पोर्चुगलसँग हार्यो अर्जेन्टिना
रियो दि जेनेरियोः ओलम्पिक खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा पोर्चुगल, होन्डुरस, दक्षिण कोरिया र नाइजेरियाले आआफ्नो पहिलो खेलमा सफलता हात पारेका छन् । पोर्चुगलले बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २-० गोलले हरायो भने होन्डुरसले अल्जेरियामाथि ३-२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो ।
दक्षिण कोरियाले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी फिजीमाथि ८-० गोलको जित हात पार्यो भने विमानबाट ओर्लनासाथ आफ्नो पहिलो खेल खेल्न रंगशाला पुगेको नाइजेरियाले एसियाली टोली जापानलाई ५-४ गोलले पाखा लगायो ।
शुक्रबार नै भएको आफ्नो पहिलो खेलमा इराकले बलियो डेनमार्कलाई गोलरहित बराबरीमा रोक्यो भने घरेलु मैदानमा उपाधि जित्ने अभियानमा रहेको आयोजक राष्ट्र ब्राजिल पनि दक्षिण अफ्रिकासँग गोलरहित बराबरीमै रोकियो । बलियो टोली जर्मनी पनि मेक्सिकोसँग २-२ गोलको बराबरीमा चित्त बुझाउन बाध्य भयो । अर्को खेलमा कोलम्बियाले स्विडेनलाई २-२ गोलको बराबरीमा रोक्यो ।
समूह ‘डी' अन्तर्गतको अर्जेन्टिनाविरुद्घको खेलमा पोर्चुगलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ६६ औं मिनेटमा गोन्सालो पासिन्सियाले पोर्चुगलका लागि पहिलो गोल गरे । ८४ औं मिनेटमा पाइटले टोलीको अग्रतालाई दोब्बर बनाएका थिए । उक्त खेलमा स्पेनिस ला लिगा क्लब एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनका छोरा जियोभानी पनि मैदानमा ओर्लिएका थिए ।
अर्जेन्टिनाले दोस्रो खेल आगामी आइतबार अल्जेरियासँग खेल्नेछ भने पोर्चुगलले सोही दिन होन्डुरसको सामना गर्नेछ । सोही समूहको अल्जेरियाविरुद्घको खेलमा होन्डुरसका लागि रोमेल क्विटो, मार्सेलो पेरेइरा र एन्थोनी लोजानोले एकएक गोल गरे । पराजित टोली अल्जेरियाका लागि भने सोफिन बेनडेब्का र बाघडाड बुनेजाले एकएक गोल गरेका थिए ।
यसैगरी समूह ‘सी' अन्तर्गतको फिजीविरुद्घको खेलमा दक्षिण कोरियाका लागि सुङ उ रिउले ह्याट्रिक गरे । चाङ हुन क्वन र ह्युन जुन सुकले पनि टोलीका लागि दुई गोलको योगदान गरे । अर्को एक गोल ह्युङ मिन सनले गरेका थिए । सोही समूहको अर्को खेलमा मेक्सिकोले प्रारम्भदेखि नै जर्मनीलाई गतिलो चुनौती दियो । खेलमा अग्रता पनि मेक्सिकोले लिएको थियो ।
मेक्सिकोका लागि ५२ औं मिनेटमा ओरिब पेराल्टाले पहिलो गोल गरे । ५९ औं मिनेटमा जर्मनीका सर्जीले खेल बराबरीमा ल्याए । ६२ औं मिनेटमा रुडोल्फो पिजारोले पुनः मेक्सिकोलाई अग्रता दिलाए । खेल अत्यन्तै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको बेला ७८ औं मिनेटमा म्याथियस गिन्टरले जर्मनीका लागि जवाफी गोल गर्दै टोलीलाई सम्भावित हारबाट जोगाए ।
यसैगरी समूह ‘बी' अन्तर्गतको जापानविरुद्घको खेलमा नाइजेरियालाई प्रतिस्पर्धात्मक जित दिलाउन ओघेनकारो एटेबो एक्लैले चार गोलको योगदान गरे । अर्को एक गोल भने उमर सादिकले गरेका थिए ।
नाइजेरियाको टोली विमानबाट ओर्लिएको केही समयपछि आफ्नो पहिलो खेल खेल्न रंगशाला पुगेको थियो । पराजित टोली जापानका लागि भने सिन्जो ओरोकी, ताकुमी मिनामिनो, ताकुमा असानो र मुसासी सुजुकीले एकएक गोल गरेका थिए ।
सोही समूहको कोलम्बियाविरुद्घको खेलमा स्विडेनका लागि मिकेल इसाक र आस्ट्रिट अजारेभिचले एकएक गोल गरे । कोलम्बियाका लागि भने टोफिलो गुटिरेज र डोर्लान पाबोनले एकएक गोलको योगदान गरे । यसैगरी समूह ‘ए' अन्तर्गतको खेलमा घरेलु टोली ब्राजिलले दक्षिण अफ्रिकाविरुद्घ गतिलो प्रदर्शन गर्न सकेन ।
ओलम्पिक फुटबलमा पहिलो स्वर्णको खोजीमा रहेको ब्राजिलका नेमारले खेलका क्रममा विपक्षीको पोस्टमा केही गतिला प्रहार गरे पनि गोल भने गर्न सकेनन् ।