भारत र चीनमा विशेषदूत पठाउदै प्रधानमन्त्री प्रचण्ड

 भारत र चीनमा विशेषदूत पठाउदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत र चीनमा विशेष दूत पठाउने भएका छन् । दुई छिमेकीसँगको सम्बन्धलाई सुदृढ र सन्तुलित बनाउने उद्देश्यका साथ सरकारले दुई उपप्रधानमन्त्रीलाई विशेष दूतका रुपमा छिमेकी मुलुकमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहिबार सिंहदरवारमा बसेको बैठकले प्रधानमन्त्रीका विशेषदूतका रुपमा उपप्रधानमन्त्री बिमलेन्द्र निधिलाई भारत र अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई चीनमा पठाउने निर्णय गरेको हो ।

अघिल्लो सरकारका पालामा भारतसँग बिग्रिएको सम्बन्ध सुधार्न र नयाँ सरकार गठन भएपछि चिनियाँमा बढेको आशंका मेटाउन सरकारले उपप्रधानमन्त्री निधि र महरालाई भारत र चीन पठाउने निर्णय गरेको हो । नयाँ सत्ता समीकरणको औचित्यसहितको सन्देश प्रवाह गराउन र दुवै छिमेकी मुलुकमा रहेको अविश्वास र आशंकालाई मेटाउन सरकारले दुई उपप्रधानमन्त्रीलाई छुट्टा छुट्टै मुलुकमा प्रधानमन्त्रीको बिशेषदूतका रुपमा पठाउने निर्णय गरिएको कृषिमन्त्री गौरीशंकर चौधरीले जानकारी दिए ।

चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई सुनिश्चित गराउन, भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमण गर्ने वातावरण बनाउन, नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको माहोल तयार गर्न र दुवै मुलुकमा रहेको अविश्वास र आशंका मेटाउन मन्त्रिपरिषदले भारत र चीनमा प्रधानमन्त्री दाहालको बिशेष दूतमा आफूहरुलाई पठाउने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री निधिले जानकारी दिए ।

निधिका अनुसार बिशेषदूतका रुपमा पठाउनु अघि प्रधानमन्त्री दाहालले छुट्टै विशेष निर्देशन दिनेछन् । त्यसबारेमा गृहकार्य भइरहेको निधिले बताए । निधि र महरालाई एक साता भित्रै भारत र चीनमा विशेषदूतका रुपमा पठाउने गृहकार्य शुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री निधिले भने आफूहरु छिटै भारत र चीनमा प्रधानमन्त्रीको विशेषदूतका रुपमा जान लागेको जानकारी दिए । ‘हामी जानु भन्दा पहिला प्रधानमन्त्रीले हामीलाई बोलाएर छुट्टै निर्देशन दिनुहुनेछ’, निधिले भने । उनले भारत र चीनका कुन तहका नेतासँग भेटघाट हुने भन्नेबारेमा केहि बताउन चाहेनन ।

परराष्ट्र मन्त्रालयका अनुसार भारत र चीनमा बिशेषदूत पठाउन दुवै मुलुकसँग कुटनीतिक परामर्श गरी भ्रमणको मिति तय गरिनेछ । परराष्ट्र सचिव शंकरदास बैरागीले मन्त्रिपरिषदले गरेको निर्णय बमोजिम दुवै मुलुकको भ्रमणको मिति आपसी परामर्शमा तय हुने बताए । ‘नयाँ सरकार गठनको सन्देश प्रवाह गर्न र सम्बन्ध विस्तारका लागि’निधिलाई भारत र महरालाई चीन भ्रमणमा पठाउने निर्णय गरिएको कृषि मन्त्री चौधरीले जानकारी दिए ।

मन्त्री चौधरीका अुनसार दुवै उपप्रधानमन्त्रीलाई बाटोको म्याद बाहेक दुई —दुई दिनको समय सम्बन्धित मुलुकको राजनीतिक नेतृत्वसँग भेटवार्ता गरी सम्बन्ध सुधार्न केन्द्रित गर्नेछन । ‘उहाँहरुलाई बाटोको म्याद बाहेक दुई दिनको समय दिइएको छ’, मन्त्री चौधरीले अन्नपूर्णसँग भने । दुवै उपप्रधानमन्त्रीले सम्बन्धित मुलुकको भ्रमण गर्दा परराष्ट्र मन्त्रालयका अधिकारीसहितको सानो टोली लिएर जानेछन् ।

प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री ली खछियाङले बधाई तथा शुभकामना दिएका थिए । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निमन्त्रणा नै दिएका छन् । चिनियाँ राजदूत ऊ चुन्ताईले प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै दाहाललाई उनकै निवासमा भेटेर बुकी फूलका साथै शुभकामना दिएका थिए भने भारतीय राजदूत रन्जित रेले भोलिटपल्ट निवासमै पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरी बधाई दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.