साढे २ लाख आप्रवासी युरोप छिरे
बर्लिन जर्मनीः आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले सन् २०१६ मा विभिन्न देशबाट युरोप पुग्ने आप्रवासी एवं शरणार्थीको संख्या २ लाख ६० हजारभन्दा बढी पुगेको जनाएको छ ।
विभिन्न देशबाट समुद्री बाटो भएर असुरक्षित डुंगाको सहयोगमा युरोप पुग्ने क्रममा यस वर्ष ३ हजार १ सय आप्रवासीको यात्राका क्रममा समुद्रमा डुबेर मृत्यु भएको बताइएको छ । आइओएमले मंगलबार दिएको तथ्यांक अनुसार भूमध्यसागरीय क्षेत्रको बाटो युरोप शरणार्थी एवं कामको सिलसिलामा सन् २०१६ मा २ लाख ६३ हजार ६ सय ३६ मानिस युरोप पुगेका हुन् ।
यो संख्या सन् २०१५ को सोही अवधिमा युरोप पुग्ने शरणार्थीको तुलनाामा करिब ९१ हजार कम रहेको आइओएमको दाबी छ । यसरी युरोप पुग्ने आप्रवासीमध्ये सबैभन्दा धेरै १ लाख ६० हजार मानिस ग्रिसको बाटो हुँदै युरोप छिरेका छन् भने १ लाख २ सय ४४ आप्रवासी शरणार्थी इटाली हुँदै युरोप आएका हुन् ।
आइओएमले आप्रवासीको युरोप आगमनमा कमी देखिए पनि असुरक्षित डुंगा यात्राद्वारा युरोप प्रवेश गर्ने क्रममा सन् २०१५ मा २ हजार ७ सय ५४ आप्रवासीको मृत्यु भएकोमा यस वर्ष त्यो संख्या ४ सय ७६ ले बढी भई ३ हजार १ सय ७६ पुगेको बताइएको छ ।
आप्रवासीलाई असुरक्षित यात्रा नगर्न उक्त क्षेत्रका सरकार तथा यहाँ कार्यरत विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनमार्फत जनचेतना फैलाउने कार्य गरिए पनि चरम द्वन्द्व वा गरिबीको सिकारबाट बच्न युरोप पुग्ने एसियाली तथा अफ्रिकी नागरिकको संख्यामा भने कमी आउन सकेको छैन ।