नियम नमान्न सफारी चालकको आन्दोलन

नियम नमान्न सफारी चालकको आन्दोलन

विराटनगरः सरकारी नियम मान्दैनौं भन्दै सिटी सफारी (ई-रिक्सा) चालकले लगातार आन्दोलन गर्न थालेपछि विराटनगरमा घन्टौंसम्म सडक अवरुद्ध हुन थालेको छ ।

सरकारले बनाएको नियमविपरीतका माग राखेर विराटनगरमा सञ्चालनमा रहेका सफारी चालकले सवारी आवागमन प्रभावित हुने गरी आन्दोलन थालेपछि समस्या उत्पन्न भएको हो । आन्दोलनले घन्टौं ट्राफिक जाम हुनु थालेको छ । रुट परमिट सिस्टम र जाँचपास खारेजीलगायतका माग राखेर सफारी चालक सडक अवरुद्ध पारेर आन्दोलनमा उत्रिए पनि आन्दोलन मत्थर बनाउन सम्बन्धित निकायले चासो दिएका छैनन् ।

चालकहरूले आइतबार विराटनगर उपमहानगरपालिकाको कार्यालयमा दुई घन्टा धर्ना दिए । सिटी सफारीसहित पुगेका चालकले बिहान १० देखि १२ बजेसम्म दुई घन्टा धर्ना दिएका हुन् । सफारी उपमहानगरअगाडिको सडकमा राखेर चालकहरूले धर्ना दिएपछि सडक अवरुद्ध हुँदा मेन रोडमा सवारी आवागमन प्रभावित बन्यो ।

शुक्रबार पनि कोसी राजमार्गअन्तर्गत विराटनगरको बरगाछीमा सडकमा सटी सफारी राखेर दुई घन्टासम्म सडक अवरुद्ध पारिएको थियो । चालकहरूले नियम मिचेर ट्राफिक प्रहरीले गर्दै आएको कारबाहीको समेत विरोध गरेका छन् । उनीहरूले सानो गल्ती हुनेबित्तिकै कारबाही भोग्नु पर्दा आफूहरू समस्यामा परेको बताए ।

ट्राफिक प्रहरी र विराटनगर उपमहानगरपालिका कार्यालयको सिफारिसमा यातायात व्यवस्था कार्यालयले विराटनगरमा सञ्चालनमा रहेका सिटी सफारीलाई रुट परमिट दिएको थियो । रुट परमिटभित्र नकुद्ने सफारीमाथि ट्राफिक प्रहरीले कारबाही थालेपछि चालक आक्रोशित बनेका हुन् ।

विराटनगर उपमहानगरपालिका कार्यालयका अनुसार चालकहरूले नै रुट परमिट सिस्टम लगाउनुपर्ने माग गरेपछि सबै सफारीलाई परमिट दिइएको हो । तर अहिले त्यसकै विरोधमा चालकहरू आन्दोलनमा छन् ।

आफूहरूको माग पूरा नभए थप संघर्ष चर्काउने चेतावनी उनीहरूले दिएका छन् । चालकहरूले सोमबार विराटनगरस्थित यातायात व्यवस्था कार्यालय घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । घेराउ कार्यक्रममा उपस्थित नहुने सिटी सफारीमाथि कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । चालकहरूले लामो समयदेखि आफ्ना माग राख्दै आए पनि सम्बन्धित निकायले सुनुवाइ नगरेको आरोप लगाए ।

समाजवादी ई-रिक्सा मजदुर संघका केन्द्रीय सदस्य प्रेम पुरीले रुट परमिट सिस्टम खारेज हुनुपर्ने, चालक अनुमतिपत्र वितरण व्यवस्थित र सहज हुनुपर्ने, जाँचपास खारेज हुनुपर्ने, स्ट्यान्ड र पार्किङको व्यवस्था हुनुपर्ने आफूहरूको मुख्य माग रहेको बताए । उनले ट्राफिक ज्यादती बन्द हुनुपर्ने र राजमार्गमा सिटी सफारी सञ्चालन गर्न पाउनुपर्ने माग पनि राखिएको बताए ।

उनले राजमार्गमा सिटी सफारीलाई लगाइएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने अडान राखे । बर्खाको समय भएकाले र विराटनगरमा निर्माणको काम भइरहेका कारण राजमार्ग छाडेर भित्री रुटमा सफारी सञ्चालन गर्न गाह्रो हुने पुरीको भनाइ छ ।

ट्राफिक प्रहरीले राजमार्गमा सफारी सञ्चालनमा रोक लगाएको छ । सवारी आवागमनलाई असर गर्ने र बढी दुर्घटना हुन थालेपछि राजमार्गमा सफारी सञ्चालनमा रोक लगाइएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक धनप्रसाद सिबाकोटीले बताए । ‘नियम मान्दैनौं भनेर सडक अवरुद्ध हुने गरी आन्दोलन गर्नु गलत हो । माग पनि उचित किसिमका छैनन्,' उनले भने, ‘नियम मिच्ने अधिकार कसैलाई छैन । नियम मिच्ने जो कोहीलाई कारबाही हुन्छ ।'

विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले सिटी सफारी चालकहरूको माग जायज नरहेको बताए । उनले भने, ‘पहिले रुट परमिट चाहियो भनेर उनीहरूले नै मागे । रुट परमिट कायम गरिएपछि खारेज हुनु पर्‍यो भन्नु कस्तो माग हो ? ' उनले केही माग सामान्य भए पनि केही मागहरू भने पूरा गर्न सक्ने अवस्थाका नरहेको बताए । विराटनगरमा दुई हजार पाँच सय सिटी सफारी सञ्चालनमा छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.