पहिलो नेपाली एनिमेशन चलचित्र 'शंखधरको कथा' (भिडियोसहित)
परम्परागत् कलाका लागि नेपाल विश्वमै उत्कृष्ट मानिन्छ र गएको दशकमा कम्प्युटर विज्ञानको शिक्षण र उपयोगितामा पनि नेपालले ठूलो फड्को मारिसकेको छ।
यी दुवै संकायको मिश्रण मानिने एनिमेशन कलाको नेपालमा पनि विकास हुन सक्यो भने देशले लिन खोजेको नयाँ मोंडमा केहि सहयोग अवश्यै पुग्नेछ। रोजगारी र व्यवसायको अवसर सिर्जना हुनुको साथसाथै नेपाली कला र संस्कृतिले पनि नयाँ युगमा प्रवेश गर्ने आशा लिनसकिन्छ।
आज भन्दा १५ वर्ष अगाडि नेपालमा एनिमेशन सम्बन्धि कुरा गर्दा धेरैले बुझ्दैनथे। त्यस ताका एनिमेशन शब्द निकै नयाँ थियो। यहाँसम्म कि इञ्जिनियरिंग परिषदमा दर्ता हुन जाने बेलामा समेत 'एनिमेटर भनेको पनि पेशा हुन्छ र?' भनेर सोध्थे। डेढ दशक अगाडि मैले एउटा ठूलो सपना देखेको थिएँ, - नेपाली भाषामा एनिमेशन चलिचत्रको निर्माण गर्ने।
जसका लागि नेपालमै बसेर ९ महिना लामो संघर्ष पनि गरें। तर एनिमेशन भनेको त्यति सजिलो विधा हैन। संसारका विभिन्न ठाउँमा छरिएर रहेका ५०० जति दक्ष प्राविधिक र कलाकारहरू मिलेर ५-६ वर्ष निरन्तर काम गरे पछि १-२ घण्टाको चलचित्र तयार हुन्छ। त्यस ताका हामीलाई यस कुराको राम्रो ज्ञान थिएन।
आज आएर नेपाली प्राविधिकहरू विश्वभर फैलिएर काम गरिरहेको अवस्था छ। गएको दुई दशकभित्र मैले नबनाए पनि एनिमेशन चलचित्र कसै न कसैले त बनाउलान् भन्ने म सोच्थें तर त्यो हुन सकेन। ठूलो योजनाका लागि लगानी र प्रविधि मात्र नभएर उत्तिकै ठूलो सपना पनि देख्नु पर्दो रहेछ भन्ने मैले बुझें।
गएको ६ वर्ष भित्र मेरो संकल्पमा आगोमा घ्यू थप्ने काम बेलायतको पासा पुच: गुथि नामको सांस्कृतिक संस्थाले गर्यो। यहाँ मैले नेपाली संस्कृति र नेपालभाषा सिक्ने मौका पाएँ। महासचीवका रूपमा गुथिको सेवा गर्ने क्रममा सत्यमोहन जोशी, कमल प्रकाश मल्ल, काशीनाथ तमोट, मानिकलाल श्रेष्ठ, गणेशराम लाछी र बालगोपाल श्रेष्ठ जस्ता नेपाली इतिहास र संस्कृतिका विद्वानहरूसँग धेरै कुरा सिक्ने मौका पाएँ। फलत:, नेपाली एनिमेशन कलाको रूपरेखा कस्तो हुनुपर्छ भन्ने बारेमा सोच्न मलाई सजिलो हुँदै गयो।
भिडियो हेर्नुहोस्
गएका चार दशक भित्र नेपाली इतिहास र संस्कृतिका बारेमा बेलायत र अमेरिकाका प्राध्यापकहरूले निकै शोधकार्य गरिसकेका छन् र त्यहाँका संग्रहालयहरू हाम्रा परम्परागत् कलाले खचाखच् भरिएका छन्। सत्यमोहन बाजेको हात समातेर बेलायती संग्रहालयहरू चहार्दा गर्वले छाती चौडा मात्र भएनन्, आजको युगमा हाम्रो परम्परागत कलाले कसरी नयाँ दिशा लिन सक्ला भन्ने चिन्ता र कर्तव्यबोधले आँखा पनि रसाए। अनि जति सुकै गार्हो भए पनि एक पल्ट फेरि प्रयास गर्ने मैले अठोट गरें।
