महिनैपिच्छे सकस
'होइन ए दिदी हामी पनि यो महिनावारीविरुद्ध अनशन बस्न मिल्दैन ? ' सहकर्मी एक बहिनीको प्रश्न सुनेर चकित परेँ । महिनावारीप्रति उनको आक्रोश अचम्मलाग्दो थियो । पछि थाहा पाएँ, मासिक रजस्वलामा हुने पीडाले उनले यसो भनेकी रहिछन् । एकातिर रजस्वलालाई लिएर बनाइएका सामाजिक विश्वास र परम्परा छन्, अर्कोतर्फ शारीरिक पीडा ।
'महिनाको तीन/चार दिन त बरु बाँचेभन्दा मर्नु नै जाति जस्तो लाग्छ दिदी' उनले पीडा पोखिन् । यसको उपचार पनि उनले नगरेकी होइनन् । स्त्रीरोग विशेषज्ञ सानुमैयाँ दलीको परामर्शमा औषधिसेवन पनि गरिरहेकी छिन् । तर यो मासिक पीडाको कारण उनले पनि पत्ता लगाएकी छैनन् । डाक्टरले औषधि खाँदै गर्नु विस्तारै निको हुँदै जान्छ भनेर आश्वासन त दिएकी छिन् तर यस्तो पीडा कहिलेसम्म सहनुपर्ने हो, अन्योल कायम नै छ ।
आस्थाबेरी कम्पनीको सेल्स विभागमा काम गर्ने स्नातक अध्ययनरत नयाँठिमीकी एलिना श्रेष्ठ त रजस्वलाको दुई दिन त अफिसमा बिदा लिएर नै बस्ने गरेको उनले बताइन् । २१ वर्षीया अनिता श्रेष्ठले त महिनावारी भएकै कारण आफ्नो जागिर गुमाउनुपरेको थियो । एक कपडा पसलमा काम गर्ने गरेकी अनिताले महिनावारी हुँदा अत्यधिक पेट दुखेर दुई दिन सिभिल अस्पतालमा नै भर्ना हुनु परेको थियो । पछि काममा जाँदा उनको सट्टा अर्कै मानिस राखिसकेको थियो ।
विद्यालय र कलेज गएका बेलामा पनि महिनावारीको क्रममा हुने पीडाले पढाइमा बाधा पुगेको पाइन्छ । घरबाट राम्रै अवस्थामा हिँडे पनि कक्षामा पेट दुखेर असैह्य भएपछि धुरुधुरु रोएको प्रविता न्यौपानेको अनुभव छ । खुमलटारस्थित यल इन्स्टिच्युट अफ हेल्थ साइन्समा ल्याब टेक्निसियन अध्ययनरत प्रविताले कलेजमा मागेर औषधि खाँदा पनि सहज नभएको बताइन् । कक्षामा अन्य साथीहरूलाई पनि महिनावारी हुँदा निकै गाह्रो हुने भएकाले साथीहरूले नै एकअर्कालाई सहयोग गर्ने, औषधि र तातोपानी अफिसबाट मागेर ल्याउने, साथीको कापीमा नोट सारिदिने र परिआएको अवस्थामा घरसम्म पुर्याइदिनेसमेत गरेको बताइन् ।
महिनावारी हुँदा पेट दुख्नेमात्र नभई, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी हुने लगायतका समस्या भए तापनि विद्यार्थीले लाज र डरका कारणले आफ्ना समस्या खुलस्त भन्न नसक्ने गरेको पाइन्छ । रजस्वलाको क्रममा कपडा वा प्याडलाई पनि सही समयमा नफेर्दा जननेन्द्रीय चिलाउने, सेतो पानी बग्ने, संक्रमण हुनेलगायतका समस्या उत्पन्न गराउने विज्ञहरू बताउँछन् ।
किन हुन्छ पीडा ?
