प्राज्ञिक धरोहर यदुनाथ

प्राज्ञिक धरोहर यदुनाथ

युगले चाहँदैमा र समाजले रहर गर्दैमा नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र नेपालका प्राज्ञिक धरोहर सरदार यदुनाथ खनालजस्ता कयौं वाङ्मयीरत्नहरू पटकपटक जन्मन नसक्दा रहेछन् । नेपाली साहित्यका वरदपुत्र महाकवि देवकोटा वाङ्मयकै सिंगोरत्न हुन् । यस क्षेत्रका अद्वितीय र अद्भुत प्रतिभा देवकोटाका बारेमा हजारौं पृष्ठहरू लेखिए, धेरै छापिए, सबै क्षेत्रमा सबैका लागि कहिल्यै नसुक्ने प्रेरणाका मुहान महाकवि देवकोटाका बारेमा अझ कति लेखिने छन् कति छापिने छन् ?

यो सवाल नेपाली साहित्यको युग रहेसम्म निरन्तर चलिरहनेछ । महाकवि देवकोटाले ५० वर्षको उमेर नपुग्दै नेपाली साहित्यलाई रुसको तासकन्दद्वारा विश्वसाहित्यमा प्रवेश गराए । देवकोटा नेपाली साहित्यकै सिंगो प्रज्ञा-प्रतिष्ठान नै हुन् । आजभन्दा ८० वर्षअगाडि महाकवि देवकोटा, छात्र यदुनाथ खनाल र त्रिचन्द्र कलेजस्तरीय निबन्ध प्रतियोगितालाई लिएर इतिहासको एक कालखण्डको सस्मरण गर्ने प्रयास यदुनाथ खनालको १०४ औं जन्मोत्सवको अवसरमा गरिएको छः

नेपालका राणा प्रधानमन्त्री जंगबहादुरको शासनकाल प्रारम्भका सात वर्षपछि वि.सं. १९१० सालमा दरबार हाइस्कुलको स्थापनाबाट सुरु भएको नेपालको औपचारिक शिक्षाले हालसम्म आइपुग्दा अनेकन् घुम्ती, उकालीओराली र मोडहरू पारगरिसकेको छ । त्रिचन्द्र कलेजको स्थापनाले नेपालको प्राज्ञिक जगतमा एक प्रकारको उर्बर हलचल नै ल्याएको थियो । अझ भनौं १९९७ सालको राजनीतिक चेतनामा त्रिचन्द्र कलेजले उच्च बौद्धिक समुदायको नेतृत्व गरेको थियो ।

भारतस्थित पटना विश्वविद्यालयबाट कला र कानुनमा स्नातक गरेका महाकवि देवकोटाले त्रिचन्द्र कलेजमा नेपाली पढाउनको लागि प्रवेश पाएका थिए, तर अंग्रेजी साहित्यमा पनि देवकोटाको विशेष क्षमता र दक्खल थियो । तत्काल त्रिचन्द्र कलेजमा अंग्रेजी साहित्यका प्राध्यापक रहेका यदुनाथका अनुसार पनि अद्वितीय वाकशक्ति सम्पन्न देवकोटाको प्रचुर बौद्धिकता र प्रतिभा क्षमताको बल र आडमा राणाहरूले उनलाई त्रिचन्द्र कलेजमा अंग्रेजी साहित्यको प्राध्यापक पद उपलव्ध गराएका थिए ।

नेपाली वाङ्मय क्षेत्रका सिंगो प्राज्ञिक धरोहर कूटनीतिज्ञ यदुनाथ खनाल एउटा यस्तो विवादरहित, कर्तव्यनिष्ठ र निष्कलंक नाम हो, जो विगत ८० वर्षसम्म नेपालको कूटनीतिक, साहित्यिक, शैक्षिक, प्रशासनिक र सामारिक महत्त्वका क्षेत्रमा अटुट रूपमा आजीवन देखापर्‌यो ।

किनभने औपचारिक रूपमा एमए पास नगरिकन कलेज पढाउन पाउने प्रावधान थिएन, तर महाकविको प्रतिभा र क्षमताको अगाडि बीएबीएल नै एमए उपाधिको सारथि बन्न पुग्यो । महाकवि देवकोटाले मूल्यांकन र भविष्यवाणी गरेका यदुनाथ खनाल र उक्त निबन्ध प्रतियोगिताको महत्त्व आज पर्यन्त पनि विशेष संस्मरणीय छ ।

अधिकांश कर्मयोगी मानिसहरू जीवनमा एकपटक जसरी उदाए त्यसरी अस्ताउने पनि गर्छन्, तर नेपाली वाङ्मय क्षेत्रका सिंगो प्राज्ञिक धरोहर कूटनीतिज्ञ यदुनाथ खनाल एउटा यस्तो विवादरहित, कर्तव्यनिष्ठ र निष्कलंक नाम हो, जो विगत ८० वर्षसम्म नेपालको कूटनीतिक, साहित्यिक, शैक्षिक, प्रशासनिक र सामारिक महत्त्वका क्षेत्रमा अटुट रूपमा आजीवन देखापर्‌यो ।

