म्यान युनाइटेडमा मोउरिन्हो र इब्राहिमोभिचको पहिलो उपाधि
लन्डनः इङ्लिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले कम्युनिटी सिल्ड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
म्यान युनाइटेडले उपाधिका लागि भएको भिडन्तमा लेस्टर सिटीलाई २-१ गोलले पराजित गर्यो । कम्युनिटी सिल्ड भनेको प्रिमियर लिग र इङ्ल्यान्डको पुरानो फुटबल प्रतियोगिता एफए कपको विजेताले प्रतिस्पर्धा गर्ने प्रतियोगिता हो ।
गत सिजन प्रिमियर लिगको उपाधि लेस्टर र एफए कपको उपाधि म्यान युनाइटेडले जितेका थिए । यो उपाधि म्यान युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्हो र स्ट्राइकर ज्लाटन इब्राहिमोभिचका लागि पहिलो उपाधि हो । यसै सिजनबाट म्यान युनाइटेडको प्रशिक्षकको जिम्मेवारी सुरु गरेका मोउरिन्हो र उनकै नेतृत्वमा भित्रिएका इब्राहिमोभिच पहिलो प्रतियोगितामै उपाधि चुम्न सफल भएका छन् ।
कम्युनिटी सिल्ड नयाँ सिजन सुरु हुनुअघि इङ्ल्यान्डको राष्ट्रिय रंगशाला वेम्बलीमा हुनेगर्छ । म्यान युनाइटेडले कम्युनिटी सिल्डको उपाधि जितेको यो २१ औं पटक हो ।
इङ्ल्यान्डमा हालसम्म अन्य टोलीले २१ पटक कम्युनिटी सिल्डको उपाधि जित्न सकेका छैनन् । खेलमा म्यान युनाइटेडले पहिलो हाफमै अग्रता बनाएको थियो । ३२ औं मिनेटमा जेस लिनगार्डले व्यक्तिगत प्रयासमा उत्कृष्ट गोल गर्दै म्यान युनाइटेडलाई १-० ले अघि बढाएका थिए । मैदानको मध्य भागबाट बल अघि बढाएका लिनगार्डले लेस्टरका चारजना खेलाडीलाई छक्याउँदै गोल गरेका थिए ।
तर खेलको दोस्रो हाफको सुरुमै लेस्टरले बराबरी गोल फर्कायो । जामी भार्डीले म्यान युनाइटेडका मारोनी फेलानीको गल्तीको फाइदा उठाउँदै टोलीलाई बराबरीमा फर्काएका थिए । फेलानीले ब्याक पास दिएको बललाई नियन्त्रणमा लिँदै भार्डीले गोल गरेका थिए । यद्यपि खेलको अन्त्यतिर ८३ औं मिनेटमा इब्राहिमोभिचले निर्णायक गोल गरेपछि म्यान युनाइटेडको उपाधि पक्का भएको थियो ।
इब्राहिमोभिचले एन्टोनियो भ्यालेन्सियाको क्रसमा उत्कृष्ट हेडिङ गोल गरेका थिए । लेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रेनियरीले आफ्ना नियमित खेलाडीलाई मैदानमा उतारेका थिए । खेलको २० औं मिनेटमा लेस्टर गोल नजिक पुगेर पनि चुकेको थियो ।
सिन्जी ओकाजाकीको पासमा भार्डीको सशक्त प्रहार पोस्टभन्दा थोरै टाढाबाट बाहिर हुइँकिएको थियो । त्यसगलत्तै प्राप्त कर्नरमा ओकाजाकीको हेडिङ क्रसबारमा लागेर फर्कंदा लेस्टर अग्रता लिनबाट चुकेको थियो । त्यसपछिका खेलमा पनि दुवै टोलीले केही राम्रा अवसर खेर फालेका थिए ।