नेताहरू हो 'माधवी' नाटक हेर !
गोविन्दबहादुर गोठाले नाटक घर सिल्पी थिएटर बत्तीसपुतलीमा 'माधवी' नाटक चलिरहेछ ।
गएको आइतबार यो नाटक हेरिसकेपछि आँखै रोकिएन र सोमबार पनि हेर्न गयौँ । कलाकारहरू छक्कै परे, तपाईंले त हिजो नै नाटक हेर्नुभएको होइन र ? मैले भनेँ, हो । आइतबारको शो हेरेर धित मरेन र आज पनि टिकट काटेर हेर्न आएँ ।
पौराणिक कथामा आधारित यस्तो प्रभावशाली नाटक यसअघि हेरेकै थिइन ! कथा पुरानो तर कलाकार जति सबै नयाँ पुस्ताका !! अझ भनौँ, प्रायः कलेज पढिरहेका विद्यार्थीद्वारा मञ्चित नाटक !!!
माधवी महाभारतकी त्यस्ती पात्र हुन्, जसको बारेमा सुविख्यात लेखक मदनमणि दीक्षितले उपन्यास नै लेखे र मदन पुरस्कार हात पारे । दीक्षितलाई नल र दमयन्ती होइन, माधवी जस्ती महान् पात्रको बारेमा लेख्नुस् भनेर करिब तीन दसकअघि सुझाएका थिए, राप्रउ पोखरेलले ।
माधवी लेखिएको पच्चीस वर्ष पुगेको अवसरमा रूसी साँस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा दीक्षितले यो रहस्य उद्घाटित गरेका थिए । राप्रउले एक भेटमा भने, माधवी लेख्नुभयो भने समाजशास्त्रीय हिसाबले तपाईं धेरै कुरा भन्न सक्नुहुन्छ भनेर मैले 'मास्टर साहेब' लाई सुझाएको हूँ । उहाँ मेरा तर्कसँग सहमत हुनुभयो । माधवी उपन्यास लेख्नुभयो र उहाँ यही उपन्यासले अमर बन्नुभयो, पोखरेलले पुराना कुरा स्मरण गरे ।
तर शिल्पी थिएटरमा मञ्चन भइरहेको माधवी दीक्षितले होइन, प्रख्यात भारतीय लेखक भीष्म साहनीले लेखेको नाटक हो । जसको नेपालीमा अनुवाद, नाटकको परिकल्पना र निर्देशन युवा प्रतिभा टंक चौलागाईले गरेका हुन् । सोमबार, नाटक प्रदर्शनी सुरुआत गर्दै चौलागाईले सार्वजनिक रूपमा भने, आज नाटकका मूल लेखक साहनीको १०१औँ जन्मोत्सव परेको छ । भारतभर साहनीको जन्मजयन्ती मनाइँदै छ, नेपालमा हामी नाटक प्रदर्शन गरिरहेछौँ !
माधवी नाटक हेरिरहँदा र हेरिसकेपछि मलाई लागिरह्यो, पूर्वीय सभ्यता र संस्कृतिमा हामी कति धनी रहेछौँ ? यही नै हाम्रो धरोहर हो । विश्वमै प्राचीन र पुरातात्विक मानिन्छ, पूर्वीय सभ्यता । यही सभ्यताले नै हाम्रो सिंगो समाज र विश्वलाई नै गतिशील बनाइरहेको छ ।
महाभारतको मूल कथा पाण्डव–कौरव गाथा हो । यसमा अन्य सयौँ कथा गाँसिएका छन्, जसलाई सबैले पढेका हुँदैनौँ । कुरोलाई नलुकाई भन्ने हो भने महाभारतको हाम्रो ज्ञान टीभी सिरियलबाट भएको हो किनभने महाभारत धेरैले पढेका हुँदैनन् । त्यसैले टीभीले माधवीलगायत धेरै कथाहरूको चर्चा पनि गरेन र त्यो गरेर साध्य पनि छैन किनभने महाभारत एकदमै ठूलो ग्रन्थ हो ।
पूर्वीय सभ्यताका सूचना र जानकारी, कथा र तथ्यांकका यतिधेरै पाटा छन्, तिनलाई पर्घेलेर अगाडि बढ्ने हो भने हाम्रो सभ्यता र संस्कृति यति अपहेलित, बेवास्ता र हिफाजत नगरिरहेको अवस्थामा रहने नै थिएन । हाम्रो सभ्यताभित्रको संस्कार, संस्कृति, दर्शन, मूल्यमान्यता र पुरातात्विक बिम्बहरूको जगेर्ना र त्यसको व्याख्या एकदमै जरुरी पनि छ । हामी अहिले त्यस्तो सँघारमा छौँ, हामीले गति लिन सके विश्व समुदायका अगाडि हामी समृद्ध र आकर्षित रूपमा स्थापित हुन सक्छौँ ।
संसारभरले हेर्ने, सुखानुभूति गर्ने डेस्टिनेसन बन्न सक्छ, हाम्रो मुलुक र पूरै दक्षिण एसिया । माधवी नाटक हेर्दा र हेरिसकेपछि पनि मनमा लागिरह्यो, हामी यही 'क्रसरोड' मा छौँ । हामी हाम्रो रैथाने ज्ञान र प्रयोगलाई विश्लेषण र अध्ययन गरी व्यावहारिक रूपमा समाजलाई अधिकतम लाभ हुने गरी नीति, योजना र कार्यक्रम बनाएर अघि बढ्न सक्छौँ । यो काम गर्न जरुरी पनि छ ।
नाटकभित्र के छ ?
