साउन २५ गते दुई राप्रपाको एकता घोषणा सभा
![साउन २५ गते दुई राप्रपाको एकता घोषणा सभा](https://annapurnapost.prixacdn.net/media/albums/Kamal-thapa-vs-Pasupati-s-r-57a5d7bdf0eb63.53154691_Euw13pnkqi.jpg)
काठमाडौँः साउन २५ गते राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा हुने भएको छ।
लामो समयको छलफलपछि कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शम्शेर राणा नेतृत्वको राप्रपाबीच एकीकरण घोषणा सभा गर्ने निश्चित भएको हो।
एकताको घोषणा २५ गते हुने जानकारी दिदै राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले अन्नपूर्ण अनलाइनसँग भने, ‘शनिबार दुवै पार्टीका अध्यक्षले एकता सम्बन्धि विभिन्न ९ बुँदा समेटिएको पत्रमा हस्ताक्षर गर्नुभएको छ ।’
दुवै पार्टीको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि दुवै पार्टीका अध्यक्षले ९ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेको श्रेष्ठले बताए । ९ बुँदे सहमतिमा पार्टी एकताको आधारलाई समेटिएको छ।
एकताका लागि राप्रपाले लामो समयदेखि वार्ता समिति बनाएर छलफल अगाडि बढाएको थियो । वार्ता समितिले एकताको विषयमा तयार पारेको आधार पत्रलाई साउन ११ गते बसेको दुवै पार्टीको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो ।
एकता घोषणा सभाको बारे जानकारी गराउदै राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रियता, प्रजातन्त्र, उदारवाद र सनातन धर्ममा आस्था राख्नेहरुलाई खुसीको खबर–साउन २५ गते राप्रपा नेपाल र राप्रपाका बीचमा एकीकरण घोषणा सभा हुनेछ।’
राष्ट्रियता,प्रजातन्त्र,उदारवाद र सनातन धर्ममा आस्था राख्नेहरुलाई खुसीको खबर-श्रावण २५ राप्रपा नेपाल र राप्रपाका बिचमा एकिकरण घोषणासभा हुनेछ
— Kamal Thapa (@KTnepal) August 6, 2016
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)