गुणराजको ‘जलेको मन’ बजारमा
काठमाडौँ: लामो समयदेखि अमेरिकामा रहेका पत्रकार गुणराज लुइटेलको कविता संग्रह ‘जलेको मन’ सार्वजनिक भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाद्वारा शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतीले कृति विमोचन गरे ।
साहित्य समाजलाई चिनाउने विशिष्ट विषय भएकाले साहित्यको प्रवर्द्धन गर्न साहित्यकारले विशेष भूमिका खेल्नुपर्ने प्रमुख अतिथि उप्रेतीले बताए। ‘नेपाली साहित्यलाई विदेशमा रहेर पनि माया गरेकोमा खुसी छु,’ उप्रेतीले भने, ‘नयाँ विधामा पनि साहित्य सिर्जना गर्न हौसला मिलोस् ।’
विमोचित कृतिमाथि समीक्षा गर्दै प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले भने, ‘कविले अमेरिकामा बसेर पनि नेपाली जनताको दुःख र वेदनालाई छर्लङ्ग पारेका छन् ।’ समालोचक लुइटेलले नेपाली साहित्यको विकास गर्न साहित्यकारले कठोर मिहिनत गर्नुपर्नेमा समेत जोड दिए ।
कार्यक्रमका सभापति एवम् समाजका अध्यक्ष राधेश्याम लेकालीले कविता संग्रहमा नेपाली समाजका विकृति र विसंगतिलाई स्पष्ट पारिएको बताए ।
कृति विमोचन कार्यक्रममा साहित्यकार जय छाङ्छा र समाजकी महासचिव सन्ध्या पहाडीलाई सम्मान गरिएको छ ।