पहरामा बज्रियो हेलिकोप्टर

पहरामा बज्रियो हेलिकोप्टर

बेतिनीभीर नुवाकोटः गोरखाबाट बिरामी लिएर काठमाडौंतर्फ जाँदै गरेको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटको मदानपुर गाविसको बेतिनीभीरमा दुर्घटनाग्रस्त हुँदा चालक र एकै परिवारका चारसहित सातजनाको ज्यान गुमेको छ । उच्च भेगमा कुहिरोभित्र हेलिएर हेलिकोप्टर दुर्घटनामा परेको स्थानीय बासिन्दाले बताए ।

गोरखा ३ मा रहेको सिर्दिबास गाविसबाट पाँचदिने सुत्केरीको उपचारका लागि मध्याह्न १२ बजेर १० मिनेटमा उडेको हेलिकोप्टर नुवाकोटको मदानपुर ९ बेतिनीभीरमा १२ बजेर ३५ मिनेटमा दुर्घटनाग्रस्त भएको हो । सदरमुकाम विदुरदेखि ४० किलोमिटर पूर्वमा रहेको बेतिनीभीरको पहरोमा नाइन एन एके ए कलसाइनको ६ सिट क्षमताको हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा अनुभवी क्याप्टेन रन्जन लिम्बू, पाँच दिनका बालक र उनको परिवारका सदस्यको निधन भएको हो ।

दुर्घटनामा झापा घर भएका क्याप्टेन ३३ वर्षीय रन्जन, गोरखा सिर्दिबास गाविस २ का ५५ वर्षीय कितमान गुरुङ, उनकी पत्नी ५४ वर्षीया असनी गुरुङ, उनीहरूकी सुत्केरी बुहारी १९ वर्षीया प्रीति गुरुङ, उनका पाँच दिनका छोरा, सिर्दिबास स्वास्थ्य चौकीमा कार्यरत सुनसरी इटहरीकी २२ वर्षीया निशा तामाङ र गोरखा उहिया गाविस खोलाबेसीकी २८ वर्षीया लक्ष्मी गुरुङको निधन भएको घटनास्थलमा पुगेका नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए ।

‘खेतमा धान गोडिरहेको थिएँ । हेलिकोप्टर रुटबाट सदा उडेजसरी आज ( सोमबार) पनि उड्दै थियो । एक्कासि पहरोमा पो बजारिएर धुवाँ आयो’, दुई किलोमिटर परबाट हेलिकोप्टर उडेको र दुर्घटना भएको देखिरहेका वेलकोट ७ तिगाउँका वृद्ध गोविन्दप्रसाद ढकालले भने । प्रत्यक्षदर्शीका अनुसार हेलिकोप्टर कुहिरोमा हेलिएको केही सेकेन्डमै ठूलो आवाजसहित दुर्घटनामा परेको हो ।

 ‘हामीले घटना सुन्नेबितिक्कै घटनास्थल पुगेर शव संकलन गरेका हौं । दुर्घटनास्थल निकै भीर रहेका कारण उद्धारमा समस्या आयो’, उद्धारमा संलग्न सशस्त्र प्रहरी बल ककनीका प्रहरी नायब निरीक्षक नवराज श्रेष्ठले भने । ककनीबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सेनाको श्रीनाग गणबाट पुगेको सैनिक टोलीले शव संकलन गरेको थियो । संकलित शव फिस्टेल र माउन्टेन एयरका हेलिकोप्टरले काठमाडौं लगेका छन् ।

 घटनास्थल भिरालो तथा चिप्लो भीरमा रहेका कारण शव संकलन गर्न निकै समस्या भए पनि आगोले जलेका शवका टुक्रा संकलन गरेर काठमाडौं पठाइएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहोराले बताए । घटनास्थल कुहिरो लागिरहने भीर रहेका कारण शव संकलनमा समय लागेको थियो । शव संकलन गर्न उद्धारकर्मीलाई चार घन्टा लागेको थियो । घटनास्थलमा उद्धारका लागि स्थानीय बासिन्दा पुग्दा पनि आगो लागिरहेको थियो । कसैको पनि शरीर चिनिने अवस्थामा छैन ।

दुर्घटनाग्रस्त हेलिकोप्टर डाँडोबाट एक सय ५० मिटर तल भीरको खोंचमा पुगेर अड्किएको अवस्थामा फेलापारिएको हो । शव यत्रतत्र छरिएको देखेपछि उद्धारमा खटिएका उद्धारकर्मीसमेत भावविह्वल भएका थिए ।

नजिकै रहेका शवका टुक्रा एउटा र अर्को स्थानमा भेटिएकालाई अर्को पोकामा राखेर काठमाडौं पठाइएको हो । दुर्घटनाग्रस्त हेलिकोप्टर टुक्राटुक्रा भएको छ । दुर्घटनास्थल समुद्री सतहदेखि ६ हजार फिट उचाइमा छ ।

घटनास्थल पासाङल्हामु मार्गको जुरेथुम बजारबाट कच्ची बाटोमा २ घन्टाको पैदल दूरीमा पर्छ । घटनालगत्तै नुवाकोटको सदरमुकाम विदुरबाट प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

‘हामीले हेर्दा जंगलमा हेलिकोप्टर बलिरहेको देखियो', बेलकोट गाविसका पूर्वउपाध्यक्ष रामहरि पाण्डेले भने, ‘हामीले त ढ्याङ्ङ गरेको आवाज सुन्यौं । त्यहीं गएर बुझ्दा हेलिकोप्टर नै खसेको रहेछ ।' स्थानीय अरुण सिग्देलका अनुसार दुर्घटना भएको दुई घन्टासम्म पनि हेलिकोप्टरबाट धुवाँ आइरहेको तीन किलोमिटर टाढैबाट देख्न सकिन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.