डेढ घन्टा मात्र मञ्चन गरिएको माधवी नाटकभित्र राजा ययातीसँग विश्वामित्र ऋषिका चेला गालब आठ सय अश्वमेधी घोडा दानको रूपमा माग्छन् । तर राजपाठ छोडेर आ श्रममा बसिरहेका राजाले आफूसँग घोडा नभएकाले त्यसको बदलामा छोरी नै दान दिन्छन् ।
छोरी किनभने, माधवीसँग चक्रवर्ती राजा जन्माउन सक्ने क्षमता हुन्छ । त्यही क्षमता प्रयोग गरेर त्यस्ता घोडा भएका राजासँग गालबले घोडा संकलन गरेर आफ्ना गुरुलाई गुरुदक्षिणा दिन सक्नेछन् ।बाबुछोरीबीचको कर्तव्यलाई दानको कारण बनाइएको छ ।
दानस्वरूप पाएकी माधवीलाई लिएर गालब घोडा खोज्न निस्कन्छन् । यात्रामा दुईबीच प्रेम अंकुरित हुन्छ । चक्रवर्ती छोरो जन्माउने आशा कताकता राखे पनि गालब गुरुऋणबाट मुक्त हुने लगावमै रहन्छ । जिम्मेवारीबाट मुक्त भएपछि दुवै सँगै रहने अभिलाशा प्रकट गर्छन् ।
चक्रवर्ती पुत्रका लागि लालायित एकपछि अर्को गर्दै तीनवटा राजाका वीर्य धारण गरी माधवीले छोरा पाइदिन्छिन् । सन्तान पाइसकेपछि पनि कुमारी बनिरहने शक्ति हुन्छ माधवीमा । तर संसारमा अश्वमेधी घोडा तीन राजासँग दुईदुई सयका दरले जम्मा ६ सय वटा मात्र रहेछन् ।
गालबको गुरुदक्षिणा निम्ति दुई सय घोडा पुग्दैनन् । गालबको प्रेममा आसक्त माधवीले अक्किल निकाल्छिन् । तीनवटा राजाबाट ६ सय घोडा गालबबाट पाएर आ श्रममा थुपारेका विश्वामित्रलाई नै चक्रवर्ती छोरा पाउन सहमत गराउँदै दुई सय घोडा गालबलाई उपलब्ध गराउँछिन् र आठ सय घोडा गुरुदक्षिणा दिएपछि गालब गुरुऋणबाट मुक्त हुन्छन् ।
त्यसपछि ययातीको आश्रममा माधवीको स्वयम्बर र गालबको दीक्षान्त समारोहको आयोजना गरिन्छ । त्यहाँ माधवीलाई भोग गरेर चक्रवर्ती छोराहरू पाएका राजा तथा ऋषि विश्वामित्र आएका हुन्छन् । गालब माधवीलाई भेट्न आतुर हुन्छ तर उसको व्यग्रता त्यतिखेर चकनाचुर हुन्छ जब माधवी चार वेत ब्याएकी जीर्ण बूढीका रूपमा प्रस्तुत हुँदै भन्छे, मेरो असली रूपमा मलाई स्वीकार गर गालब । बाबुले दान दिएको पुरुषसँगै म बाँकी जीवन बिताउन चाहन्छु ! तर गालब माधवीलाई कुमारीकै रूपमा खोज्छ, जो कर्तव्य निर्वाहको अनुष्ठानपछि मात्र प्राप्त हुन्छ ।
प्रधानमन्त्री प्रचण्ड मात्र होइन, जनताको तिरो खाएर जनसेवा गर्छु भन्ने राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्कीहरूलाई पनि यो नाटक हेरेर पूर्वीय संस्कृति र सभ्यतामा नारीहरूको स्थान, उच्च गरिमामय, ओजस्वी, सौम्य, ज्यादती र कठोरताको पराकाष्ठा र कर्तव्यपरायणको अवस्थितिदेखि नारी हुनुमा गर्व गर्ने र अघि बढ्ने साहस मिल्नेछ, ऊर्जा प्राप्त हुनेछ ।
