तीन जिल्ला नाघेर सदरमुकाम
गोरखाः तिब्बती सिमानामा रहेको गोरखाको अन्तिम गाउँ साम्दोका छिरिङ धारक्याल सदरमुकामका लागि मंगलबार गाउँबाट निस्किए । उनलाई आफू काम गर्ने एउटा संस्थाको तालिममा भाग लिनु थियो ।
२२ वर्षका छिरिङ घोडा चढेर पाँच हजार एक सय ६५ मिटर उचाइमा रहेको लार्के पास गरे । त्यस दिन बास बस्न उनी मनाङको भीमथाङ पुगे । बुधबार भीमथाङबाट दिनभरि हिँडेर तिल्चे पुगेर बसे । तिल्चेबाट दुई घन्टा पैदल हिँडेपछि धारापानी पुगे । धारापानीबाट जिप चढे । त्यो दिनको बास लमजुङको बेसीसहरमा भयो । बेसीसहरबाट तनहुँको डुमे्र, आँबुखैरेनी हँदै एकै दिनमा गोरखा सदरमुकाममा बास बस्न पुगे । मनाङ, लमजुङ, तनहुँ जिल्ला कोटेर चौथो दिनमा उनी गोरखा सदरमुकाम पुगे ।
उनलाई आफ्नै जिल्लाको बाटो सदरमुकाम आउने रहर थियो । तर भुइँचालोले थिलथिलो भएको पहाड खसेर बूढीगण्डकीको खाँचखाँच झर्ने बाटो बन्द थियो । झरी पर्न थालेपछि सिर्दिबास, केरौंजा, उहिया, गुम्दा र लापु क्षेत्रमा खसेको पहिरोले बाटो दुई महिनादेखि ठप्पै थियो । त्यसैले उनी गोरखा सदरमुकाम पुग्न मनाङतिर उकालो लागेका हुन् । नत्र सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, केरौंजा, उहिया, गुम्दा, लापु, थुमी हुँदै आरुघाट झरेर सदरमुकाम आउन पाउँथे ।
त्यसरी १८ वटा गाविस पार गर्दै सदरमुकाम आइपुग्न उनलाई ठ्याम्मै छ दिन लाग्थ्यो । ‘आफ्नै जिल्ला सदरमुकाम आउन पनि तीन जिल्ला काट्नुपर्यो', छिरिङले भने, ‘आफ्नै जिल्लाको बाटो आएको भए पाँच दिन लाग्थ्यो तर तीन जिल्ला काटेर चारै दिनमा आइपुगियो ।'
उनका अनुसार गाउँलेहरू बर्सौंदेखि हिउँदमा गोरखाको बाटो र बर्खामा तीन जिल्ला काटेर सदरमुकाम आउने गर्छन् । ‘हिउँमा चाहिँ हिउँ परेर गाउँबाट माथि जानै सक्दैनौं । लार्के पास गर्नै सक्दैनौं', उनी भन्छन्, ‘बर्खामा चाहिँ सधैं बूढीगण्डकीकिनारको बाटो पहिरिएर हिँड्नै सक्दैनौं । त्यसैले हिउँदमा गोरखाको बाटो, बर्खामा मनाङको बाटो हिँड्नुपर्छ ।'
५५ कोस टाढाको साम्दोबाट मात्र होइन, सामागाउँ, ल्हो, प्रोक र बिही गाविसदेखिका बासिन्दा अहिले सदरमुकाम आउन मनाङकै बाटो प्रयोग गर्ने गर्छन् । बिही, प्रोक, ल्होका बासिन्दालाई साम्दो पुग्न एक दिनको बाटो पैदल हिँड्नुपर्छ । गोरखा सदरमुकाम आइपुग्न पाँच दिन लाग्छ ।
‘हाम्रो बाटो गयो भने चार दिन ढुंगा झर्ने बाटो जानुपर्छ', प्रोकका पेमा डुन्डुप भन्छन्, ‘अस्ति म आउँदा ढुंगा छल्दैछल्दै आएको हुँ । हैट, मुस्किलले ज्यान बाँच्यो ।' उत्तरी गोरखाजत्तिकै विकट रहेको मनाङमा चाहिँ गाडी चल्ने, गोरखामा चाहिँ नचल्ने भएकोमा उनले अचम्म माने । ‘मनाङ पनि त्यत्तिकै विकट, हाम्रो गोरखाको उत्तरी भेग पनि त्यत्तिकै विकट ।
मनाङमा बाटो खन्ने, हाम्रोमा किन नखन्ने ? ' पेमा प्रश्न गर्छन्, ‘पैदल हिँड्ने बाटो पनि मनाङमा किन खतरा भएन, हाम्रोमा किन खतरा भयो ? ' आफ्नो जिल्लाका नेताहरू सबै स्वार्थी भएकाले दुर्गमका बासिन्दाले सयौं वर्षदेखि दुःख भोगिरहेको भन्दै उनले धिक्कारे ।
काठमाडौं, पोखराजस्ता सहरमा पढ्न झरेका बालबालिका बर्खे बिदामा गाउँ जाँदा पनि मनाङकै बाटो भएर गएको बिहीका नवीन गुरुङ बताउँछन् । ‘बिही गाविसमा एउटा पनि स्कुल छैन । काठमाडौं, पोखरातिर पढ्न गएका बालबालिका गाउँ फर्किंदा पनि तीन जिल्ला कटेर जानुपर्छ ।' बालबालिकाको कलिलो मनमा पनि आफ्नो जिल्लाको बाटो सुरक्षित छैन भन्ने परेको उनले बताए ।
धेरै ठाउँमा बाटो पहिरिएर हिँड्न नमिल्ने भएको, भीरमा ढुंगा अड्केर बसेको हुनाले जतिबेला पनि ढुंगा खसेर मान्छेलाई लाग्नसक्ने उनले बताए । ‘हाम्रोतिरबाट गोरखाको बाटो हिँडे पनि चारै दिन हो, मनाङको बाटो हिँडे पनि पाँच दिन हो', बिहीका नवीन भन्छन्, ‘तर गोरखाको बाटो कोही हिँड्दैनन् ।' आफ्नै सदरमुकाम आउन पनि तीन जिल्ला काटेर हिँड्नुपरेको उनले बताए ।