नाइजेरिया र पोर्चुगल क्वार्टरफाइनलमा
रियो दि जेनेरियोः नाइजेरिया र पोर्चुगल रियो ओलम्पिक फुटबलको दोस्रो चरणमा प्रवेश गरेका छन् । नाइजेरिया समूह ‘बी' र पोर्चुगल समूह ‘डी' बाट क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेका छन् । आइतबार राति भएको खेलमा नाइजेरियाले स्विडेनलाई १-० गोलले हरायो । पोर्चुगलले भने होन्डुरसमाथि २-१ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो । नाइजेरियाको जितमा उमर सादिक्युले ४० औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।
सोही समूहकै अर्को खेलमा जापान र कोलम्बियाले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । कोलम्बियाले ५९ औं मिनेटमा टिओफिलो गुटिरेजको गोलमा सुरुआती अग्रता लियो । त्यसको सात मिनेटलगत्तै जापानका हिरोकी फुजीहरूको आत्मघाती गोलले कोलम्बिया २-० ले अगाडि बढ्यो ।
जापानले ६८ औं मिनेटमा पहिलो गोल फर्काएको थियो । जापानका लागि पहिलो गोल ताकुमा असनले गरे । ७४ औं मिनेटमा सोया नाकाजिमाले दोस्रो गोल गर्दै टोलीलाई २-० गोलको बराबरीमा पुर्याएका थिए । जापान पहिलो खेलमा नाइजेरियासँग ५-४ गोलले पराजित भएको थियो । समूहमा लगातार दुई जित हात पारेको नाइजेरिया अघिल्लो चरणमा पुगेको छ । नाइजेरिया समूहमा ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । दुईवटै खेलमा बराबरी खेलको कोलम्बिया दुई अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । एक एक अंक बनाएका जापान र स्विडेन क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
ब्राजिल समूहको दोस्रो खेलमा इराकसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीपछि दोस्रो चरणमा पुग्नका लागि ब्राजिलले कडा मेहनत गर्नुपर्ने भएको छ । समूहगत चरणको पहिलो खेलमा पनि ब्राजिल दक्षिण अफ्रिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । समूह ‘ए' मा रहेको ब्राजिलले दुई बराबरीसँगै दुई अंक जोडेको छ । ब्राजिल तालिकाको दोस्रो स्थानमा छ ।
ब्राजिललाई अघिल्लो चरणमा पुग्नका लागि डेनमार्कसँगको खेल जित्नै पर्ने बाध्यता छ । सोही समूहको अर्को खेलमा डेनमार्कले दक्षिण अफ्रिकालाई १-० गोलले हराउँदै अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । डेनमार्कको जितमा रोवर्ट स्कोभले ६९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । समूहमा एक जित र एक बराबरीको नतिजा निकालेको डेनमार्क चार अंकसहित तालिकाको शीर्ष स्थानमा आसीन छ । दुई बराबरी खेलेको इराक पनि दुई अंकसहित तेस्रो स्थानमा छ । एक अंक बनाएको दक्षिण अफ्रिका तालिकाको अन्तिम स्थानमा छ ।
यसैगरी समूह ‘डी' बाट क्वार्टरफाइनलमा पुगेको पोर्चुगलले लगातार दुई जित हात पार्ने क्रममा होन्डुरसलाई २-१ गोलले हरायो । पोर्चुगलको जितमा टोविस फिग्विरेन्डोले २२ औं र गोन्कालो पासिन्सियाले ३६ औं मिनेटमा गोल गरे । होन्डुरसले खेल सुरु भएको पहिलो मिनेटमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । होन्डुरसका लागि अर्बटो इलियसले पहिलो मिनेटमै गोल गरेका थिए ।
सोही समूहको अर्को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई २-१ गोलले पराजित गर्यो । अर्जेन्टिनाको जितमा एन्जल कोरेनाले ४७ औं र जोनाथ कलेरीले ७० औं मिनेटमा गोल गरे । अल्जेरियाका लागि भने सोफाइने बेन्डेबकाले ६४ औं मिनेटमा गोल गरेका थिए । पोर्चुगल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । एक जित र एक हार खेपेका होन्डुरस र अर्जेन्टिना समान तीनतीन अंक जोड्दै क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । अल्जेरियाले खाता खोल्न सकेको छैन ।
यसैगरी समूह ‘ए' मा रहेको ब्राजिलले लगातार दुई बराबरी खेलेको छ । घरेलु मैदानमा आयोजित ओलम्पिक फुटबलको उपाधि चुम्ने अभियानमा रहेको
यसैगरी समूह ‘सी' को अर्को खेलमा दक्षिण कोरियाले जर्मनीलाई ३-३ गोलको बराबरीमा रोकेको छ । बलियो जर्मनीविरुद्ध सशक्त प्रदर्शन गरेको दक्षिण कोरियाका लागि हिचान ह्वाङले २५ औं मिनेटमा खाता खोले । दोस्रो गोल हिउङ मिन सोनले ५७ औं र तेस्रो गोल हिउन जुन सुकले ८६ औं मिनेटमा गरेका थिए । जर्मनीका लागि सर्ज गेनब्रेले ३३ औं मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल डेभी सेल्कले ५५ औं मिनेटमा गरे । सर्जे गेनब्रेले ९० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई बराबरीमा पुर्याएका थिए ।
सोही समूहको अर्को खेलमा भने मेक्सिकोले फिजीलाई ५-१ गोलको फराकिलोअन्तरले पाखा लगायो । समूहमा चार अंक बनाएको दक्षिण कोरिया गोलअन्तरका आधारमा शीर्ष स्थानमा आसीन छ । दोस्रो स्थानमा रहेको मेक्सिकोले पनि चार अंक बनाएको छ । दुई अंक बनाएको जर्मनी तेस्रो स्थानमा छ । फिजीले भने खाता खोल्न सकेको छैन ।