प्रदर्शनी खेलमै सनसनी
नेपालमा मार्र्सल आर्ट गेम्स भित्रिएको साढे तीन दशक पनि पुगेको छैन । मार्सल आर्ट गेम्सकै राजा मानिने तेक्वान्दो खेल नेपालमा २०३९ साल फागुन १६ गते पहिलो पटक दशरथ रंगशालामा प्रदर्शनी खेलको रूपमा खेलिएको थियो । विभिन्न व्यक्तिले लुक्दै, छिप्दै, खेल्दै आएको तेक्वान्दो खेललाई तत्कालीन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव शरदचन्द्र शाहको पहलमा प्रवेश गराइएको हो ।
फुटबल दर्शकलाई थप मनोरञ्जन दिने हिसाबले दशरथ रंगशालामा फुटबल खेलको हाफ टाइममा तेक्वान्दोको प्रदर्शनी खेल खेलाइएको थियो । त्यतिबेला नेपालमा एकमात्र ब्ल्याक बेल्ट (वरिष्ठ डान प्रमाणपत्र) धारी खेलाडी थिए, प्रदीप जोशी (टेकराज ) । प्रदीपले प्रदर्शनी खेलमै दशरथ रंगशालामा सनसनी मच्चाए । उनको किकले सयौं नेपालीको मन त्यतिबेलै तानेको थियो ।
तेक्वान्दोमा चार दशक बिताएका उनै ५२ वर्षीय प्रदीप अहिले प्रदीप गुरुको नामले नेपाली तेक्वान्दोमा परिचित छन्् । पाको उमेरमा पनि उनको शारीरिक बनावट लोभलाग्दो छ । उनी यसलाई तेक्वान्दोको कमाल भन्न रुचाउँछन् । नेपाली तेक्वान्दोमा पहिलो पुस्ताका प्रदीपको तेक्वान्दो खेलभित्रकै आरोह र अवरोह झनै बेजोडको छ ।
नेपालको विकट पहाडी जिल्ला डोटीमा जन्मिएका प्रदीपको बाल्यकाल उनका बुबा रामचन्द्र जोशीको जागिरसँगै बित्यो । 'मेरा बुवा त्यतिबेला सरकारको उच्चपदस्थ कर्मचारी हुनुहुन्थ्यो । बुबा जहाँ जानुभयो, मेरो पढाइ पनि त्यही हुन्थ्यो । मेलै बुबाकै सहयोगमा पढाइ र तेक्वान्दो खेललाई सँगै अगाडि बढाएँ', उनले विगत कोट्याए ।
भारतमा बस्दा उनी तेक्वान्दोका धुरन्धर खेलाडी भइसकेका थिए । उनले त्यतिबेलै भारतमा ब्ल्याकबेल्ट लिएका थिए । नेपालमा उनले नेपाली सेना र प्रहरीलाई पनि तेक्वान्दो सिकाउन थाले ।
२०३५ सालमा देशभर विद्यार्थी आन्दोलन सुरु भयो । त्यतिबेला प्रदीप स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा पढ्दै थिए । विद्यार्थी आन्दोलनमा लागेको भन्दै तत्कालीन पञ्चायतले उनलाई स्कुलबाट निस्कासन गर्यो । सानैदेखि प्रजातान्त्रिक चेत भएकाले उनी भारत गए ।
भारतबाटै एसएससी र आईए पढेर २०३९ सालमा नेपाल फर्किए । भारतमा बस्दा उनी तेक्वान्दोका धुरन्धर खेलाडी भइसकेका थिए । उनले त्यतिबेलै भारतमा ब्ल्याकबेल्ट लिएका थिए । नेपालमा उनले नेपाली सेना र प्रहरीलाई पनि तेक्वान्दो सिकाउन थाले ।
१९ वर्षकै उमेरमा ब्ल्याकबेल्ट पाएका प्रदीप दक्षिण एसियाली देशमामा ब्ल्याकबेल्ट पाउने तेस्रो व्यक्ति थिए । त्यसअघि नेपाली मूलका भारतीय नागरिक एवं ब्रिटिस आर्मी पूर्ण गुरुङ र भारतीय तेक्वान्दो संघका पूर्व अध्यक्ष जिमी आर जगतियानीको मात्र तेक्वान्दोको ब्ल्याकबेल्ट थियो ।