आज भन्दा ११३६ वर्ष अगाडि काठमाडौंको मरू टोल निवासी शंखधर साख्वा नाम गरेका एक साधारण व्यापारीले जनताको ऋण तिरिदिएको भनाइ छ। यसका बारेमा केहि सामान्य तथ्यहरू पनि भेटिएका छन्। सो दिनलाई नेवार समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएको हो भने नेपाल सरकारले समेत साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिसकेको छ।
कुनै बेला खुशीमा मग्न काठमाडौं, गएको सालको भूकम्प पछि क्षत्-विक्षत् भएको छ। नेपालीले आँटेमा त्यस स्वर्ण युगलाई फेरि पनि दोहर्याउन सक्ने र त्यसका लागि दर्हो अठोट, कडा मिहिनेत र आपसी सद्भावको खाँचो हुने कुरालाई आधार मानेर शंखधरको चरित्रचित्रण र प्राचीन नेपालको परिवेशमा आधारित 'शंखधरको कथा' नामक चलचित्रको निर्माण गर्दैछु।
यसको लेखन अघि ४ वर्ष जति शोधकार्यमै लागेको थियो भने गएका तीन वर्षमा नेपाल संवतको पहिलो दिन पार्दै लण्डन स्थित नेपाली दूतावासमा मैले कार्यपत्रहरू पनि पेश गर्दै आएकोछु।
नेपालको प्रथम एनिमेशन चलचित्र 'शंखधरको कथा' नेपालभाषा र नेपालीमा अंग्रेजी सब्टाइटल सहित निस्कनेछ। गत महिना अमेरिकाको वाशिंगटनमा आयोजित विश्व वा: सम्मेलनमा यसको टीजरले दर्शकहरूको प्रशंसा पायो भने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट यस वर्षको सिर्जनात्मक कलातर्फ विशेष पुरस्कार पनि पाउन सफल भयो। गत साता मात्र बेलायतमा यसको संगीत विमोचन कार्यक्रम संपन्न भयो जसमा मेरो आफ्नै शब्द रचनामा निशा देशारले स्वर र विश्व शाहीले संगीत दिनुभएको छ।
श्रीमती अञ्जना श्रेष्ठ र भाइ नियुक्त श्रेष्ठको निरन्तर सहयोगका साथै मेरा सहृदयी मित्रहरू नायिका-निर्देशक सुनिता राजभण्डारी, लेखक-शोधकर्ता सुभाषराम प्रजापति र संगीतज्ञ गंगा थापा लगायतको युवा टोलीको भरमा यस योजनाले मूर्त रूप लिइरहेको छ।
त्यसै गरी सल्लाहकार सचेतन तुलाधर र उपाध्यक्ष ओजेष सिंह लगायत पासा पुच: परिवारले यसको कार्यान्वयनमा गति प्रदान गर्नुभएको छ भने बेलायतका लागि चलचित्रको बजारिकरणको जिम्मेवारी इमर्ज मार्केटिंगले लिएको छ। यन्त्रकला स्टुडियोजको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको प्रस्तुति नेपाल संवत् नववर्ष ११३७ का दिन बेलायतमा पासा पुच: गुथिले गर्नेछ भने अन्य विभिन्न देशहरूबाट पनि आ-आफ्नो देशमा प्रस्तुतिको प्रस्ताव आइरहेका छन्।
-लेखक विगत एक दशकदेखि बेलायतको लण्डनमा एनिमेटर र गेम् डेवलपरका रूपमा कार्यरत् छन् ।