कृत भाषाअनुसार आइमाई भनेको सभ्यता बुझाउने आर्य शब्दको स्त्रीलिंगी शब्द हो । 'आर्यते पुज्यते' शब्दबाट आदर गरिने शब्दका रूपमा आर्य शब्द बनेको छ । आर्य शब्दको अर्थ सभ्य भन्ने हुन्छ । र, आइमाई शब्द आर्य शब्दबाट बनेको छ । सभ्य आचरण भएकी नारीलाई आइमाईको भनेर पनि व्याख्या गरिएको छ ।
स्त्रीको विशिष्ट अवस्था आइमाई रूप हो । अनि हामीले त्यो आइमाई रूपलाई गर्वका साथ ग्रहण किन नगर्ने ? अब हाम्रा लेखनीहरूमा गर्वका साथ व्याख्या गरिनुपर्छ हाम्रो आइमाई रूपलाई ।
महिलाले आफैंलाई सम्मान गर्ने हो भने, आफ्नै साहित्य लेख्ने हो भने, कानुनलाई हाम्रो आवाजको लागि दह्रो स्वर दिने हो भने, आइमाई शब्दलाई पुनर्परिभाषित गरिनुपर्छ । स्त्रीले अहिले सबैभन्दा बढी गर्व गर्नुपर्ने विषय नै आइमाई हो । आइमाई हाम्रो विशिष्ट रूप हो ।
वैदिक शास्त्रले आइमाई शब्दलाई उच्च सम्मानका साथ आर्य संस्कृतिसँग जोडेर परिभाषित गरेको थियो । हामीले भोगिराखेको आधुनिक समाजले आइमाई शब्दलाई एकदमै नीच हिसाबले व्याख्या र विश्लेषण गरेको छ । तथाकथित जान्नेसुन्ने भनिएका मान्छेको चेतनाले आइमाई शब्द उच्चारण गर्न बर्जित जस्तो नै गरेको छ ।
अब आइमाई शब्दको अपव्याख्या र भ्रम चिरेर यो शब्दलाई गर्वसाथ लिन सक्नुपर्ने गरी व्याख्या र पुनर्परिभाषित गर्नुपर्छ । यही शब्दभित्र रहेर हामीले फरक संसारको निर्माण गर्नुपर्छ । जसरी पैतृक समाजले आफ्नो पक्षमा धर्म स्थापित गरेर आफ्नो संसार बनायो । जसरी आफूलाई अनुकूल हुने कानुन बनाएर शासक भयो ।
स्त्री र पुरुष एकअर्काका पूरक भएकाले एकअर्काका विपरीत शब्दहरू पनि छन् । जस्तै, बालिकाको बालक, केटीको केटा, किशोरीको किशोर, स्वास्नीको लोग्ने, श्रीमतीको श्रीमान्, बूढीको बूढा । यस्ता यावत् परिपूरक शब्दहरू छन् । तर आइमाईको विपरीतार्थ शब्द के छ ? छैन ।
किनभने यो आइमाई शब्दले नारी जातिको अतुलनीय रूपको वैशिष्ठ्यतालाई जनाएको छ । यो विशिष्ट रूपलाई सबैभन्दा पहिला हामीले स्वीकार गर्नुपर्छ । अनि यो समाजले स्वीकार्नुपर्छ ।
आइमाईको विपरीतार्थ शब्द नहुनुको कारण छ, स्त्रीहरूको मासिक स्राव हुन्छ पुरुषको हुँदैन । स्त्री गर्भवती हुन्छन्, पुरुष हुँदैनन् । स्त्रीसँग बच्चा जन्माएर स्तनपान गराउँछन् पुरुषसँग त्यो गुण छैन । मासिक स्राव हुनु, गर्भवती हुनु, स्तनपान गराउनु स्त्रीको विशिष्ट अवस्था हो ।