तर भारतमा ब्ल्याकबेल्ट प्रमाणपत्र पाए पनि उनलाई नेपालमा आएर ब्ल्याकबेल्टको पुनः परीक्षा दिन लगाइयो । 'मैले एउटै बेल्टका लागि दुई पटक परीक्षा दिनु पर्यो । शरदचन्द्र शाह त्यतिबेला राखेपका सशक्त सदस्यसचिव । म डेमोक्र्याट भन्ने उनलाई राम्रोसँग थाहा थियो । त्यसैले मेरो ब्ल्याकबेल्टलाई मान्यता नदिने निर्णय गरियो ।
त्यतिबेला शरदचन्द्र र कोरियन गुरु जेके सिनले नेपालमा तेक्वान्दो खेलको विकासको शुभारम्भ गरेका थिए । मलगायत अमर श्रेष्ठ, दीपराज गुरुङ, सित्कर राजभण्डारी, एकनाथ थापालगायतले तेक्वान्दो खेलका लागि सकेको सहयोग गर्दै गयौं,' प्रदीपले विगत सम्झिए ।
पहिलो पुस्ताका भएकाले पनि हामीलाई खेल्नभन्दा सिकाउनमै प्रमुख भूमिका हुन्थ्यो । जेके सिनकै नेतृत्वमा हामी सामूहिक रूपमै विधान लामालाई तेक्वान्दो सिकायौं । विधानलाई तेक्वान्दो सिकाएर ओलम्पिकसम्म पुर्याउन पाउनु मेरो पनि जीवनको खुसीको क्षण थियो, नेपाली मार्सल आर्ट गेम्सका संस्थापक सदस्य प्रदीप भन्छन् ।
प्रदीप २०४० सालमा राखेपको प्रशिक्षक भए । उनलाई २०४० सालमै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गराउन सप्तरी पठाइयो । उनले प्रशिक्षकको रूपमा पूर्वदेखि पश्चिमको धनगढीसम्म तेक्वान्दो सिकाउँदै गए । उनले धनगढीमा तेक्वान्दो सिकाउँदै थिए ।
त्यतिबेला गणतन्त्रका पक्षधर रामराजाप्रसाद सिंहको कार्यकर्ता (राम कार्की) लगायतले राष्ट्रिय पञ्चायत भवन र अन्नपूर्ण होटेलअगाडि बम पड्काएछन् । रामराजा प्रसादको कार्यकर्ता बमकाण्डमा पक्राउ परेपछि प्रदीपलाई नसोचेको विपत्ति आइलाग्यो ।
'पक्राउ परेका व्यक्ति राम कार्कीले प्रदीपले राजविराजमा दुई वर्षअघि मलाई तेक्वान्दो खेल सिकाएको भनेर प्रहरीमा बयान दिएछन् । बयानकै आधारमा शरदचन्द्रले मलाई समेत पक्राउको आदेश दिएछन् । तेक्वान्दो सिकाएको बहानामा म माथि अर्को आपत्ति आइलाग्यो', उनले भने ।
त्यतिबेला मार्सल आर्ट गेम्स सिक्न र सिकाउन कठिन थियो । सिक्न र सिकाउन चाहनेले गाउँ पञ्चायत, जिल्ला प्रशासन, क्षेत्र, आर्मी, प्रहरी, अनुसन्धान विभागजस्ता दसौं ठाउँमा फोटो टाँसेर फर्म भर्नुपर्ने र स्वीकृति पाएमात्र खेल्न र खेलाउन पाइने थियो, उनले भने ।
रामराजाको बमकाण्डपछि प्रदीपको शरदचन्द्र शाहसँग ठूलो टकराव भयो । उनले २०४३ सालमा फेरि भारतमा प्रवास जीवन बिताउन पर्यो । दोस्रो पटक भारतमा गएपछि उनले लखनउको क्रिस्टिएन कलेजबाट बाँकी पढाइ पूरा गरे । फिजिकल फिटनेसमा स्नातक गरेका प्रदीपले प्रवासमै रहेर तेक्वान्दो खेल प्रशिक्षणलाई पनि थप माथि पुर्याए ।