माधवी कुमारी हुन चाहन्न किनभने उसलाई अब चक्रवर्ती छोरो जन्माउनु छैन । गालब इन्कार गर्दै भन्छ, तिमीलाई मेरा गुरुले भोगेर छोरो जन्माएकाले म गुरुपत्नीलाई स्विकार्न सक्दिनँ । माधवी भन्छिन्, तिमी पुरुषहरू (विश्वामित्र, गालब, ययाती, राजा हर्यरच–दिबोदास (उसिनेर) को अभिलाषा मबाट पूरा हुन हुने तर यथार्थ रूपमा मलाई स्विकारेर मेरो इच्छा तिमीबाट पूरा हुन किन नहुने ? यसमा नारीको रूपमा मेरो के दोष ?
माधवीको यो भनाइबाट गालब नतमस्तक बन्छ । माधवी एकातिर लाग्छे, गालब अर्कोतिर ! नाटकमा माधवीको भूमिका निर्वाह गर्ने कलाकार अर्चना पन्थीको भूमिका यति सशक्त र जीवन्त छ, उनको एक्टिङ र डाइलगले नरुने दर्शक कोही हुँदैन । उनको धैर्य, शालीन, साहस, स्थिर र सौम्य नारीको प्रतिरूपको एक्टिङ दिव्य छ । त्यस्तै गालबको भूमिकामा धोती बेरेर लामो टुपी पालेका घिमिरे युवराज पनि कम जाज्वल्य छैनन् । ययातीको भूमिकामा जीवन बराल, विश्वामित्र– राम केसी, हर्यश्च– प्रदिप रेग्मी, दिवोदास– सरोज अर्याल, तापस– किशोरकुमार चौलागाई, मारिच– सविन कट्टेल रहेका छन् ।
चरित्रहीन चेली
माधवी हेरिरहँदा पश्चिमाहरूको डोकाको पैसा बोकेका चरित्रहीन चेलीहरूको नारीवादी आडम्बर सम्झनामा आइरह्यो । उनीहरूको कृत्रिम, ढोंगी जागरण प्रदर्शनको पटाक्षेप नाटकमा भइरह्यो । नाटकले चरित्रहीन चेलीको नाउँमा पश्चिमाहरूको खेल र त्यसका मतियार भएर 'स्वतन्त्रता, स्वाभिमान र स्वावलम्बन' को नाउँमा हाम्रो संस्कृति, सभ्यता ध्वस्त बनाउँदै हाम्रा नेता र नक्कली नारीवादी कन्सलट्यान्टहरूलाई आम्दानीको स्रोत बनाउँदै घुमाइरहेको आभास भइरह्यो ।
माओवादीहरू अहिले सत्तामा छन्, तर उनीहरूमा देखिएको साँस्कृतिक विचलन अहिले आमसंस्कृति बन्दैछ । यो गम्भीर कुरा हो र यो समाज विखण्डन गर्ने औजारको रूपमा प्रयोग भइरहेको छ । यिनको पहुँच र प्रयोग कतिसम्म भएको पाइयो भने लेखक, पत्रकार, मिडिया हाउस, सानाठूला पार्टीका नेतागण, ब्युरोक्रेट र स्वनामधन्य बुद्धिजीवीहरू सजिलो आम्दानीको नाउँमा मजैले प्रयोग भइरहेछन् । यो यस्तो प्रवृत्ति बनेर आएको छ, जसबाट सजिलै पैसा कमाउँदै सभ्यता संस्कृतिलाई ३६ सालमा जंगल फाँडे झैँ उजाड बनाउन उद्यत् छ ।
