समावेशी परिवार
गोरी, सुन्दर र शालीन । छरितो जीउमा सेतो रेशमी कपालले सुन्दरता भरिदिएको छ । लाम्चो अनुहारमा चुच्चो नाक सुहाएको छ । 'यी सुन्दरी कुइरिनीको प्रेममा परेको मैले पत्तो पाइनँ', मनोज सुजीले यसो भनिरहँदा उनकी 'कुइरिनी' हेर्न आतुर थिएँ म । पछि नाम खोजेँ फेसबुकमा- 'सारा' ।
'सारा'लाई मनोजले त्रिभुवन विश्वविद्यालयको 'स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम'मा भेटेका रहेछन् । अमेरिकाबाट नेपाल आएर विभिन्न गतिविधिमा सक्रिय साराले मनोजलाई इमानदार भएकैले होला, मन पराइन् । आफ्नो फेसबुकमा मनोजलाई बारम्बार इमानदार लेखेकी छन् उनले । 'दुवैको रोजाइ उस्तै भएकाले होला, हामीले एकअर्कालाई मन परायौं', मनोजले भने ।
'सोसल साइक्लोजी' पढेकी सारा अहिले विद्यावारिधि गर्दैछन् भने युनिभर्सिटी अफ जर्जियामा असिस्टेन्ट प्रोफेसरका रूपमा अध्यापन पनि गर्छिन् । त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर गरेका मनोज अहिले समकालीन शैक्षिक विषयमा अनुसन्धानरत छन् । भूकम्पको समयमा नेपालमै बसेर काम गरेकी सारा नेपालमा शिशुहरूलाई कसरी खुवाउने भन्ने 'नाटाल फिडिङ' कार्यक्रममा पनि संलग्न छिन् ।
विदेशी चेली विवाह गरेका भोजपुर चौकीडाँडाका मनोजको कथा अनौठो लागे पनि उनका लागि भने यो नौलो होइन । 'मेरो परिवारलाई अन्तर्राष्ट्रिय समावेशीकरण भन्ने गर्छु साथीहरूसँग', ठट्यौली गर्दै मनोजले भने । हुन पनि उनको परिवारमा भारतीय, अमेरिकनमात्रै होइन, क्षेत्री-बाहुन र मंगोलियन समुदायका बुहारी र ज्वाइँ भित्रिएका छन् । समाजले कथित तल्लो 'दमाईं' जात भनेर हेप्ने यो परिवार समावेशीकरणको उदाहरण बनेको छ ।
समाजमा अझै पनि प्रेमभन्दा नाक खुम्चाउनेको कमी छैन । तर, यो परिवारको निम्ति प्रेम नौलो विषय होइन । प्रेमविवाह र अन्तर्जातीय विवाहको शृंखला नै पाइन्छ यो परिवारमा । मनोजकी जेठी दिदी ललिताको स्थानीय केशवबहादुर अधिकारीसँग विवाह भएको थियो ।
त्यो विवाह अनौठो भएको थियो । उनीहरूले प्रेमसम्बन्ध सार्वजनिक गरेका थिएनन् । तत्कालीन माओवादीको एक हूलले अनौठो रेकर्ड राखेर विवाह गरिदियो उनीहरूको । विवाह समारोहमा समाज डाकेर सबैको बीचमा राखी बेहुलाबेहुलीलाई निर्मम कुटपिट गरेका थिए माओवादीले । धुकधुकीमात्रै बाँकी भएका बेहुलाबेहुलीलाई आफैं जन्ती बनेर बेहुलाको घरसम्म पुर्याएका थिए उनीहरूले । अहिले त्यो जोडीको छोरा १० वर्षको भइसकेको छ । उनीहरूको वैवाहिक जीवन रमाइलो र सुखद भएको मनोजको ठम्याइ छ ।
उनकी अर्की दिदी ताराले भने भारतीय मूलका मानिससँग विवाह गरेकी छन् । गोरखपुर घर भएका भिनाजुसँग विवाह भए पनि खासै धेरै आउजाउ नहुने उनले बताए । कान्छी बहिनी जुनुले भने स्थानीय जुद्ध राईसँग विवाह गरेकी छन् । कलेज पढ्दै गरेकी जुनुका पति अहिले वैदेशिक रोजगारको सिलसिलामा परदेशमा छन् ।
तीन दाजुभाइमध्ये मनोज कान्छो हुन् । जेठाले स्वजातीय विवाह गरे । अरू सबैको अन्तर्जातीय । माहिलाको विवाह मोरङकी राईसँग भयो । वैदेशिक रोजगारका लागि दुबई पुगेका महेन्द्रले कामकै सिलसिलामा दुबई पुगेकी राई थरकी युवती भेटे । माया लगाए, बिहे गरे ।
गाउँमा साहसी र आँटिली भनेर चिनिने मनोजकी आमा घरको समावेशी चरित्रबाट खुसी नै रहेको उनले बताए । भने, 'सुरुदेखि नै उहाँले हामीलाई आफूखुसी गर्न छुट दिनुभयो । हाम्रो परिवार स्वतन्त्र थियो पहिलादेखि नै ।'
त्यसो त समाजमा कुरा काट्ने मानिस नभएका होइनन् । तर, मनोज त्यसलाई सहज रूपमै लिन्छन् । भन्छन्, 'हरेकको आफ्नै सोचाइ हुन्छ । मान्छेले जसरी खुसी मिल्छ त्यस्तै गर्नुपर्छ । सबैको मूल्यांकन गर्ने र जीवन जिउने शैली एउटै हुँदैन ।'
आधुनिक समाजमा यस्तो प्रसंग सामान्य बनिसकेको छ । जातीयतालाई महत्त्व नदिने हो भने यस्तो परिवार जोकहीँकोमा पनि सम्भव हुनसक्छ । मानिसबीचका विभेदका पर्खालहरू यसरी नै भत्किँदै जाने हुन् आखिर । सुरु त सबैले आफैंबाट गर्नुपर्छ । त्यसको एउटा उदाहरण बनेको छ मनोजको समावेशी परिवार ।
खुसीसाथ विवाह भएको भान्जो १० वर्ष जतिको भइसक्यो । प्रमिला घरमा छिन् । उनको विवाह भएको छैन । काइँली दिदी कमलाले भारतीयसँग विवाह गरेकी हुन् । गोरखपुरतिरका मान्छेसँग विवाह गरेका हुन् । तारा माइली, उनको घर झापामा छ । निर्मला नाम गरेकी दिदीको मृत्यु भयो । कान्छी बहिनी जुनु । गाउँमा बस्दा नजिकैको छिमेकीसँग उनको विवाह भयो ।