मदनको ‘तिम्रो खबर’ को म्युजिक भिडियो सार्वजनिक
काठमाडौँः गायक मदन गोपाल नयाँ एल्बम ‘तिम्रो खबर’को तयारीमा छन् । एल्बममा समावेश गीत ‘तिम्रो खबर’को म्युजिक भिडियो शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ ।
दसैंअगाडि सार्वजनिक गर्ने तयारी भइरहेको एल्बममा समावेश यो गीतको संगीत तथा एरेन्ज पाकिस्तानी कलाकार इमाद रहमानले गरेका हुन् । पारस नेपालको शब्द रहेको गीतको मिक्सिङ र मास्टरिङ प्लानेट अडियो कराँचीमै गरिएको हो ।
गीतको म्युजिक भिडियोको निर्देशन सुरजसिंह ठकुरीले गरेका छन् । म्युजिक भिडियोमा कलाकार भोलाराज सापकोटा, वर्षा शिवाकोटी र केभिन कार्कीले अभिनय गरेका छन् । गीतको ‘डुएट भर्सन’ उर्दु र नेपालीमा चाँडै सार्वजनिक हुने जानकारी गायकले दिए ।
यसअघि ‘अलमोस्ट’, ‘आकृति’, ‘लक्ष्मी’ र ‘कामिनी’ एल्बम बजारमा ल्याइसकेका मदनको यो पाचौं एल्बम हो । आधुनिक र पप फ्लेभरका १० वटा गीत समावेश हुने एल्बमलाई म्युजिक नेपालले बजारमा ल्याउनेछ ।