नयाँ जागरण
यस्तो बेलामा स्वयंसेवी एव स्वआर्जन गर्दै नाटकका जाज्वल्यमान युवाहरू पूर्वीय सभ्यता–संस्कृतिसँग सम्बन्धित ग्रन्थ, साहित्यलाई नेपालीमा अनुवाद गर्दै नाटक मञ्चन गरिरहेछन् । नाटक हेर्दै गरेका एक दर्शकले भने— पशुपतिको नजिकै रहेको बत्तीसपुतलीस्थित गोठाले नाटकघरमा (द्वारिका होटेल र बाजेको सेकुवाको बीच ठ्याक्कै पश्चिमपट्टि) यस्तो नाटक मञ्चन गरेर सभ्यता र संस्कृतिबारे आम दर्शकलाई दीक्षित गराइरहेछन् तर हाम्रा नीतिनिर्माता, ब्युरोक्रेट सेकुवा चपाउन र ककटेल खान दिनहुँजसो ती होटेल र रेस्टुरामा लाइन लाग्छन् ।
घन्टौँ बिताइरहेका हुन्छन् तर त्यो बलिरहेको दीप जसले पूर्वीय सभ्यता, संस्कृतिको प्रकाश देखाइरहेको छ, त्यहाँ पसेर डेढ घन्टाको नाटक हेर्न समय निकाल्दैनन् । टिठ लागेर आउँछ ।हस्तक्षेप गर !
हो यहीँनेर हो, हस्तक्षेप गर्ने ठाउँ । प्रचण्डले प्रधानमन्त्री बनेपछि भारतीय समकक्षी मोदीले झैँ तीन घन्टा सुतेर बाँकी २१ घन्टा मुलुकको लागि खर्चन्छु भनेका छन् । एउटा जिल्लाको र त्यो पनि एउटा भेगको उपस्थितिमा उद्घाटन र रिबन काट्ने कार्यक्रममा जान्न पनि भने । तर यस्ता ऊर्जावान् युवाहरूले प्रदर्शन गरिरहेको नाटक हेर्न उनले ९० मिनेटको समय व्यतित गरे भने ती दर्शकले बताए– प्रचण्डले आफ्नो प्रतिज्ञा प्राप्त गर्ने ऊर्जा प्राप्त गर्ने थिए ।
त्यसैले हे पुष्पकमल, तिमी पनि डेढ घन्टाको समय निकाल र पूर्वीय सभ्यता र संस्कृतिबाट ऊर्जा प्राप्त गर । यसो गर्यौ भने तिम्रो हरेक दिनको तलब र भत्ता खाएको भार अलिकति भए पनि हलुका हुन सक्छ ।
प्रधानमन्त्री प्रचण्ड मात्र होइन, जनताको तिरो खाएर जनसेवा गर्छु भन्ने राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्कीहरूलाई पनि यो नाटक हेरेर पूर्वीय संस्कृति र सभ्यतामा नारीहरूको स्थान, उच्च गरिमामय, ओजस्वी, सौम्य, ज्यादती र कठोरताको पराकाष्ठा र कर्तव्यपरायणको अवस्थितिदेखि नारी हुनुमा गर्व गर्ने र अघि बढ्ने साहस मिल्नेछ । ऊर्जा प्राप्त हुनेछ ।
त्यसैले पूर्वीय संस्कृतिमा नारी किन पुजनीय, आदरणीय, सम्माननीय र शक्ति स्वरूपाको रूपले आराध्य छन् ? यो प्रत्यक्ष हेर्न, देख्न र प्रत्यक्ष अनुभूति गर्न सक्छन् । त्यसैले हे देशका प्रमुखहरू हो, शिल्पी थिएटर गएर डेढ घन्टा बिताऊ !
