बंगलादेशका पूर्वसांसदलाई मृत्युदण्ड
ढाकाः बंगलादेशको युद्ध अपराधसम्बन्धी एक विशेष अदालतले यहाँका एक पूर्वसांसदलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
साथै उक्त अदालतले थप सातजना राजनीतिकर्मीलाई युद्धअपराध गरेको आरोपमा जन्मकैद फैसला सुनाएको छ । ती सांसदले सन् १९७१ मा बंगलादेशमा भएको स्वतन्त्रता आन्दोलनमा युद्धअपराध गरेको ठहर त्यस अदालतले गरेको छ । ती सांसदलाई सघाउने अरू सातजनालाई अदालतले जन्मकैदको सजाय सुनाएको हो ।
मृत्युदण्डको सजाय सुनाइएका नेता सेखावत हुसैनले स्वतन्त्रता संग्रामका बेला स्वतन्त्र बंगलादेशको पक्षमा लागेका नागरिकको हत्या र ज्यादती गरेका थिए । हाल उनी बंगलादेशका पूर्वराष्ट्रपति हुसैन मोहम्मद एर्सादको पार्टीका नेता थिए । उनीविरुद्ध कैयौं व्यक्तिको हत्या गरेको अरोप लागेको थियो ।
त्यस आरोपको सुनुवाइ बंगलादेशको राजधानी ढाकामा रहेको युद्धअपराधसम्बन्धी अदालतमा भइरहेको थियो । सेखावत हुसैन सन् १९९१ मा बंगलादेशको सांसद भएका थिए । उनी त्यस समयदेखि नै कैयौं निर्दोष नागरिकका हत्यारा र बलात्कारीका रूपमा स्वतन्त्रता पक्षधरबीच चित्रित हुँदै आएका थिए ।
सन् २००९ मा शक्तिमा आएपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले युद्ध अपराधसम्बन्धी उक्त अदालतको स्थापना गरेकी हुन् ।
उनी बंगलादेशका स्वतन्त्रता सेनानी सेख मुजिबर रहमानी छोरी हुन् । बंगलादेशले सुरु गरेको स्वतन्त्रता संग्रामको समयमा भएको आमहत्या, बलात्कार र अत्याचारका विरुद्ध यस अदालतले कारबाही गर्दै आएको छ ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जियालाई भने जमानत मिलेको छ । राजद्रोह लगायतका ९ वटा मुद्दामा उनलाई यस्तो जमानत मिलेको हो । मेट्रोपोलिटन सत्र न्यायाधीश कामरुल हसन मुल्लाले यस्तो फैसला सुनाएका थिए ।
गत वर्ष जियाले सन् १९७१ के स्वतन्त्रता संग्रामका सहिदको अपमान गरेको आरोपमा मुद्दा चलिरहेको थियो ।