मैले जे गर्यो त्यही स्टायल, जे लगायो त्यही फेसन
चलचित्र ‘जुनी'का लागि कलाकार मागेको गोरखापत्र र राइजिङ नेपालमा पढेपछि म पनि अडिसनको लागि त्यहाँ गएँ ।
अहिले बरु कुनै पनि चलचित्रमा नायकनायिका हुनु सजिलो छ । तर त्यतिबेला ठूलै तपस्या गरे जस्तै हुन्थ्यो । निकै गाह्रो थियो । अनि यसरी कलाकार बनिसकेपछि इज्जत पनि धेरै पाइन्थ्यो । मानिसले भगवान्लाई जस्तै मान्थे । त्यो चलचित्रका लागि तीन दिन लगाएर अडिसन लिइएको थियो । मेरो पालो अन्तिम दिन परेको थियो ।
चलचित्रको अडिसन लिने बेलामा त्यसकी निर्मात्री मञ्जु राणा, नायिका मीनाक्षी आनन्द र बम्बईबाट आएका निर्देशकलगायतका प्राविधिक टोली पनि सँगै थिए । मलाई उनीहरूले एउटा डायलग बोल्न दिएका थिए । त्यसपछि मलाई एउटा गीत बजाएर त्यसमा नृत्य गर्न लगाइएको थियो । त्यो पनि मैले राम्रै गरेँ । केही दिन पछि म छानिएँ भनेर घरमा फोन आयो ।
कन्ट्रयाक्ट पेपरमा साइन गर्नका लागि शीतल निवासपछाडि रहेको मञ्जु राणाको घरमै गएको थिएँ । चलचित्रमा काम गर्न सुरु गरेको पहिलो दिन एउटा गीतको सुटिङ भएको थियो । अभिनयमा लाग्नुभन्दा पहिले मैले रेडियो नेपालमा र स्टेजमा थुप्रै गीत गाइसकेको थिएँ । त्यसैले मलाई ‘तिम्रो सासले बदन छुने' बोलको त्यो गीतमा नृत्य र अभिनय गर्न केही गाह्रो भएन ।
त्यतिबेला नायिका मीनाक्षी आनन्दले अमिताभ बच्चनसँग ‘मुकन्दरका सिकन्दर' नामक चलचित्रमा अभिनय गरिसक्नुभएको थियो । उहाँले भनेपछि मैले पनि त्यो चलचित्र हेरेँ ।
अभिनय गर्दा सुरुका एक दुई दिन त अलि अप्ठेरै भयो । दुई तीन टेक त लिनु नै पथ्र्यो । विस्तारै सुधार हुँदै गयो । तर चलचित्र छायांकनको क्रममा मैले निर्देशक, निर्मातालगायतका कसैका पनि गाली आजसम्म खानुपरेको छैन । मलाई गाली गर्न नै उनीहरू डराउँथे । बरु उल्टै मेरा गाली चाहिँ अरूले खुब खाएका छन् ।
चलचित्रको ९० प्रतिशत छायांकन नेपालमै गरेको भए तापनि एउटा गीत र केही अंश भने बम्बईमा गरिएको थियो । म त्योभन्दा पहिले पनि बम्बई गइसकेको भए पनि चलचित्रको लागि त्यो पहिलो पटक थियो । त्यतिबेला भारतीय कलाकारसँग खासै भेट भएन ।
मेरो दोस्रो चलचित्र ‘सम्झना'को छायांकन बम्बई, दार्जिलिङ र कालिङपोङमा भएको थियो । त्यतिबेला मैले कुमार गौरव, सञ्जय दत्तलगायतका कलाकारलाई भेटेको थिएँ । तर मैले उनीहरूलाई टेर्ने थिइन । उनीहरूभन्दा ठूलो स्टार त म नै हो भन्ने लाग्थ्यो ।
मलाई कुनै पनि निर्देशकले यसो गर, यो लगा, ऊ लगा भनेर भनेनन् । मैले जे गर्यो त्यही स्टायलमा हुन्थ्यो भने मैले जे लगायो त्यही फेसनमा । सबैले भुवन केसी स्टायल भनेर खुब मन पराउने गर्थे । मैले टप बुट लगाउँदा सबैले त्यस्तै लगाउँथे ।
मलाई कुनै पनि निर्देशकले यसो गर, यो लगा, ऊ लगा भनेर भनेनन् । मैले जे गर्यो त्यही स्टायल हुन्थ्यो भने मैले जे लगायो त्यही फेसन । सबैले भुवन केसी स्टायल भनेर खुब मन पराउने गर्थे । मैले टप बुट लगाएर सबैले त्यस्तै लगाउँथे । चलचित्रमा पनि मैले आफ्नै हिसाबले लुगा लगाएर जान्थेँ । पछि निर्देशकले वाह भन्थे ।
अहिलेसम्म नेपाली चलचित्रमा मेरै चलचित्र ‘कुसुमे रुमाल' पहिलो पटक सिल्भर जुब्ली हिट भयो । यसको सफलतापछि नै नेपाली सिनेमा बन्न थाले । स्टारडम भन्ने नै यही चलचित्रबाट सुरु भयो । सुटिङमा प्रशंसकहरूको भीड लागेर सुटिङ गर्नै गाह्रो हुन्थ्यो । त्यसैले पुलिसलाई बोलाएर भीड हटाएपछि बल्ल सुटिङ गर्न पाइन्थ्यो ।
अटोग्राफका लागि हात हातमा कपी बोकेर आउँथे । एक पटकमात्रै भेट्न पाए पनि कस्तो हुन्थ्यो भन्थे उनीहरू । चिठीहरू त कति आउँथे कति । त्यसमा पनि रगतले चिठी लेख्ने फ्यान पनि धेरै थिए । त्यतिबेला एउटा चलचित्रमा अभिनय गरेपछि अर्को नपाउने कलाकार कैयौं थिए ।
कलाकार हुन तपस्या गर्नुपथ्र्यो । त्यसमा पनि सफल हुन त धेरै गाह्रो थियो । तर मेहनत गरेअनुसारमा काममा सन्तुष्टि पनि धेरै हुन्थ्यो ।