अविश्वास हटाउन भारत र चीनमा विशेष दूत

अविश्वास हटाउन भारत र चीनमा विशेष दूत

काठमाडौंः भारत र चीनसँगको सम्बन्ध सुदृढ र सन्तुलित बनाउने उद्देश्यसाथ सरकारले दुई उपप्रधानमन्त्रीलाई विशेष दूतका रूपमा छिमेकी मुलुकमा पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको हो । निधि र महरालाई एक साताभित्रै भारत र चीनमा विशेष दूतका रूपमा पठाउन गृहकार्य सुरु गरिएको छ ।

अघिल्लो सरकारका पालामा भारतसँग बिग्रिएको सम्बन्ध सुधार्न र नयाँ सरकार गठन भएपछि चिनियाँहरूमा बढेको आशंका मेटाउन सरकारले उपप्रधानमन्त्री निधि र महरालाई भारत र चीन पठाउने निर्णय गरेको हो ।

नयाँ सत्ता समीकरणको औचित्यसहितको सन्देश प्रवाह गराउन र दुवै छिमेकी मुलुकमा रहेको अविश्वास र आशंका मेटाउन सरकारले दुई उपप्रधानमन्त्रीलाई छुट्टाछुट्टै मुलुकमा प्रधानमन्त्रीको विशेष दूतका रूपमा पठाउने निर्णय गरेको जानकारी कृषिमन्त्री गौरीशंकर चौधरीले दिए ।

चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सुनिश्चित गराउन, भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमण गर्ने वातावरण बनाउन, प्रधानमन्त्री दाहालको भारत भ्रमणको वातावरण तयार गर्न र दुवै मुलुकमा रहेको अविश्वास र आशंका मेटाएर सम्बन्ध सुदृढ र सुमधुर बनाउन मन्त्रिपरिषद्ले भारत र चीनमा प्रधानमन्त्री दाहालको विशेष दूतमा आफूहरूलाई पठाउने निर्णय गरेको जानकारी उपप्रधान तथा गृहमन्त्री निधिले दिए ।

 

निधिका अनुसार विशेष दूतका रूपमा पठाउनुअघि प्रधानमन्त्री दाहालले छुट्टै विशेष निर्देशन दिनेछन् । त्यसबारे गृहकार्य भइरहेको निधिले बताए ।

निधिले आफूहरू छिट्टै भारत र चीनमा प्रधानमन्त्रीको विशेष दूतका रूपमा जान लागेको जानकारी दिए । ‘हामी जानुभन्दा पहिला प्रधानमन्त्रीले हामीलाई बोलाएर छुट्टै निर्देशन दिनुहुनेछ', निधिले भने ।

भारतसँग बिग्रिएको सम्बन्ध  सुर्धानर चिनियाँहरुको आशंका मेटाउन दुई उपप्रधानमन्त्रीलाई सरकारले विशेष दूतको रुपमा पठाउन लागेको हो । 

उनले भारत र चीनका कुन तहका नेतासँग भेटघाट हुने भन्नेबारेमा केही बताउन चाहेनन् । महराका स्वकीय सचिव हिमाल शर्माका अनुसार चीनका उपप्रधानमन्त्री वाङ याङ र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओसँग उपप्रधानमन्त्री महराले भेट गर्ने कार्यतालिका बनिसकेको छ ।

‘पहिलोपटक प्रधानमन्त्री हुँदा अगाडि सारेको चीन, नेपाल र भारतको त्रिदेशीय रणनीतिक समझदारीको प्रस्ताव सार्थक बनाउन प्रधानमन्त्रीले दुवै मुलुकमा विशेष दूत पठाउने निर्णय गर्नुभएको हो', शर्माले अन्नपूर्णसँग भने । उपप्रधानमन्त्री महराले बिहीबार पूर्वअर्थसचिवहरूसँग मन्त्रालयमा गरेको छलफलमा चीन भ्रमणका क्रममा आफूले उठाउनुपर्ने विषयमा सुझाव लिएका थिए ।

