मन्दिर अघि बस्ने सबै बाबा सद्दे हुँदैनन्

मन्दिर अघि बस्ने सबै बाबा सद्दे हुँदैनन्

मन्दिरको वरिपरि बसेर हेरिरहेका बाबा र साधुलाई ढोगिहाल्ने बानी र आफ्नो मनको कुरा भनेर आशीर्वाद लिने चक्करले कतिजनाको पारिवारिक जीवन नै खत्तम हुन पुगेका घटना समाजमा धेरै पाइन्छन् । तर ती घटना प्रकाशमा आउँदैनन् । मलाई पनि एकचोटी बाबाले भनेका थिए, 'तिमीमा योगी बन्न सक्ने योग्यता छ, 'तर तिमीले आफ्नो परिवार त्यागेर लोग्नेलाई दाजु मान्नुपर्छ ।' बाबाको कुराले मलाई वाक्कदिक्क लाग्यो । म त्यो ठाउँमा जानै सकिनँ ।

तर पछिल्लो समयमा जब 'बाबा', 'योगी र बाबुहरूको अश्लील काम उनीहरूले किशोरी र महिलाहरूलाई गरेको यौनशोषण, यौन दुव्र्यवहार र ठगीका घटना देखेपछि 'बाबा'लाई देखेर मनमा श्रद्धा उब्जिनुको सट्टा धिक्कारको लाग्न थालेको छ ।

भारतका 'भगवान्' मानिने आशारामको किशोरी र महिलाको यौनशोषण गरेको समाचारले केही समयअघि आमसञ्चारमा निकै चर्चा पाएको थियो । नेपालबाट पनि कति महिला आशारामलाई ढोग्न जान्थे । अहिले ती भक्तजनको के हालात् भएको होला ?

के उनीहरू अहिले पनि बाबा रे बाबा, छिटो आएर हामीलाई मुक्ति दिनुस् भन्लान् कि ?

आशारामले २०१२ डिसेम्बर २६ मा एक युवतीमाथि बलत्कार हुँदा भनेका थिए 'यदि ती युवतीले सरस्वतीको मन्त्र पढेको भए, बलात्कारीलाई तिमीहरू मेरो दाजुभाइ हो, मलाई छोडिदेउ भनेको भए र केटा साथीसँग बसमा नचढेको भए उनको बलात्कार हुँदैनथ्यो' यस्ता बाबाको अश्लील बोली र विचार चिन्न कति लामो समय लागेको होला हाम्रो समाजमा ?

 

धार्मिक गुरुहरू भन्दैमा उनीहरूले यौनहिंसा गर्न सक्दैनन्, बदमासी गर्न जान्दैनन्, ठगी गर्न सक्दैनन् भन्ने विचारलाई परिवर्तन गरौं र ठगीको सिकार नबनौं ।

अरूलाई नैतिकताको पाठपाठ पढाउने यी धर्मगुरु कति यौनपिपासु रहेछन् र कसरी महिला आफ्नो जालमा पार्दा रहेछन् भन्ने कुरा खुलेपछि त अहिले कति जनालाई योगी र सन्तप्रति नै शंका लाग्न थालेको छ ।

१२ वर्षअघिको कुरा हो मातातीर्थमा बस्ने एकदम ठूला ज्योतिषी बाबा छन् रे भनेको सुनेको थिएँ । मेरी एकजना दिदी ज्योतिषी र बाबाहरूमा असाध्यै श्रद्धा राख्ने हुनाले उनले मलाई पनि लिएर गइन् ती बाबाकहाँ । 'प्रकाण्ड ज्योतिषी, त्रिकालदर्शी' जे भन्यो त्यही ठ्याक्कै मिलाउने ती बाबाको कुरा सुन्ने लोभले मलाई पनि तानेको थियो ।

बिहान ६ बजे घरबाट जाँदा झुटो बोलियो । मातातीर्थको बाबाकहाँ पुगेपछि एक घन्टा कुर्नुपर्‌यो । बाबाले मलाई पनि दर्शन दिए । 'दक्षिणा राख्नुहोस्' भनेपछि मैले २० रुपैयाँ राखेँ । रकम थोरै भयो कि क्यारे उनले बांगो नजरले हेर्दै भने 'तपाईंको आर्थिक अवस्था राम्रो रहेनछ ।

