बोर्डरका पिल्लर जंगे-बुद्धे
काठमाडौं: 'गोरखपुर उत्तरको दुई देशको सहमतिमा गाडिई निकै वर्षसम्म रहेका जमुना गाउँबाट गएको सीमारेखाका लठ्ठाहरू अंग्रेज सर्भेयरहरूले अचानक हटाएकाले करिब एक सय ६० बिघा नेपाली सरहदको जमिन मिचिएको छ ।
यसबाट हामीलाई ब्रिटिस राजप्रति नराम्रो धारणा (इल फिलिङ) परेको छ', जंगेले ब्रिटिस रेजिडेन्ट जी र्यामसेमार्फत भारत सरकार विदेश विभागका फोर्ट विलियमलाई ७ अप्रिल १८६२ मा रोष प्रकट गर्दै लेखेको चिठीबारे सीमाविद् बुद्धिनारायण श्रेष्ठ तत्कालीन प्रधानमन्त्री जंगबहादुर (जंगे) राणालाई सम्झँदै थिए ।
नेपालका हालसम्मका सबै प्रधानमन्त्रीभन्दा राष्ट्रप्रेमका दृष्टिले जंगे नै सार्वभौमसत्ता जोगाउने र ३१ वर्षसम्म क्रूर शासकका रूपमा चिनिए पनि राष्ट्रको पहिचान बनाउने एकमात्र शासक भएको उनले तर्क गरे ।
उनको आठौं कृति सीमासम्बन्धीको सिंगो र समष्टिगत स्वरूपमा आएको 'जंगे बुद्धे' कृतिको मंगलबार राजधानीमा विमोचनपछि लेखक श्रेष्ठले थपे, 'एक सय ६० बिघा जमिन मिचिएको रहेछ । जंगेले एक सय ६० बिघा जमिन अंग्रेजसँग दाबा गरे । दाबामात्रै गरेनन्, बाजी मारेरै छोडे । के आजसम्मका कुनै प्रधानमन्त्रीले यस्तो हिम्मत गर्न सकेका छन् ? '
जंगेको चिठीको जवाफ ब्रिटिस रेजिडेन्टमार्फत यस्तो आएको उनले सुनाए, 'गभर्नर जनरलले यो निश्चित गरेका छन् कि राप्ती र मोहना नदीको गहिरो भागको सिमाना अड्कन हुने गरी पक्की लठ्ठा नं. १३ देखि २२ र ९८ देखि १७१ खडा गरिनेछन् ।
यद्यपि बीचबीचको (इन्टरमिडियट पिलर) अझै हटाइएको छैन । नदीको धार परिवर्तनका कारण दुई देशको स्थानीय प्रशासनबीच चलिरहेको निकै ठूलो विवाद समाधान हुनेछ ।' सीमाको विषय जटिल र अमूर्त भएकाले अध्ययन र लेखन सहज नभएको प्राध्यापक डा. अभि सुवेदीले बताए ।
उनले भने, 'मलाई सीमाले बोलायो भन्ने बुद्धिनारायण अमूर्त बोर्डरका जंगे पिल्लरहरूलाई जोगाउने अभियानमा हुनुहुन्छ । पिलर जोगाउनु भनेको राष्ट्र र राष्ट्रियता जोगाउनु हो । पिल्लर गाड्ने जंगे र त्यसलाई जोगाउने बुद्धे दुवै बोर्डरका पिल्लर हुन् ।'
शताब्दी पुरुषद्वय राष्ट्रकवि माधव घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीद्वारा विमोचित 'जंगे-बुद्धे'मा श्रेष्ठले गायब भएको वनबासाको जंगे खम्बा, गायब भएको नेपालको झन्डा, ठोरी सीमामा देखिएको जंगे खम्बाको यथार्थ, जलाशयभित्र जंगे सीमाखम्बा, घाइते भएको नेपाली भूमि, जंगे सीमाखम्बाको दर्जा, सुत्दा नेपाली उठ्दा भारतीयजस्ता विषय उठाएका छन् ।
उनले आफूले देखे, भोगे र पढेका कुरामात्र लेखेका छैनन्, सीमाबारे जंगे (जंगबहादुर) देखि बुद्धे (बुद्धिनारायण) सम्मको अवधिमा कसले के भने भनेर एक सय ३६ जना विद्वानेको भनाइसमेत समेटेका छन् । राष्ट्रकवि घिमिरेले कवितामा लेखेका छन्, 'पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं, कुन शक्तिका सामुमा कहिले हामी झुकेथ्यौं ।'
संस्कृतिविद् जोशीले सीमा संग्राम नामक पुस्तकमा भनेका छन्, 'भारतबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता ल्याउने जंगबहादुरको कदम दूरदर्शी थियो ।'
जंगे बुद्धेमा साहित्यकार झमक घिमिरेको भनाइ उद्धृत गरिएको छ, 'देशका सीमा भत्काइँदा मेरा रौं ठाडा भए, देशलाई माया गर्छु भन्ने नै गतिछाडा भए । हाम्रा राजनेताहरू केही कुराको निर्णय लिनु परे रातारात भारत जान्छन् तर नेपालको सीमा सुल्झाउन कसैले पहल गर्दैनन् ।'
मकालु प्रकाशनले बजारमा ल्याएको कृति जंगे-बुद्धेमा ५० पृष्ठ लामो भूमिका (हालसम्मकै लामो) लेख्ने प्राध्यापक डा. खेम कोइराला बन्धुले सीमा र सीमाका खम्बाहरूलाई अमूर्त बनाएर अहिले राष्ट्रभक्ति लोप गराउने काम भइरहेको बताए ।
सन् १८१६ को सुगौली सन्धिको समयमा आन्दोलन भएको र तत्क्षण खुकुरी लिएर जाइलाग्ने राजनीतिक दलहरू अहिले सत्तामा पुग्दा लिपुलेक, कालापानीलगायतमा गुमेको तीन सय ७० वर्गकिलोमिटर नेपाली भूभागबारे मौन रहेको विषय पनि कार्यक्रममा उठाइएको थियो ।