परराष्ट्रसचिव शंकरदास बैरागीले मन्त्रिपरिषद्ले गरेको निर्णयबमोजिम दुवै मुलुकको भ्रमणको मिति आपसी परामर्शमा तय हुने बताए । ‘नयाँ सरकार गठनको सन्देश प्रवाह गर्न र सम्बन्ध विस्तारका लागि' निधिलाई भारत र महरालाई चीन भ्रमणमा पठाउने निर्णय गरिएको जानकारी कृषिमन्त्री चौधरीले दिए ।
मन्त्री चौधरीका अनुसार दुवै उपप्रधानमन्त्रीलाई बाटोको म्यादबाहेक दुईदुई दिनको समय सम्बन्धित मुलुकको राजनीतिक नेतृत्वसँग भेटवार्ता गरी सम्बन्ध सुधार्न केन्द्रित गर्न दिइएको छ । ‘उहाँहरूलाई बाटोको म्यादबाहेक दुई दिनको समय दिइएको छ', चौधरीले अन्नपूर्णसँग भने ।

दुवै उपप्रधानमन्त्रीले सम्बन्धित मुलुकको भ्रमण गर्दा परराष्ट्र मन्त्रालयका अधिकारीसहितको सानो टोली लिएर जानेछन् ।

आगामी असोज २९—३० (अक्टोबर १५—१६) मा चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतको गोवामा हुने ब्रिक्स राष्ट्रहरूको आठौं सम्मेलनमा सहभागी हुने क्रममा नेपाल भ्रमण गर्नसक्ने सम्भावना व्यक्त गरिँदै आएको छ भने भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई आगामी असोज ३ गते हुने संविधान दिवसमा अतिथि बनाउने गरी भ्रमण गराउन प्रयास हुने बताइएको छ ।

संविधान जारी हुनुअघि र जारी भएयता नेपाल-भारत सम्बन्धमा चिसोपना देखिएको र केही असहज परिस्थिति बनेको स्मरण गराउँदै उपप्रधानमन्त्री निधिले त्यसलाई अझै राम्रो बनाउनमा आफ्नो भारत भ्रमण केन्द्रित रहने बताए ।

उनका अनुसार प्रधानमन्त्रीका तर्फबाट भारतका राष्ट्रपतिको नेपाल भ्रमणका लागि निम्तो दिने, नेपालका प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले दिएको भ्रमणको निमन्त्रणाबारे कुरा गर्ने र नेपाल-भारत सम्बन्धलाई अझ बलियो बनाउनेबारे छलफल हुनेछ । ‘अब नेपाल-भारत सम्बन्ध सुमधुर हुनेछ ।

छिट्टै हाम्रो प्रधानमन्त्रीले पनि भारत भ्रमण गर्नुहुनेछ । भ्रमणको गृहकार्य परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासले गरिरहेका छन्', रिपोर्टर्स क्लबले बिहीबार गृह मन्त्रालयमा आयोजना गरेको साक्षात्कारमा उपप्रधानमन्त्री निधिले भने, ‘उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा पनि प्रधानमन्त्रीको विशेष दूतका रूपमा चीन जाँदै हुनुहुन्छ ।

उहाँले पनि द्विपक्षीय सम्बन्ध मजबुत बनाउने, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय गर्नेलगायत विषयमा छलफल गर्नुहुनेछ ।'

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाई तथा शुभकामना दिएका थिए । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निमन्त्रणा दिइसकेका छन् ।

चिनियाँ राजदूत ऊ चुन्ताईले प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दाहाललाई उनकै निवासमा भेटेर बुकी फूलका साथै शुभकामना दिएका थिए भने भारतीय राजदूत रन्जित रेले भोलिटपल्ट निवासमै पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरी बधाई दिएका थिए ।

प्रधानमन्त्री दाहालले भारत र चीन दुवै मुलुकसँग कूटनीतिक सन्तुलन कायम गरिने बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.