जुुझरु जेविका
नेपाली चलचित्र क्षेत्रमा आफ्नो ठाउँ बनाउन खोजिरहेकी छन्, अभिनेत्री जेविका कार्की । ‘प्रोडक्सन हाउस' सञ्चालन गरिरहेकी उनलाई पत्रकार तथा चलचित्र निर्देशक सुव्रत आचार्यले म्युजिक भिडियोमा अभिनय गर्न प्रस्ताव गरे ।
त्यसपछि सुरु भयो उनको कहिल्यै नसोचेको चलचित्र यात्रा । पत्रकारिता तथा आमसञ्चारमा स्नातक तह पढ्दै गरेकी जेविकाले टेलिभिजनमा करियर बनाउने बाटो खोजिरहेकी थिइन् ।
चलचित्रतर्फ करियरको बाटो मोडिएपछि पनि उनले बेलाबेलामा टेलिभिजन कार्यक्रम गरिरहन्छिन्, लेख पनि लेख्छिन् । धेरैले बाल्यकालमा चलचित्रको अभिनेता वा अभिनेत्री बन्ने क्षणिक रहर पालेका हुन्छन् । अञ्जानमै पलाउने त्यो रहरबाहेक अभिनेत्री बन्ने ठूलो रहर जेविकाको थिएन ।
सामाजिक विषयवस्तुमा काम गर्न चाहने जेविका समाजले पचाउन सक्नेसम्मका दृष्य दिन तयार छिन् ।
यस क्षेत्रमा प्रवेश गर्न उनलाई गाह्रो भएन तर प्रवेश गरिसकेपछि थाहा भयो, काम गर्न त्यति सजिलो पनि रहेनछ । भनिन्, ‘बाहिरबाट हेर्दा अभिनय सजिलो, जसले पनि गर्न सक्छ जस्तो लाग्थ्यो, तर धेरै च्यालेन्जेज रहेछ ।' अहिले चलचित्रमा प्रवेश गर्नेहरूले सबै कुरामा पोख्त भएर मात्र आउने गरेका छन् ।
बलियो प्रतिस्पर्धा उनले यहाँ आएपछि देखिन् । केही म्युजिक भिडियो र चलचित्र जन्मभूमिमा अभिनय गरिसकेकी जेविकाको अहिले चलचित्र ‘कारखाना'को लागि व्यस्त छिन् । भर्खरै अभिनयको स्वाद लिइरहेकी उनी राम्रो अभिनय गर्न सके त्यही नै नेपाली चलचित्रको लागि योगदान हुने ठान्छिन् ।
सामाजिक विषयवस्तुमा काम गर्न चाहने जेविका समाजले पचाउन सक्नेसम्मका दृश्य दिन तयार छिन् । भन्छिन्, ‘मैले ढुक्क भएर आफ्नो परिवारलाई आफ्नै चलचित्र देखाउन सक्दिनँ भने त्यस्तो काम गर्दिनँ ।'