तपाईंलाई आर्थिक संकट भविष्यमा परिरहनेछ ।श्रीमान्ले दिए खान पाउने नत्र भोकै पर्ने स्थिति रहेछ । तर त्यसबाट मुक्ति दिलाउन म प्रयत्न गर्छु । एक महिनापछि यहाँ जप हुँदैछ । २५ सय दियो बाल्नको लागि पैसा छोड्नु होला, सबै ठीक हुन्छ ।'

मेरो अवस्था नराम्रो थिएन । म आफैं कमाउँथे । मैले लगाएको पुरानो लुगाले बाबालाई मेरो निजी कमाइ छैन भन्ने लागेछ क्यारे । ती बाबाको 'त्रिकालदर्शी' चर्चा त गलत रहेछ भन्ने भान भयो । एक सातापछि नै एक पत्रिकामा ती बाबाको नालीबेलीसहित फोटो र जालझेलको घटना छापियो । त्यसपछि म कति मूर्ख भएकी रहिछु भनेर रिस उठ्यो ।

२० दिनपछि सोही आ श्रमबाट तपाईंको २५ हजार जप गर्नको लागि पैसा छोडिदिनुस् भनेर फोन आयो । मैले 'भइहाल्यो जपसप गर्नु पर्दैन' भनेर फोन राखेँ ।

अर्का निर्मल बाबाको लड्डु खाउ, गोलकप्पा खाउ, अनि सबै राम्रो हुन्छ भन्ने विज्ञापन र पैसाको ठगी भएको कुरा भारतीय सञ्चारमा आएपछि ती बाबाको विज्ञापन रोकियो । नेपालमा पनि निर्मल बाबाका धेरै महिला भक्त थिए । पैसा कालो पर्समा राखे बढ्छ भन्ने बाबाको भनाइलाई स्वीकारेर कालो रङको पर्स किन्ने धेरै महिला थिए । ती बाबाको 'ठगी' पछि कति जनाले धत्तेरिका भनेका थिए । तर नेपालको एक टीभीमा निर्मल बाबाको विज्ञापन अझै पनि आइरहन्छ ।

अर्का बाबा छन् । चानचुने होइन, भगवान् रूपका रे ! कति जना नाम कहलिएका बाबाहरूमध्ये कति त आफ्ना भक्तिनीसँग 'यौनसम्बन्ध' राख्छन् र त्यसको कारण चाहिँ भक्तिनीहरूको पापमोचन गर्ने तरिका हो' भनेर बाबाले भन्छन् । त्यसो भए पुरुष भक्तहरूको पापमोचन कसरी हुने ? किनभने बाबाले पुरुषसँग यौनसम्बन्ध राख्दैनन् ।

ती बाबामध्ये कति त मरेर गइसके । तर भक्तजन् अझै उनको नाम जपेर भजन र रमाइलो गर्छन् । ती बाबाको मायाको बन्धनमा कहिलेसम्म पर्ने होला ?

हुन त एक दुई वर्षअघि युरोप र अमेरिकाका गिर्जाघरका पादरीहरूले बालकहरूलाई शारीरिक र यौनशोषण गरेको कुरा सार्वजनिक भएपछि यसले भ्याटिकनलाई आच्छुआच्छु परेको थियो । पादरीहरूले यौनशोषण गरेका कतिपय बालकहरू वयस्क भएपछि, टीभी र पत्रपत्रिकामा आएर कसरी धर्म गुरुहरूबाट यौनहिंसाको सिकार भइयो त्यसको शारीरिक र मानसिक रूपमा कस्तो असर गर्‌यो भन्ने कुरा भनेका थिए ।

धार्मिक गुरुहरू भन्दैमा उनीहरूले यौनहिंसा गर्न सक्दैनन्, बदमासी गर्न जान्दैनन्, ठगी गर्न सक्दैनन् भन्ने विचारलाई परिवर्तन गरौं र ठगीको सिकार नबनौं ।

धर्मको दृष्टिकोणले हेर्ने हो भने त यो हाम्रो शरीर नै मन्दिर हो । यहीँभित्र ईश्वरको बास हुन्छ । अनि किन बाबाको चक्करमा परेर समय र पैसा बर्बाद गर्ने ? साँच्चिकै धार्मिक गुरु छन् भने उनीहरू न पैसाको माग गर्छन् न त आफ्नो पाउमा ढोग गर्न भन्छन् । सत्य बाबाले त गरिब र दुःखीको सेवा नै ईश्वरको सेवा हो भन्ने सिकाउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.