भूराजनीतिक जटिलता र रणनीतिक कौशल

भूराजनीतिक जटिलता र रणनीतिक कौशल

कुनै पनि राष्ट्रको स्थिरता तथा यससँग प्रत्यक्ष सम्बन्ध राख्ने अन्तर्राष्ट्रिय सुरक्षा त्यस देशले आफ्नो भूराजनीतिका आधारमा अवलम्बन गरेको रणनीतिले निर्धारण गर्छ ।

भूराजनीति भन्नाले मुलुकको भूगोलसँगको त्यो सम्बन्धलाई जनाउँछ, जुन त्यहाँको राजनीति, सामाजिक संरचना र जनचाहना, आर्थिक अवस्थाको आधारमा तय गर्नु आवश्यक छ, अन्यथा मुलुक असफल हुने सम्भावना रहन्छ । यसको आधारमा सुरक्षा नीति तथा परराष्ट्र नीति तय गर्नु त अति आवश्यक छ नै, अन्य सरकारी तथा गैरसरकारी नीति पनि यसैका आधारमा चल्न सकेन भने मुलुक कमजोर हुन पुग्छ । तसर्थ भूराजनीतिको सही विश्लेषण गर्न सकिएन भने मुलुकको शक्ति सन्तुलन गड्बडिन्छ ।

नेपालको भूराजनीतिक विशेषता

भूराजनीति यस्तो अध्ययन हो, जसमा राजनीतिलाई भूगोलको आधारमा व्यापक विश्लेषण गरी यसबाट प्राप्त गर्न सकिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभावको आकलन गरिन्छ । यसका आधारमा भूरणनीति तय गर्नु आवश्यक छ अन्यथा कूटनीतिमा मात्र होइन, मुलुक सबै नीतिहरूमा प्रभावहीन हुन सक्छ । नेपालको भूरणनीति पनि यसको भूराजनीतिमा आधारित छ, जसको लागि समग्र भारतीय उपमहादेशको भूराजनीति पनि बुझ्नु आवश्यक छ । यस उपमहादेशमा नेपाललाई प्रत्यक्ष असर पार्न सक्ने भारत, पाकिस्तान, बंगलादेश, र भुटाननजिकका राष्ट्रहरू हुन् भने उत्तरको विशाल चीनले आफ्नो छुटै सामरिक महत्त्व राख्छ ।

तीनतिरबाट भारतद्वारा घेरिएको नेपाल भूराजनीतिको हिसाबले यसको धेरै नजिक छ भने विशाल हिमालपारि रहेको चीन धेरै टाढा छ । यससँगको यातायात सम्बन्ध विस्तारै बढ्दैछ, जसको कारणले जनसम्पर्क र व्यापार पनि निरन्तर बढ्ने अवस्थामा छ । दुवै छिमेकी राष्ट्रहरूसँगको निकटतम सम्बन्ध हाम्रो राष्ट्रिय स्वार्थ प्रवद्र्धनको लागि उत्तिकै आवश्यक छ तर भूराजनीति भारतसँग अनुकूल तथा उसको तुलनामा चीनसँग प्रतिकूल भएकाले भूरणनीति सोहीअनुसार बनाउनु हाम्रो रहर होइन बाध्यता हो ।

चीनको ‘वान बेल्ट वान रोड' अवधारणा र नेपाल

वर्तमान चिनियाँ राष्ट्रपति सी जिनपिङको बहालीसँगै जोडतोडसँग आएको ‘वान बेल्ट वान रोड' अवधारणा पुरानो सिल्करोडमा आधारित छ ।

भारत र चीनको व्यापारिक साझेदारी बढ्दै गएको अवस्थामा नेपालले पनि यसबाट फाइदा लिनु बुद्धिमानी हुन्छ । अहिले चीन यसै अवधारणामा अफ्रिका, दक्षिण अमेरिका, युरोपसम्म पुगिसकेको छ भने अमेरिकासँगको व्यापार उल्लेखनीय रूपमा बढेको छ । भारतसँगको व्यापार पनि विगत वर्षहरूमा ७० विलियन यूएस डलर रहेकोमा अब सय विलियन यूएस डलर पुग्ने अनुमान छ ।

