नेविसंघको महाधिवेशन प्रारम्भ, नेतृत्वका लागि तीव्र होडबाजी

नेविसंघको महाधिवेशन प्रारम्भ, नेतृत्वका लागि तीव्र होडबाजी

काठमाडौँ : नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ)को ११ औं महाधिवेशन आइतबार राजधानीमा सुरु भएको छ।

तीनदिने ११औँ महाधिवेशनको नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीस्थित भृकुटीमण्डमा विशेष समारोहबीच आइतबार दिउँसो उद्घाटन गरेका हुन्।

निकै लामो अन्योल र विवादपछि सुरु भएको संघको महधिवेशनमा नेतृत्वका लागि तीव्र होडबाजी छ। साउन २४ गते बन्दसत्र र साउन २५ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ ।सङ्घको अध्यक्षमा हालसम्म नैनसिंह महर, जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

त्यस्तै महामन्त्री पदमा नेवि सङ्घ नेताहरू मनोज वैद्य, उर्मिला थपलिया, डिल्लीराज सुवेदी, मोतीलाल भण्डारी, विनयराम भट्ट, रमेश रिजाल, प्रचण्डविक्रम न्यौपाने, हिमालदत्त श्रेष्ठ, युवराज पाण्डे, मित्र भट्टराईलगायतले उम्मेदवारी दिने घोषणा गरेका छन् । दुवै काँग्रेस एकीकरणपछि हुन लागेको महाधिवेशनमा पदाधिकारी र सदस्यमा करिब ५०० उम्मेदवारी पर्ने देखिएको छ।

सङ्घमा अब एक व्यक्ति एक पदको अवधारणा अनिवार्यरूपमा लागू भएको छ । कुनै एक पदमा बहाल रहेको व्यक्तिले अर्का पदमा उम्मेदवारी दर्ता गरे उसको तल्लो तहको पद स्वतः खारेज हुने व्यवस्था छ।अब सङ्घको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक÷एकजना गरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहनेछन् ।

त्यस्तै दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एक /एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।

 

सङ्घको दुई वर्षभित्र अधिवेशन नगरे तीन महिनामा स्वतः केन्द्रीय समिति भङ्ग हुने गरी पार्टीको निर्देशक समितिले विधानको टुङ्गो लगाएको छ । एघारौँ महाधिवेशनमा उम्मेदवारी दर्ता गरेपछि हाल रहेको केन्द्रीय समितिको पद पनि स्वतः खारेज हुनेछ ।

पार्टीले डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए)का पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ । मतदानलाई व्यवस्थित बनाउन महाधिवेशन प्रतिनिधिका लागि परिचयपत्रको अनिवार्य व्यवस्था गरिएको छ ।

नेविसंघको महाधिवेशन झन्डै एक दसकपछि हुन लागेको हो। सङ्घको १० औं महाधिवेशन २०६४ जेठ ६, ७ र ८ गते चितवनमा भएको थियो। २०२७ वैशाख ६ गते स्थापना भएको नेवि सङ्घमा हालसम्म विपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, नारायणप्रकाश साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ र रञ्जीत कर्ण अध्यक्ष भइसकेका छन् ।

यसअघि नेविसंघको महाधिवेशन सातपटक घोषणा भएर पनि स्थगित भएको थियो। पार्टील निर्धारित समयमै नेवि सङ्घको महाधिवेशन सम्पन्न गर्न नेता डा प्रकाशशरण महतको संयोजकत्वमा निर्देशन समिति गठन गरेको छ । समितिमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल र किशोरसिंह राठौर रहनुभएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.