कलेजका केटीको क्यान्टिन गफ
शरीरसँग चिटिक्क मिल्ने कलेज ड्रेस । विभिन्न स्टाइलका ब्याग । घाँटीमा लामो टाई । स्मार्ट लुक्स । बिहान होस् या दिउँसो वा साँझ, काठमाडौंका सडकमा हिँडिरहेका करिअर कन्र्सस कलेज गल्र्स देखिनु यहाँको जीवनशैली बनिसकेको छ ।
प्राइभेट वा पब्लिक क्याम्पसहरूमा विभिन्न फ्याकल्टीमा पढिरहेका यी युवतीहरू प्रायः ग्रुपमा देखिन्छन् । कुरा गरिरहेका भेटिन्छन् । आखिर के कुरा गर्छन् त यी युवतीहरू ?
कम्तीमा क्यान्टिनमा केबारे गफिन्छन् ? आउनोस्, कलेज क्यान्टिन जाऊँ । म तपाईंलाई दुई क्यान्टिनमा लैजान्छु कलेज गल्र्ससँग गफिन । नेपाल ल क्याम्पस र डिल्लीबजार कन्या क्याम्पसका क्यान्टिनमा बेग्लाबेग्लै गरिएको कुराकानीको सगोल प्रस्तुतिः
ल क्याम्पसमा पाँचवर्षे एलएलबीको पहिलो वर्षमा अध्ययनरत प्रिया कर्ण, सचिना क्षेत्री, सिर्जना बस्नेत, पूजा खड्का र श्रीया शर्मासँग गफिएको थिएँ म । त्यसैगरी डिल्लीबजार कन्या क्याम्पसमा बीबीएस चौथो वर्ष अध्ययनरत शान्ता घिमिरे, प्रमिला लामा, इन्दु राई र जानकी ओझासँग पनि । सुरुमै सोध्छु– क्यान्टिनमा के कुरा गर्छन् कलेज गल्र्स ?
‘सुरुमा त के खाने भनेरै कुरा हुन्छ’, ल क्याम्पसका गल्र्सको जवाफ । ‘खानाको त छँदैछ अनि पढाइको कुरा बेसी हुन्छ’, उस्तै जवाफ डिल्लीबजारका गल्र्सको पनि । ‘अचेल क्लासमा सेयर र अन्ट्रप्रिनअरबारे पढाइ भइरहेछ, त्यसैबारे क्यान्टिनमा पनि कुरा हुन्छ’, थपे उनीहरूले । अनि अरू ? न्युज ? ‘फेसबुकबाट थाहा भइहाल्छ’ । पोलिटिक्स ? ‘खोइ प्रचण्डले केही पनि गर्दैनन् होला’, ल क्याम्पसका गल्र्सको आशंका । ‘प्रचण्ड प्रधानमन्त्री भएपछि सेयर बजार गिरेको छ’, डिल्लीबजार गल्र्सको नलेज ।
खासमा केटीहरूसँग कुरा गर्न गाह्रो हुन्छ । कुरा खोतल्न सुरुमा झन् गाह्रो, पछि रोक्न हम्मे । मलाई त खोतल्नु थियो । टपिक्सवाइज सुरु गरेँ । केटीहरू बढी फेसन कन्सस हुन्छन् हो ?
ल क्याम्पस गल्र्स भन्छन् ः ‘फेसनप्रति कन्सस छु तर तडकभडक मन पर्दैन’, पूजा । ‘फेसन इम्पोर्टेन्ट छ तर कल्चर पनि जोगाउनुपर्छ’, श्रीया । ‘सुहाउने ड्रेसअप गर्नुपर्छ’, सिर्जना । ‘अकेजन बेस फरक हुन्छ’, सचिना । ‘पर्सनालिटी डिभल्प गर्ने हुनुपर्छ’, प्रिया ।
डिल्लीबजार गल्र्स भन्छन् ः ‘सुट गर्ने हुनुपर्छ, बजारको नयाँ जत्ति ठीक हुँदैन’, प्रमिला । ‘म्याच हुने लगाउने हो, छोटो कपडा मन पर्दैन’, इन्दु । ‘फरकफरक डिजाइन मन पर्छ’, शान्ता । ‘समयअनुसार चेन्ज हुनुपर्छ तर भड्किलो होइन’, जानकी ।
फिल्मबारे के कुरा हुन्छ नि ? यसमा भने सबैको रुचि उस्तै देखियो । लभ वा कमेडी त्यसमा पनि बढीजसो बलिउड ।
केटाहरू केटीबारे गफ गर्छन् केटीहरू गर्छन् कि गर्दैनन् ? सोचेको थिएँ, गल्र्स लजाउनेछन् तर स्मार्ट गल्र्स लजाउँदैनन् । कन्फिडेन्ट हुन्छन् । उस्तैगरी दिए जवाफ ।
‘अलिअलि कुरा हुन्छ । जज गरिन्छ । राम्रो नराम्रो छुट्याइन्छ’, भने ल क्याम्पस गल्र्सले । मित्रवत् व्यवहार गर्ने मिस्टभाषी केटाहरू उनीहरूको च्वाइस । तर, बाटोमा जिस्क्याउने केटाहरू भने मन नपर्दो रैछ । अनौठो अनुभव सुनाए, टाईमा लेखिएको लोगो फलाक्दै जिस्क्याउँदा रैछन् केटाहरू । तर उनीहरू बेवास्ता गरी हिँड्दा रहेछन् ।
डिल्लीबजार गल्र्स भने फरक । ‘म त गाली गरिदिन्छु’, बोल्ड देखिइन् इन्दु । एकपटक रत्नपार्कमा कामको सिलसिलामा उभिनुपर्दा जिस्क्याउने केटाहरूको हूललाई गाली गरिदिएकी रैछन् उनले । ‘तर कतिजनालाई गाली गर्नु ? ’, उस्तै गुनासो थियो यी गल्र्सको पनि । ‘बच्चाहरू पनि जिस्क्याउँछन्, कसले सिकाउँछ उनीहरूलाई ? ’, ल क्याम्पस गल्र्सको प्रश्न ।
यतिमात्र होइन पर्सनल रिलेसनबारे पनि एकअर्कोमा सेयर गर्ने बताउँछन् कलेज गल्र्स । ‘एकअर्कोमा सेयर गरे पो भविष्यमा आउनसक्ने चुनौती, समस्याबारे थाहा हुन्छ । आवश्यक पर्दा हेल्प गर्न सकिन्छ । अब पहिलाजस्तो लुकाउने दिन पनि त रहेन ।’ जवाफ सुनेर भनेँ मैले, वाउ क्या स्मार्ट कलेज गल्र्स !