चीनले आफ्नो व्यापारिक रणनीतिअनुरूप नेपालमा पनि आफ्नो सञ्जाल बढाउनेतर्फ अगाडि बढेको तर भारत र चीनबीच नेपालको भूमि लिपुलेक प्रयोग गर्ने सम्बन्धमा नेपाललाई सहभागी नगराउनु दुवै राष्ट्रको नेपालप्रति असल नियत नरहेको स्पष्ट देखिन्छ । यस्ता गतिविधिमा नेपालले प्रतिक्रियात्मक रूपमा मात्र विरोध प्रदर्शन नगरी हुनसक्ने बहुपक्षीय र द्विपक्षीय सन्धि र सम्झौताको पूर्वअनुमान गरी उपयुक्त समयमै आफ्नो राय तथा विरोध सम्बन्धितमा राख्नु अनिवार्य छ ।

पूर्वप्रधानमन्त्री केपी ओलीबाट भएगरिएका चीनसँगका सन्धि र सम्झौताहरूको स्वामित्व वर्तमान सरकारले लिने निर्णय भइसकेकाले सोहीअनुसार कामकारबाही अगाडि बढाउने र कुनै मित्रराष्ट्रको यसमा वाधा, अवरोध छ भने कूटनीतिक रूपमा यसको समाधान गरी आफ्नो राष्ट्रिय हितको प्रवर्द्धन गर्नु श्रेयष्कर हुनेछ ।

नेपाल भारत सम्बन्ध

इस्ट-इन्डिया कम्पनीले नेपालबारे प्रतिपादन गरेको ‘बफर जोन' अवधारणामा आधारित भारतको ‘नेपाल नीति' हालको अवस्थामा कत्तिको सान्दर्भिक छ आफैँमा मननयोग्य छ । समयको माग र परिवर्तन हुँदै गएको जनभावनालाई उचित मूल्यांकन गरी नीति परिमार्जन नगरे त्यो प्रत्युत्पादक हुन सक्छ भन्ने नीतिकारले बुझ्नु आवश्यक छ । अहिलेको आधुनिक विश्वमा कसैको ढालको रूपमा कोही प्रयोग हुन सक्दैन ।

यो ‘बफर जोन' पनि त्यसैमा आधारित छ । तर हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रले अर्को सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सुरक्षा चासोलाई भने नजरअन्दाज गर्न मिल्दैन । सञ्चारको बढ्दो पहुँचबाट अहिले समाजमा सबै जानकार तथा जागरुक छन् । किन र कसरी तथा कसले आफ्नो अधिकार संकुचित बनायो, यसबारे जिम्मवार समूह सचेत नभएमा विवादित हुनुपर्ने अवस्था कसैबाट लुकेको छैन ।

नेपाल भारत मैत्री सन्धि- १९५० मुख्यगरी बहुसंख्यक नेपालीबाट रुचाइएको छैन । यो नेपाल कमजोर भएको अवस्थामा ढल्न लागेको राणा प्रधानमन्त्रीलाई सही गराएर लागू गरियो र यसको पुनरावलोकन गर्न पटकपटक नेपाली पक्षबाट प्रयास हँदा पनि सफल हुन सकेको छैन । हालैको प्रबुद्ध समूह बैठकमा जुन प्रकारले नेपाललाई भुटानको जस्तो खुसी मुलुक भएको भारत देख्न चाहन्छ भन्ने कुरा आएको छ, यसमा बहुसंख्यक नेपाली सहमत छैनन् ।

त्यसैगरी नेपाल भारत सीमामा जंगे पिगर नै आवश्यक छैन भन्ने अभिव्यक्ति आयो, यसले भारतको आशयलाई लिएर टीकाटिप्पणीहरू भए जुन द्विपक्षीय सम्बन्धलाई बढाउनेभन्दा पनि नकारात्मक दिशातर्फ लैजाने देखिन्छ ।

दुई देशको सम्बन्धको जग जनसमर्थनबाट प्राप्त हुन्छ । पाँचमहिने नाकाबन्दीले ओली सरकारलाई भन्दा पनि नेपाली जनतालाइ पिरोलेको थियो भन्ने भारतीय संस्थापनले बुझ्न सकेन, चाहेन । २०४५ को नाकाबन्दी पनि राजसंस्थालाई केन्द्रित थियो, तर यसको मार नेपाली जनताले बेहोरे । खुकुरीको मार अचानोलाई थाहा हुन्छ भने झैँ नाकाबन्दीको पीडा भुल्न नेपालीलाई धेरै समय लाग्नेछ ।
अहिले भुटानीहरू खुसहाल रहेको कुरा गर्दा शदीयौँदेखि बसोवास गरिआएका नेपाली मूलका लाखौँ भुटानी विस्थापित गरी लादिएको प्रजातन्त्रमाथि त्यहींका जनता खुसी छैनन् भन्ने कुरा विस्तारै सतहमा आउँदैछ ।

