अरहान्त र भावना च्याम्पियन
काठमाडौंःअरहान्तकेशर सिंह र भावना सुनवारले धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको एकल स्पर्धाको उपाधि जितेका छन् ।
शनिबार सातदोबाटोमा भएको पुरुष एकलको फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ८-११, ११-५, ११-७, ११-१३, १२-१० को सेटमा पराजित गर्दै उपाधि जिते । गत महिना सातदोबाटोमै भएको खुला स्क्वास प्रतियोगितामा पनि अरहान्तले अमृतलाई नै हराउँदै पहिलो उपाधि जितेका थिए । अमृतका बुवा हीराबहादुर थापा र प्रवीणवीरसिंह कंसाकार संयुक्त रूपमा तेस्रो भए । पहिलो हुनेले १५ हजार, दोस्रोले आठ हजार र तेस्रो हुनेले तीन तीन हजार रुपैयाँ पुरस्कार पाए ।
यसैगरी महिला एकलको फाइनलमा भावनाले विपना ब्लोनलाई ११-५, ११-७, ११-१ को सोझो सेटमा हराइन् । सपना ब्लोन र कृष्णा थापा मगर तेस्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः नौ हजार, पाँच हजार र दुई दुई हजार रुपैयाँ पुरस्कार पाए ।
जुनियर छात्र यू-१७ एकलको उपाधि अमिर ब्लोनले जिते । उनले फाइनलमा दीपक थापाको चुनौती ११-६, ११-७, १४-१२ ले समाप्त पारे । विक्रम मगर र विजय मगरले तेस्रो स्थानमा चित्त बुझाए । उपाधिसँगै पहिलोले पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले पन्ध्र सय रुपैयाँ पुरस्कार पाए । जुनियर छात्र यू-१३ मा गेल्जे तामाङ पहिलो भए ।
गेल्जेले फाइनलमा सुवास गिरीलाई ११-८, ११-४, १२-१० को सीधा सेटमा पाखा लगाए । रञ्जित थापा र गोपाल थापा तेस्रो भए । यस स्पर्धामा पहिलोले तीन हजार, दोस्रोले दुई हजार र तेस्रो हुनेले एक हजार रुपैयाँ पुरस्कार पाए ।
भेट्रान्स ५० वर्षमाथि पुरुष एकलमा च्याम्पियन बन्ने क्रममा लालबहादुर गुरुङले फाइनलमा प्रेम सिंहलाई १०-१२, ११-५, ११-६, ११-८ ले हराए । मनोजबहादुर श्रेष्ठ र महेन्द्र महर्जन संयुक्त तेस्रो स्थानमा रहे । पुरुष एकल प्लेटतर्फ अनिल शाक्यले फाइनलमा लोकेन्द्र भण्डारीमाथि ८-११, ५-११, ११-९, ११-८, १७-१५ को संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थान हात पारे । विजयी मगर र विक्रम मगर तेस्रो भए ।
विजेतालाई नेपाल स्क्वास र्याकेट संघका अध्यक्ष किशोर महर्जन, स्व. धनलक्ष्मीका पति कृष्णलाल महर्जनलगायतले पुरस्कार वितरण गरे । स्क्वास संघका अध्यक्ष महर्जनले आफ्नी आमाको वार्षिक पुण्यतिथिमा प्रतियोगिता आयोजना गरेका हुन् ।
प्रतियोगितामा ६ स्पर्धामा ७८ खेलाडीले भाग लएका थिए । यसैगरी अध्यक्ष मर्हजनले १२औं दक्षिण एसियाली खेलकुद (साग)मा स्क्वासतर्फ पदक जित्न सफल खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गरे । स्क्वासको महिला टिम इभेन्टमा भावना सुनवार, कृष्णा थापा र विपना ब्लोनले कांस्य पदक जितेका थिए ।
अध्यक्ष महर्जनले पूर्वघोषित पुरस्कारबमोजिम टोलीका प्रत्येक खेलाडीलाई २०÷२० हजार रुपैयाँ प्रदान गरे । अध्यक्ष महर्जनले यसअघि व्यक्तिगत रूपमा सागअघि स्क्वासमा स्वर्ण जित्नेलाई एक लाख, रजतलाई ५० हजार र कांस्यलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।