नाटकमा तिमीले देख्नेछौ, शासकहरू, राजामहाराजाहरूको आततायी, भोगविलास, यौनक्रीडा, विच्छृंखलताको पराकाष्ठा कुन हदसम्म थियो ? पूर्वीय सभ्यताका शासक राजामहाराजाहरूप्रति घृणा सिर्जना हुने बिम्बहरू नाटकमा मनगे देख्न पाइन्छ । व्यंग्य र माधवीका कारुणिक भूमिकाले सबैका आँखा रसाउँछन् ।
प्रचण्डलाई नयाँ ऊर्जा
प्रधानमन्त्री प्रचण्डजस्ता भावुक नेतालाई यो नाटकले नयाँ दृष्टिकोण दिन सक्छ । उनी पक्कै भावुक बन्छन्, रुन्छन् । महिलाप्रति कति संवेदनशीलता महसुस गर्छन् ? त्यो त नाटक हेरिसकेपछि मात्र थाहा हुन्छ । तर के कुरा पक्का छ भने नाटकले प्रधानमन्त्रीको रूपमा नयाँ के गरौँ भनेर अलमलिइरहेका प्रचण्डलाई दिशानिर्देश गर्नेछ, ती दर्शकले भने ।
उनले थपे, प्रचण्डले पत्नी सीता, पुत्र प्रकाशलाई र अझ छोरी र बुहारीलाई पनि साथ लिएर माधवी नाटक हेरे भने उनको परिवारभित्रको सांस्कृतिक विचलन ठेगानमा आउन सक्छ र परिवार नै संग्लिन पनि सक्छ ।
नाटक हेरिसकेपछि पूर्वीय सभ्यता, संस्कृति संरक्षण, उत्खनन र जागरणमा संलग्न अनुसन्धाताहरूसँगको छलफलमा निम्न दस कुरा सुझिए
१)राजनीतिक पार्टीका कार्यकर्ता भर्ती गर्ने र जागिर खुवाउँदै गुटबन्दीको अखडाको रूपमा रहेका साँस्कृतिक संस्थान, एकेडेमीलगायत संस्थाहरूको विघटन गरी स्वयंसेवी युवा अभियानलाई राष्ट्रिय अभियानको रूपमा बढाउँदै तिनलाई थोरै आर्थिक सहयोग गरेर देशव्यापी जागरण सिर्जना गर्ने ।
२) प्रत्येक गाउँ/नगरपालिकामा नाट्यघर खोल्दै सार्वजनिक डबली र ओत लाग्ने छानोसहितको थिएटरको व्यवस्था गर्ने ।
३) नगर/गाउँपालिकामा यति धेरै प्रतिभावान् बालबालिका, युवा र वयस्क छन्, तिनलाई नाट्य, नृत्य, संगीत, व्यंग्य, कथा, कविता, मुक्तक, गजल र चुट्किला समूहको रूपमा आबद्ध भई आफ्नो प्रतिभा देखाउने र माझ्ने संस्कृतिको प्रवद्र्धन गर्ने ।
४) विद्यालयस्तरका पाठ्यपुस्तकहरूमा नीतिकथा र नाटकहरूको अंश घट्दो क्रममा छ, त्यसलाई प्रत्येक तहमा अनिवार्य गर्ने ।
५) विद्यालयस्तरमा बालबालिकालाई सहभागी गराई कम्तीमा विद्यालयको वार्षिकोत्सव, अभिभावक दिवस वा बालदिवसहरूमा अनिवार्य रूपमा नाटकसहितको साहित्यिक साँस्कृतिक कार्यक्रम अभियान सुरु गर्ने ।
६) सहरकेन्द्रित सडक नाटकको नाउँ परिवर्तन गरी आँगन, बगैँचा, चौतारी, चौर, बगर नाटक जस्ता नयाँ जागरण अभियानका साथ पूर्ण, एकांकी, गीतिनाटक सुरु गर्ने ।
७) दसैँतिहार, छठ, इद, लोसार, माघी, फागुजस्ता राष्ट्रिय पर्वहरूको अवसरमा वार्षिक रूपमा पूर्वीय सभ्यता साँस्कृतिक जागरण नाटक फेस्टिबल सुरु गर्ने ।
८) प्रत्येक गाउँ/नगरपालिकामा पूर्वीय सभ्यता, संस्कृति प्रवद्र्धन गर्दै राष्ट्रिय संग्रहालय निर्माण गर्ने ।
९) आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न स्थानीय संस्कृति झल्कने पूर्वीय संस्कृति प्रवद्र्धन गर्ने । यसलाई अध्येता, अन्वेषक, साहित्यानुरागी, लेखक, कवि, कलाकार, पत्रकारहरूको भ्रमणस्थलको रूपमा विकास गर्ने ।
१०) पूर्वीय सभ्यता संस्कृति संरक्षण एवं प्रवद्र्धन प्रतिष्ठान खोली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यो सभ्यतामा रहेका ज्ञान, सीप, अनुभव, दर्शन, प्रणाली–पद्धति, रीतिरिवाज रहनसहन र समाज विकासका आयामहरूको अध्ययन–अनुसन्धान, अन्वेषण गरी व्यापक रूपमा फैलाउने ।