आफ्नो भूराजनीतिक जटिलता महसुस गर्दै राष्ट्रसंघको बडापत्र तथा पञ्चशीलको सिद्धान्तमा आधारित रही छिमेकीको जायज चाहनालाई समेत ध्यान दिएर नेपालले माटोसुहाँउदो नीतिनिर्माण र कार्यान्वयनमा जुट्नु जरुरी छ ।

नेपालसँग भुटानको सीमा नजोडिएकाले भुटानी नागरिकहरू प्रथमतः भारतमा शरणार्थी भएका हुन् तर नेपाली भाषा बोल्ने र नेपाली मूलका भएका कारण उनीहरूलाई नेपालमा खेदिएको थियो । नेपाल भारत खुला सिमानाको दुरुपयोग यहाँ टट्कालै भएको पाइन्छ ।

तिब्बतबाट अवैधानिक रूपमा नेपाल प्रवेश गर्ने तिब्बतीहरू खुला नाकाको फाइदा उठाउँदै सहजै भारतको धर्मशाला आवतजावत गर्ने गरेको समेत सबैलाइ ज्ञात भएकै कुरा हो । २० हजारको हाराहारीमा रहेका तिब्बती र ठूलो संख्यामा रहेका भुटानी शरणार्थीहरूको कारण नेपाललाई थप जटिलता बेहोर्नुपरेको सर्वविदितै छ ।

परराष्ट्र नीतिमा यसको असर

राजा पृथ्वीनारायण शाहको दिव्योपदेशदेखि लिएर राजा महेन्द्रले शीतयुद्धकालमा अवलम्बन गरेको नीति तथा राजा वीरेन्द्रको ‘शान्ति क्षेत्र प्रस्ताव' लाई मध्यनजर राख्दा नेपालको भूराजनीतिको संवेदनशीलता राम्ररी बुझेको पाइन्छ ।

त्यसैगरी जननायक बीपी कोइरालाले ‘राजासँग आफ्नो घाँटी जोडिएको' जस्तो अभिव्यक्तिका साथ भारत निर्वासनबाट नेपाल फर्किएको र मनमोहन अधिकारीद्वारा १९५० को सन्धि संशोधनको निमित्त भारतलाई आधिकारिक रूपमा प्रस्ताव पेस गर्नु यसको गम्भीर मननको कारण हो भन्न सकिन्छ ।

यसैगरी राजा महेन्द्रद्वारा १९५५ मा विविध कठिनाइ हुँदाहुँदै पनि नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गराउनु र राजा वीरेन्द्रले १९७३ मा ‘शान्ति क्षेत्र प्रस्ताव' माथि ११६ राष्ट्रहरूको समर्थन प्राप्त हुनु आफैँमा गौरवको विषय थियो ।

त्यसपछिको कालखण्डमा नेपालले संयुक्त राष्ट्रसंघको बडापत्रलाई आधार मान्दै पञ्चशीलको सिद्धान्तमा आफ्नो परराष्ट्रनीति कायम राख्ने प्रयास त गरेको छ, तर दसबर्षे माओवादीको जनयुद्धबाट सिर्जित संक्रमणकालको कारण यसलाई गति दिन सकेको आभास भने नेपाली जनताले महसुस गर्न सकेका छैनन् ।

नेपालको अबको बाटो

आफ्नो भूराजनीतिक जटिलता महसुस गर्दै राष्ट्रसंघको बडापत्र तथा पञ्चशीलको सिद्धान्तमा आधारित रही छिमेकीको जायज चाहनालाई समेत ध्यान दिएर नेपालले माटोसुहाँउदो नीति निर्माण र कार्यान्वयनमा जुट्नु अहिलेको आवश्यकता हो । यसको लागि उच्चस्तरको इच्छाशक्तिसहित लोकतन्त्रको संस्थापन, सुशासन तथा कानुनी राज्यको स्थापना नै पहिलो लक्ष हुनुपर्छ । अब पनि हामी चुक्यौँ भने नेपाली जनताले कसैलाई छोड्ने छैनन् ।

भट्टराई त्रिविमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापन गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.