स्त्रीको त्यो विशिष्ट अवस्था आइमाई रूप हो । अनि हामीले त्यो आइमाई रूपलाई गर्वका साथ ग्रहण किन नगर्ने ? अब हाम्रा लेखनीहरूमा गर्वका साथ व्याख्या गरिनुपर्छ हाम्रो आइमाई रूपलाई । आइमाई रूपलाई समाजले पनि सम्मान दिनुपर्छ ।
०००
आइमाई रूपलाई ध्यानमा कानुनहरू निर्माण गरिनुपर्छ । जस्तै, सरकारी कार्यालय होस् वा निजी कार्यालय, त्यहाँ ट्वाइलेट हुन्छ, चिया नास्ता खाने किचन हुन्छ, कार्यालय सहयोगी हुन्छन् तर त्यो कार्यालयमा महिलाहरू पनि हुन्छन् ।
र, उनीहरू गर्भवती हुन्छन् वा काखमा बच्चा भएका हुन्छन् भन्ने कुरालाई ख्याल गरेर उनीहरूलाई सुविधा हुने किसिमका कुनै पनि पूर्वाधारहरू निर्माण भएका हुँदैनन् । सरकारले महिलालाई सुत्केरी बिदा जम्मा ६० दिनमात्र दिन्छ ।
जबकि अध्ययन बिदा दुई वर्षदेखि पाँच वर्षसम्म पाउने प्रावधान छ । एक असल नागरिक बनाउनको लागि एउटी महिलाको अहम् भूमिका हुन्छ भनेर अध्ययन बिदालाई जस्तै अन्य सुविधा दिने तथा उनको प्राकृतिक गुणलाई ध्यानमा राखेर गरेर कानुन र मान्यता स्थापित गर्ने हो भने एउटी आइमाईले मलाई अधिकार चाहियो भनेर धेरैथोक बोलिरहन जरुरी नै छैन ।
धर्मशास्त्रले मासिक स्रावको बेलामा महिलाहरू अपवित्र हुन्छन् भनेर अछूतको दर्जामा राख्ने गर्दछ । यस्तो दर्जामा राख्दा नारी मनोविज्ञानलाई प्रत्यक्ष होस् या अप्रत्यक्ष रूपमा कति धेरै नकारात्मक असर पार्छ भन्नेबारे समाजले ध्यान राखेको नै हुँदैन । यदि महिलाको मासिक स्राव हुनु प्रकृति निरन्तरताको द्योतक हो भनेर सम्मानित सामाजिक मान्यता स्थापित गरिदिने हो भने आइमाई रूपको सम्मान हुने थियो ।
आइमाई रूपलाई सम्मान गर्नु भनेको समाजको सम्मुन्नतिलाई टेवा दिनु हो । हाम्रो मानसिकता परिवर्तन र हाम्रो बुझाइ परिमार्जन गर्न लागि महिला एक्लै कराएरमात्र पनि हुँदैन र पुरुषलाई आरोप लगाएरमात्र पनि हुँदैन । समाजमा रहेका रीति वा कुरीतिलाई रोप्ने, जोगाउने र हुर्काउने अभिभारा नारीपुरुष दुवैको बराबर भूमिका रहे पनि चेतना र पहुँचको हिसाबले अगाडि हुनेको भूमिका पनि बढी नै हुन्छ ।
०००
धर्मग्रन्थ र साहित्यका ठेलीलाई पल्टाएर हेर्ने हो भने सबैभन्दा बढी महिलाबारे लेखिएको होला । महिलालाई मध्यनजर गरेर धेरै धार्मिक मान्यता स्थापित छन् । किताबका गातामा पनि पुरुषको तुलनामा महिलाका तस्बिर बढी पाइन्छन् । किताबका नाम महिलाकै नामबाट बढी बनाइएका छन् । उपन्यास वा कथाका पात्र पनि महिला नै बढी छन् । कविताका बिम्बमा पनि महिला नै बढी छन् ।
