अशक्त विद्यार्थीलाई परीक्षामा असहज

अशक्त विद्यार्थीलाई परीक्षामा असहज

काठमाडौंः सिनामंगलस्थित गुह्येश्वरी माविमा कक्षा १२ मा अध्ययनरत शारीरिक तथा मानसिक रूपमा अशक्त आयुष रिसालले कक्षा ११ को परीक्षाका बेला आफू अन्य परीक्षार्थीको तुलनामा अशक्त भएको बताउँदै परीक्षा हलमा थप समय माग्दा शिक्षकले दिएनन् । सबलांग विद्यार्थीसँगै उत्तर लेखिरहेका उनको उत्तरपुस्तिका निर्धारित तीन घन्टापछि शिक्षकले जबरजस्ती खोसे ।

रिसालले भने, ‘म अपांगता भएको व्यक्ति हुँ भन्ने सबैलाई थाहा छ । तर परीक्षामा गार्ड बसेका शिक्षकले यो कुरा बुझेनन् ।' उच्च माध्यमिक शिक्षा परिषद् (हालको राष्ट्रिय परीक्षा बोर्ड) को परीक्षा निर्देशिकामा अपांगता भएका व्यक्तिहरूलाई तीन घन्टाको परीक्षामा अन्य परीक्षार्थीलाई भन्दा एक घन्टा तीस मिनेट थप समय दिनुपर्ने उल्लेख छ ।

तर शिक्षकलाई निर्देशिकाबारे ज्ञान नहुँदा अहिले अपांगता भएका आयुषजस्ता थुप्रै विद्यार्थी यस्ता समस्याको सिकार भएका छन् । निर्देशिकाबारे जानकार विद्यार्थीले आफ्नो अधिकारबारे आवाज उठाउने गरे पनि निर्देशिका कार्यान्वयनमा मुख्य भूमिका खेल्ने विद्यालय तथा शिक्षकलाई यसबारे सिकाउन नसक्दा समस्या आएको छ ।

‘परीक्षामा यस्तै समस्या आउला भनेर परीक्षाअघि नै तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को काठमाडौं कार्यालय गएर आफूलाई थप समय उपलब्ध गराउने विषयमा पत्र लेखिदिन अनुरोध गरेको थिएँ । तर कार्यालय प्रमुखले पत्र चाहिँदैन तपार्इंलाई देखेपछि समय थपिदिन्छन् भनेर फर्काइदिए, तर थप समय पाइन ।' हाल कक्षा १२ मा अध्ययनरत सिनामंगलका रिसालले मध्यबानेश्वरस्थित रत्नराज्य माविबाट परीक्षा दिएका थिए ।

 

राष्ट्रिय परीक्षा बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले अशक्त विद्यार्थी पहिचान गरेर थप समय दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने अधिकार सम्बन्धित विद्यालयका केन्द्राध्यक्षलाई दिइएको बताए । अपांगता भएको व्यक्ति हो भन्ने खुलाउने प्रमाण सम्बन्धित परीक्षार्थीले पेस गरेमा केन्द्राध्यक्षले पनि सहज रूपमा थप समय उपलब्ध गराउने अर्यालले बताए ।

विद्यार्थीले केन्द्राध्यक्ष तथा शिक्षकलाई जानकारी नगराई परीक्षा हलमा बस्ने र समय सकिन लागेका बेलामात्र आफू अपांगता भएको व्यक्ति हुँ भनेर अनुरोध गर्दैमा थप समय दिन कठिन हुने विद्यालय सञ्चालकहरूको भनाइ छ ।

रत्नराज्य माविकी प्रधानाध्यापक गीता खरेलले अपांगता भएका प्रमाण पेस गर्ने विद्यार्थीलाई आफूले सधंै थप समय दिएको बताइन् । उनले भनिन्, ‘विद्यार्थी अपांगता भएकै हुन् भने उनीहरूले एक्लै वा अभिभावकसँग आएर परीक्षाअगाडि नै समय मागेमा सजिलै दिन्छौं । उनीहरूको अधिकार हनन् गरेर हामीलाई के फाइदा हुन्छ र ? '

त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले अपांगता भएका व्यक्तिलाई अवस्था हेरेर थप समय दिने व्यवस्था गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.