'प्रवास मेरा लागि झनै अवसर भयो । भारतको बरेली, नैनीताल, पिथौरागढ, मुरादावादलगायत स्थानमा तेक्वान्दो सिकाउन पाएँ । बरेलीमा भारतीय सेना र प्रहरीको क्याम्पमा तेक्वान्दो सिकाउन पाएँ । यसले मेरो तेक्वान्दो खेलको लगाव थप बढायो', उनी भन्छन् ।
२०४६ सालमा नेपालका जनआन्दोलन सुरु भयो । प्रवासमा रहेका नेपालीसमेत स्वदेश फर्कन थाले । प्रदीपले पनि कैलाली मसुरियाको घरमा फर्किएर स्वदेशमै केही गर्ने योजना बनाए । उनले कैलालीमा तेक्वान्दो प्रशिक्षक केन्द्र खोले र आन्दोलनमा पनि सहभागी भए । त्यतिबेला कैलालीमा तेक्वान्दो सिक्न भारतका खेलाडीसमेत आउने जाने गर्दथे ।
आन्दोलनमा लाग्न जोस बढाउनका लागि पनि तेक्वान्दो खेल्न नेपाली युवा लालायित हुन्थे । जनआन्दोलनपछि बनेको नेपालको नयाँ संविधानपछि मार्सल आर्ट गेम्सअन्तर्गत कराँते, जुडो, तेक्वान्दोजस्ता छुट्टाछुट्टै खेल संघ गठन हुने क्रम सुरु भयो । मार्सल आर्ट गेम्स खेल्न र खेलाउन प्रशिक्षक र खेलाडीलाई सजिलो भयो ।
प्रदीपले प्रशिक्षण केन्द्रसँगै धनगढीमा इँटाभट्टाको व्यवसाय पनि थाले । २०५२ सालमा सुरु भएको तत्कालीन माओवादी जनयुद्धले फेरि प्रदीपको प्रशिक्षण र व्यवसायलाई धक्का दियो । उनलाई माओवादी जनयुद्धमा सहयोग गर्नुपर्ने भन्दै धम्की आउन थाल्यो । त्यसबेला उनको घरमा लाइसेन्स प्राप्त बन्दुक राखिएको थियो ।
माओवादीले उनको बन्दुक र गोली नै खोसेर लगे । उनको माओवादीसँग दोहोरो भिडन्तसमेत भयो । भिडन्तमा उनलाई गोली पनि लाग्यो । धनगढीमा बस्न नसक्ने भएपछि २०५३ सालमा काठमाडौं आएका प्रदीपको तेक्वान्दो मोह भने सेलाएन ।
उनीलगायत तेक्वान्दो खेल प्रेमीहरूले अखिल नेपाल तेक्वान्दो संघ (एन्टा) खोलेर तेक्वान्दो खेलको विकास र विस्तारमा लाग्ने अठोट गरे । पछि एन्टा र नेपाल तेक्वान्दो संघ एकै ठाउँमा गाँभेर नेपाल तेक्वान्दो संघमै रहने सहमति भयो । प्रदीप अहिले संघको उपाध्यक्ष, युनिभर्सिटी तेक्वान्दो फेडेरेसनको उपाध्यक्ष र विश्व विद्यालय खेलकुद संघको अध्यक्षको रूपमा खेलकुद गतिविधिमा सक्रिय छन् ।
नेपाली राजनीतिक घटनाक्रमले खेलकुदमा पारेको प्रत्यक्ष असरका भुक्तभोगी प्रदीप नेपाल खेलकुद अझै विगतको भन्दा फरक नभएको तर्क गर्छन् । 'नेपाली खेलकुदमा पात्र मात्र फरक हो, प्रवृत्ति सधैं उस्तै छ । खेलकुद भनेको गतिशील हुनुपर्छ । पूर्वाधार, पद्धति, प्रशिक्षण, प्रतियोगिता, पारदर्शिता र पुरस्कार खेलकुदका मेरुदण्ड हुन् । तर यसलाई सबैले नारामा मात्र सीमित गर्नु दुर्भाग्य भयो', उनी भन्छन् ।
नेपालमा पहिला प्रशिक्षकलाई विज्ञानसँग आधारित बनाएर लैजान सकेमात्र खेलाडीको प्रदर्शनमा सुधार आउने उनको बुझाइ छ । नेपालमा तेक्वान्दो खेल विगतभन्दा झनै खस्कियो नि ? भन्ने पछिल्लो जिज्ञासामा उनले भने–तेक्वान्दोमात्र होइन, सबै खेलको अवस्था नाजुक छ ।'