तर, साहित्यले र धर्मले नारी रूपलाई पुरुष मनोविज्ञानको आधारमा मात्र व्याख्या गरेको छ । नारीभित्रको आइमाई रूपलाई कतै पनि व्याख्या गरेको छैन । यो पनि सत्य हो, आइमाई-रूप देखिनेभन्दा पनि महसुस गरेर लेखिने विषय हो । महसुस त स्वयंले गर्ने हो ।
त्यसैले स्त्रीकलमले नै आइमाईको रूपलाई गहिरोसँग व्यक्त गर्न सक्छ । तर आइमाईको ढुकढुकीको आवाज एकदमै न्यून रूपमा लेखिएको छ । अब हामीले स्त्रीयोचित अनुभूति, संवेग र आवेगलाई सहर्ष स्वीकार्दै गर्वसाथ हाम्रो हृदयको ध्वनि लेख्नुपर्छ ।
हाम्रा धर्मग्रन्थले व्याख्या गरेजस्तै महान् या यिनै ग्रन्थले व्याख्या गरेजस्तै कमजोर र अबला छौं वा त्योभन्दा पनि फरक छौं ? स्वमूल्यांकन गरेर हाम्रा कलम तिर्खानुपर्ने चुनौती छ ।
देवीदेखि चुँडेल्नीसम्मका हाम्रा रूप छन् कि छैनन ? हामी आधा आकाश कि धरती हौ ? वा यी यावत् स्थापित बिम्ब केही पनि नभएर हामी सिर्फ मान्छेमात्र हौं ? अब हामी आफैंले समाजलाई यी प्रश्नको जवाफ दिनुपर्नेछ । जवाफलाई समाजमा सर्वस्वीकार्य बनाई स्थापित पनि गराउनुछ ।
शदीयौंदेखि स्थापित मान्यताअनुसार बाँच्न, बोल्न, सोच्न सिकेका हामी महिलालाई आफूले आफूलाई चिन्नु नै अहम् चुनौती छ । यो चुनौती चिर्नु कुनै अग्निपरीक्षाभन्दा कम हुँदैन । हामीले आइमाई रूपलाई लेखनीमार्फत स्थापित नगर्दासम्म हाम्रा आवाज जिउँदा जाग्दा हुने छैनन् । हामीले हाम्रा कुरा नलेखे कसले लेखिदिन्छ ?
०००
देखाइ, भोगाइ, अध्ययन र लेखनले मलाई बोध गराएको छ, बच्चा जन्मनेबित्तिकै मान्छेले सबैभन्दा पहिला अनुहार हेर्दैनन् उसको टाङ हेर्छन् । सामाजिक मान्यता होस् वा धार्मिक मान्यता मान्छेको टाङमा आधारित भएर बनेको हुन्छ । मान्छेको सूक्ष्म मनोविज्ञानमा र उसको दृष्टिकोणमा पनि टाङले महत्त्व राखेको हुन्छ ।
टाङ हेरेपछि उसलाई गर्ने व्यवहार सुरु हुन्छ । सामाजिक मनोविज्ञान हरपल टाङ नै हेरिरहेको हुन्छ । समाज टाङको राजनीतिमा अल्झिरहेको हुन्छ । अन्तिम अवस्थामा पुगेको मान्छेको मात्र अनुहार हेरिन्छ । जीवन सकिने बेलामा मुख हेर्ने र जीवनको सुरुमा टाङ हेर्ने मानव प्रवृतिले देखेपछि मेरा कविता आकार लिन सल्बलाउँछन् ।
टाङको राजनीति आधुनिक होस् वा पुरातन, कट्टर होस् या स्वतन्त्र, धार्मिक होस् या अरू नै केही जुनसुकै समाजमा पनि असहज लाग्दो तरिकाले हुर्काइएको हुन्छ । यही विडम्बनाभित्र कविताले सौन्दर्ययुक्त जीवनको आग्रह गरिरहेको हुन्छ ।
