झन्डै दसकपछि नेविसंघको महाधिवेशन

झन्डै दसकपछि नेविसंघको महाधिवेशन

काठमाडौँ : नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ)को ११ औं महाधिवेशन नौ वर्षपछि आइतबार राजधानीमा सुरु हुँदैछ ।

निकै लामो अन्योल र विवादपछि संघको महधिवेशन हुन लागेको हो। महाधिवेशनका लागि सबै तयारी पुरा भइसकेको छ। तीनदिने ११औँ महाधिवेशनको नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीस्थित भृकुटीमण्डमा भव्य समारोहबीच दिउँसो उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

करिब तीन हजार ४०० प्रतिनिधि बस्नका लागि सुन्धारालगायतका स्थानमा होटल बुकिङ भइसकेको छ । पार्टीले डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए)का पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ । मतदानलाई व्यवस्थित बनाउन महाधिवेशन प्रतिनिधिका लागि परिचयपत्रको अनिवार्य व्यवस्था गरिएको छ ।

नेविसंघको महाधिवेशन झन्डै एक दसकपछि हुन लागेको हो। सङ्घको १० औं महाधिवेशन २०६४ जेठ ६, ७ र ८ गते चितवनमा भएको थियो। २०२७ वैशाख ६ गते स्थापना भएको नेवि सङ्घमा हालसम्म विपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, नारायणप्रकाश साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ र रञ्जीत कर्ण अध्यक्ष भइसकेका छन् ।

 

उद्घाटनसत्रलाई पार्टी सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत शीर्ष नेताले सम्बोधन गर्नु कार्यक्रम छ । यसैगरी अन्य क्रियाशील विद्यार्थी सङ्गठनका नेताहरुले महाधिवेशनको सफलताको शुभकामना दिने कार्यक्रम छ ।

महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी करिब तीन हजार ४०० प्रतिनिधिले भाग लिँदैछन् । महाधिवेशनमा भाग लिन अधिकांश प्रतिनिधि राजधानी आइसकेको नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिएका छन्।

नेकाँ पार्टीको आन्तरिक जीवनलाई समेत महाधिवेशनले नयाँ गति दिने हुँदा यसलाई पार्टी नेतृत्व एवम् आम सर्वसाधारणले उत्सुकतापूर्वक नियालिरहेका छन् । महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा सीमित रहनेछ । साउन २४ गते बन्दसत्र र साउन २५ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ ।

बन्दसत्रमा सङ्घका अध्यक्ष रञ्जित कर्णले राजनीतिक तथा साङ्गठनिक, शैक्षिक तथा आर्थिक प्रतिवेदन गरी तीनवटा प्रतिवेदन पेस गर्नेछन्। साउन २५ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ ।

सङ्घमा अब एक व्यक्ति एक पदको अवधारणा अनिवार्यरूपमा लागू भएको छ । कुनै एक पदमा बहाल रहेको व्यक्तिले अर्काे पदमा उम्मेदवारी दर्ता गरे उसको तल्लो तहको पद स्वतः खारेज हुने व्यवस्था छ।अब सङ्घको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक÷एकजना गरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहनेछन् ।

त्यस्तै दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एक÷एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।

सङ्घको दुई वर्षभित्र अधिवेशन नगरे तीन महिनामा स्वतः केन्द्रीय समिति भङ्ग हुने गरी पार्टीको निर्देशक समितिले विधानको टुङ्गो लगाएको छ । एघारौँ महाधिवेशनमा उम्मेदवारी दर्ता गरेपछि हाल रहेको केन्द्रीय समितिको पद पनि स्वतः खारेज हुनेछ ।

सङ्घको अध्यक्षमा हालसम्म नैनसिंह महर, जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य केही नेताहरू घोषणा गर्ने क्रममा रहेको बताइएको छ ।

त्यस्तै महामन्त्री पदमा नेवि सङ्घ नेताहरू मनोज वैद्य, उर्मिला थपलिया, डिल्लीराज सुवेदी, मोतीलाल भण्डारी, विनयराम भट्ट, रमेश रिजाल, प्रचण्डविक्रम न्यौपाने, हिमालदत्त श्रेष्ठ, युवराज पाण्डे, मित्र भट्टराईलगायतले उम्मेदवारी दिने घोषणा गरेका छन् । दुवै काँग्रेस एकीकरणपछि हुन लागेको महाधिवेशनमा पदाधिकारी र सदस्यमा करिब ५०० उम्मेदवारी पर्ने देखिन्छ ।

सातपटक स्थगित भएको महाधिवेशन हुन्छ कि हुँदैन भन्ने अन्योलका बीच महाधिवेशन हुने भएपछि नेवि सङ्घमा राजनीति गर्दै आएका नेता तथा कार्यकर्तामा नयाँ उत्साह थपिएको छ । रातो पृष्ठभूमिमा सेतो गोलाकारभित्र मसाल र कलम अङ्कित सङ्घको झन्डा, ब्यानर, तुलले महाधिवेशनस्थल भृकुटीमण्डप क्षेत्र दुलही झँै सिँगारिएको छ ।

महाधिवेशनमा भाग लिन मुलुकभरबाट अधिकांश विद्यार्थी नेता कार्यकर्ता काठमाडौँ आइसकेका छन् । अर्काेतिर महाधिवेशनमा आ–आफ्नो स्थान सुनिश्चित गर्न नेता कार्यकर्ता आफू निकट पार्टीका नेताका घर धाउनेक्रमसमेत बढेको छ ।

पार्टील निर्धारित समयमै नेवि सङ्घको महाधिवेशन सम्पन्न गर्न नेता डा प्रकाशशरण महतको संयोजकत्वमा निर्देशन समिति गठन गरेको छ । समितिमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल र किशोरसिंह राठौर रहनुभएको छ ।

नेवि सङ्घ महाधिवेशनको जम्मा खर्च रु एक करोड ७८ लाख ८० हजार लाग्ने अनुमान गरिएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपको हल दैनिक रु दुई लाख १० हजारका दरले तीन दिनका लागि लिइएको छ। महाधिवेशनमा लाग्ने सबै खर्च पार्टीले दिने भएको छ । नेवि सङ्घले कहीँ कतै चन्दा नलिएको र लिने नीति पनि नरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.