महिनावारी हुँदा पेट दुख्नेलगायतका समस्या सामान्य भए तापनि अहिलेका पुस्तामा सहन सक्ने क्षमता कम भएकाले पनि बढी दुखेको अनुभूति हुने गरेको काठमाडौं मेडिकल कलेजकी स्त्रीरोग विशेषज्ञको धारणा छ । धेरै नै दुखेर सहनै नसक्ने भएमा नदुख्ने औषधि खाने, तातोपानी खानुको साथै तातोपानीले सेक्न पनि उनले सुझाव दिइन् । त्यसैगरी पाठेघरको आकारको कारण पनि पेट दुखाइ बढी हुन सक्ने भएकाले अल्ट्रासाउन्ड गराउनुको साथै स्त्री रोग विशेषज्ञलाई जाँच गराएर समयमै समस्याको समाधान गर्नुपर्ने पनि उनले बताइन् । विवाह भएपछि पाठेघरमा बच्चा बसेपछि यसको आकार मिल्दै जाने हुनाले महिनावारी हुँदा पेट दुखाइ पनि कम हुँदै जाने उनको भनाइ छ ।
धुलिखेल अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सुमनराज मानन्धरका अनुसार महिनावारीमा हुने पीडालाई मेडिकल भाषामा 'डिस्मेनोरिया' भनिन्छ । यस्तो अवस्थामा किशोरी र युवा महिलामा पाठेघरमा रगतको प्रवाहमा अवरोध खडा भएर वा प्रवाह एकै प्रकारको नभएर पेट दुख्ने गर्छ । यस्ता खालका समस्यालाई 'प्राइमरी डिस्मेनोरिया' भनिन्छ भने विवाह भइसकेका, बच्चा भइसकेका र उमेर ढल्केका महिलामा रगत प्रवाह बढी भएकाले हुने समस्यालाई 'सेकेन्डरी डिस्मेनोरिया' भनिन्छ । पाठेघरको भित्री भागमा मासु पलाउँदा, परिवार नियोजनका अस्थायी साधन कपर टी राख्दा र सुत्केरी भएपछि साल पूरै ननिस्केर ट्युमरजस्तै बनिबस्दा पनि पेट दुखाइ बढ्न जान्छ ।
किशोरीहरूमा रहेको समस्यालाई भिडियो एक्सरे गरेर हेर्दा पनि पत्ता नलाग्ने डा. मानन्धरको भनाइ छ । परिवारमा आमा र सरोदर दिदीबहिनीलाई यस्तो समस्या छ भने दुखाइ बढी हुन सक्ने भए तापनि यो समयको क्रमसँगै विस्तारै कम हुँदै जाने उनले बताए । विद्यालय र कलेजहरूमा महिलामैत्री शौचालय नहुँदा पनि समस्या हुने गर्छ ।
शौचालयमा पानी नहुने, चुकुल नहुने आदि समस्याले गर्दा उनीहरूले आफूहरूलाई सधैं असुरक्षित नै महसुस गरिरहने र यही समस्या अरूलाई खुलेर भन्न नसक्दा पनि मानसिक पीडा बढी हुने मनोविद् डा. अनिता तामाङको भनाइ छ । उनका अनुसार किशोरीहरूले शारीरिक रूपमा भएको पीडालाई पनि सहन सक्ने क्षमतासम्म सहेर नै बस्छन् र नसक्ने भएपछि रुने कराउने गर्छन् । घनिष्ठ साथीलाई भएको पीडाको मानसिक प्रभाव परेर पनि बढी पीडाबोध हुने उनको तर्क छ ।
संस्थाको साथ
महिनावारीमा हुने विद्यार्थीका यस्तै समस्याको समाधान खोज्ने काम गर्दै आएको छ गुल्मीस्थित सेवा सञ्चारले । संस्थाले सुरु गरेको विद्यालय सुरक्षित महिनावारी राष्ट्रिय अभियानमा हाल थुप्रै विद्यालय र संघसंस्थाले समेत ऐक्यबद्धता जनाइसकेकाले यस अभियानलाई देशका अन्य भागमा पनि विस्तार गर्दै लगिने संस्थाकी अध्यक्ष गंगा खड्काले बताइन् ।
२०६८ सालदेखि नै सुरु भएको संस्थाले जिल्लाका विभिन्न विद्यालयमा रजस्वलाको समयमा अपनाउनुपर्ने सावधानी र सरसफाइबारे सिकाउने गर्छ । जिल्लाको ११ वटा सामुदायिक विद्यालयमा संस्थाले आफ्नो कार्यक्रम सञ्चालन गरिसकेको छ । हरेक विद्यालयमा महिला शिक्षिका संयोजक र प्रधानाध्यापक संरक्षक रहने गरी सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल गठन गरिएको छ । कार्यक्रमको प्रभावले अहिले कैलाली, दाङ, अर्घाखाँची, कास्की, तनहुँ, बाजुरालगायतका जिल्लामा पनि सञ्जाल गठन भएको गंगाले बताइन् ।
बालुवाटारस्थित मित्र समाजले पनि विगत दुई वर्षदेखि 'मितिनी' कार्यक्रममार्फत विद्यार्थीमाझ महिनावारी हुँदाका पीडा र समस्याबारे जनचेतना जगाइरहेको छ । राजधानी काठमाडौंबाट नजिकै भए तापनि भक्तपुर र ललितपुरका विकट ठाउँहरूमा अझै पनि चेतनास्तर नउठ्दा रजस्वलाको क्रममा विद्यार्थीले समस्या भोगिरहेकाले यस्तो कार्यक्रम सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष विवेकसिंह ठकुरीले बताए ।
पीडा घटाउन के गर्ने
१. अत्यधिक पीडामा सिटोमोल, ब्रुफिन, निम्सजस्ता पेनकिलर औषधि खान सकिन्छ । यस्ता औषधिले विवाह पछि गर्भ रहनमा कनै समस्या ल्याउँदैनन् ।
२. एक्लै भएको बेलामा सबै ध्यान पीडामै केन्द्रित हुँदा धेरै पीडाबोध हुन्छ । त्यसैले फिल्म हेर्ने, संगीत सुन्ने, किताब पढ्ने आदि गरेर एक्लोपन हुनबाट जोगिनु बेस हुन्छ ।
३. मनतातो पानीको सेवन र तातो पानीले पेट सेक्दा दुखाइ कम हुन्छ ।
४. केही हर्बल चियाले पनि दुखाइ कम गराउने हुनाले बेलाबेलामा चिया पिउनु लाभदायक हुन्छ ।
५. प्रशस्त पोषिलो खाना खाने, पानी बढी पिउने गर्नुपर्छ ।
६.स्त्री रोग विशेषज्ञसँग जाँच गराई आवश्यक परामर्श लिनु उचित हुन्छ ।