पुरुष आँखाबाट गरिएको व्याख्यालाई सर्वोपरि ठानेर हामी उनीहरूले तोकेको रूप-कर्म विधान अनुरूप भयौं, हुन खोज्यौं, खोजिरहेछौं । स्त्रीयोचित गुण चिन्ने र त्यसलाई व्याख्या गर्ने भाषाको निर्माण नै भएन ।
साहित्य लिंगभेदी हुनु हुँदैन भनेर बारम्बार भन्ने गरिन्छ तर यो भनाइले व्यावहारिक आकार पाउन समाज कति परिस्कृत र सुसंस्कृत हुनुपर्छ भनेर हामीले बहस नै सुरु गरेका छैनौं । आफूले देखेका र भोगेका मीठा नमीठा सामाजिक विषयलाई उठाएर लेख्यो भने पनि पाठक र समालोचकले कलमको लिंग हेरेर समीक्षा गर्ने गरेका छन् ।
या त यो महिलावादी हो भनेर समीक्षा गर्छन् । या त साँघुरो घेरबाट उठेर लेख्नु नि भनेर समीक्षा गर्छन् । अर्कोतर्फ उनीहरू नै भन्छन्, कलमको लिंग हुँदैन । मलाई त लाग्न थालेको छ लेखनमा लिंगको सिर्जना गरिसकिएको छ । त्यही विषयलाई महिला लेखकले लेख्नु र पुरुष लेखकले लेख्नु हो भने समालोचना र टिप्पणीमा आकाश—जमिनको अन्तर हुनेछ ।
लेखकले लेख्दा म यो लिंगवादी हुन्छु भनेर नलेख्ला तर समालोचक र टिप्पणीकर्ताले सिर्जनामा लिंग ल्याएर टाँसिदिन्छन् । अनि लेखकको कित्ता छुट्टिने गरेको छ ।
०००
सोच्छु, कविता किन लेख्छु ? निकै समयसम्म आफैंलाई थाहा भएन किन लेखिरहेछु । अचेल लाग्न थालेको छ, आफैंलाई खोज्ने क्रममा कविताको सहारा लिएकी रहेछु । यही खोजाइको क्रममा भौतारिएँ आफैंभित्र ।
अब लाग्न थालेको छ, समाज र धर्मले व्याख्या गरेजस्तो महान् महान या निच रूप मभित्र कति छ अझै भन्न सक्तिनँ किनकि यो व्याख्या अरूले गरिदिएको हो । तर, यति बोध भएको छ, एउटी स्त्री अर्थात् आइमाई मभित्र निदाएकी छे । जो शदीयौंदेखि दर्शनका ठेलीहरूले पुरिएकी थिई ।
परम्पराका पाउजुले बाँधिएकी थिई । कविताका बिम्बले सिंगारिएर हलचल गर्न नसक्ने भएकी थिई । मैले देखेँ मभित्रकी त्यो आइमाई । बेलाबेलामा ब्युँझाउन खोज्छु मभित्रकी आइमाई आफ्नो आदिम रूपबाट आँखा खोलेर पुलुक्क मतिर हेर्छे । उसले हेर्दा आगोको ज्वालाजस्तो निस्कन्छ । अनि धर्मराउँछु ।
कहिले समुद्रको आँधीजस्तो चल्मलाउँछे । अनि म डराउँछु । कहिले शान्त आकाशजस्तो देखिन्छे, कहिले चराको गीतजस्तो सुनिन्छे । कहिले प्रकृतिजस्तै सुन्दर देखिन्छे । कहिले बाघजस्तो गर्जन्छे ।
मभित्रकी त्यही स्त्री अर्थात् आइमाईलाई मेरो हृदये माझमा राखेर सम्बोधन गर्छु कवितामार्फत ।