प्राध्यापक यदुनाथ आफ्ना अत्यन्त क्रियाशील जीवनका सुरुचिपूर्ण प्रहरमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका कोटिका प्रकाण्ड विद्वान मानिन्थे । यदुनाथको जन्म १९७० साल साउन २८ गते तनहुँको मानुङ गाउँमा भएको थियो । उनको निधन २०६१ असोज १६ गते झन्डै ९२ वर्षको उमेरमा आफ्नै निवास बानेश्वरमा भएको हो ।

सम्बत् १९९९ सालमा कलकत्ता विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमए गरेपछि सोही वर्ष उनले त्रिचन्द्र कलेजबाट अंग्रेजी साहित्यको प्राध्यापन सेवा प्रारम्भ गरे । आफ्नो बौद्धिक नवऊर्जाशील लेखन र अध्ययनको माध्यमबाट एउटा कुशल अंग्रेजीविद्मात्र नरही एक अग्रणी बौद्धिक प्रतिभाशाली व्यक्तित्वका साथै अंग्रेजी साहित्यबाट प्राप्त विराट मानव सचेतना र उन्नत संस्कार सुरुचिपूर्ण आभूषणभित्र यदुनाथले देश र समाजको पक्षमा प्रदान गरेको अग्रणी सेवा भावी पुस्ताका लागि पनि जीवन्त प्रेरणा भएर रहेको छ ।

यदुनाथ १९९९ सालदेखि २०१३ सम्म त्रिचन्द कलेजमा लोकप्रिय प्राध्यापकको रूपमा रहेका थिए । प्राध्यापक खनालको लोभलाग्दो जीवनशैली र योगदानको महत्त्वताको पक्ष छँदैछ, योभन्दा पनि ८० वर्ष अगाडि १९९३ सालमा त्रिचन्द्र कलेजमा आयोजित कलेजस्तरीय ऐसिहासिक निबन्ध प्रतियोगिता बारेको महत्त्व आफ्नो ठाउँमा छ । अध्ययनको महत्वकांक्ष बोकेर सर्वप्रथम १९८२ सालमा तनहुँको मानुङ गाउँबाट सात दिनको पैदलयात्रा हिँडेर यदुनाथ काठमाडौं आएका थिए ।

सर्वप्रथम १९९० सालमा नेपालमा एसएलसी परीक्षा बोर्डको विधिवत् गठन भएपछि नेपाली विद्यार्थीले स्वदेशमै रहेर परीक्षा दिन पाउने सुगम प्रणालीको सुरुवात भयो । यही क्रममा १९९२ सालको एसएलसी परीक्षामा दरबार हाइस्कुलको तर्फबाट सहभागी भई सर्वाधिक अंक प्राप्त गरी प्रथम श्रेणीमा प्रथम हुने सुअवसर प्रतिभाशाली छात्र यदुनाथ खनालले प्राप्त गरेका थिए ।

एसएलसी परीक्षामा सर्वाधिक अंक प्राप्त गरेबापत तत्कालीन राणा सरकारले उनलाई त्रिचन्द्र कलेजमा आईएस्सी पढ्नको लागि दुई वर्षसम्म मासिक १५ रुपैयाँको छात्रवृत्ति प्रदान गरेको थियो । उक्त छात्रवृत्तिले उनको पठनपाठनमा महत्त्वपूर्ण आर्थिक सहयोग पुर्‌यायो भने तत्काल एक तल्लो तहको सरकारी कर्मचारी नौसिन्दाको मासिक तलब एघार रुपैयाँमात्र थियो । यदुनाथ खनालले त्रिचन्द्र कलेजमा अध्ययनको क्रमसँगै गहन प्राज्ञिक भूमिकासमेत निर्वाह गरेका थिए ।

साहित्य लेखनको प्रारम्भमै निबन्धको क्षेत्रमा विशेष भूमिका छात्र जीवनदेखि नै निभाउँदै आएका यदुनाथले २२ वर्षकै उमेरमा आपूmलाई यस क्षेत्रमा बौद्धिक रूपमा प्रस्तुत गरेका थिए । राणाकालमा देशकै जनचेतना र बौद्धिकताको केन्द्र त्रिचन्द्र कलेज नै रहेको पृष्ठभूभिमा यदुनाथको आरम्भकालीन बौद्धिक प्रतिभाले पनि आफ्नो परिचय दिएको थियो ।

यसै पेरिफेरिमा १९९३ सालको कुरा हो- तत्काल त्रिचन्द्र कलेजमा कलेजस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको थियो । उक्त निबन्ध प्रतियोगितामा यदुनाथलगायत सुरेन्द्रबहादुर शाह, कण्ठनारायण, गोपालप्रसाद रिमाल, रामप्रसाद तण्डुकार, साम्बदेव पाण्डे, रामप्रसाद जोशी र तीर्थनाथ अधिकारीसमेत गरी आठजना प्रतिभाशाली छात्रहरूको सहभागिता रहेको थियो । उक्त निबन्ध प्रतियोगिताको शीर्षक पृथ्वी समुद्र र आकाश राखिएको थियो ।

तत्काल मुनामदनजस्तो ज्यादै लोकप्रिय खण्डकाव्य लेखिसकेका महाकवि लक्ष्मीप्रसाद देवकोटा त्रिचन्द्र कलेजको उक्त निबन्ध प्रतियोगिताका परीक्षक रहेका थिए । उक्त निबन्ध प्रतियोगितामा देवकोटाका सहयोगीका रूपमा अंग्रेजी साहित्यका प्राध्यापक बोधविक्रम अधिकारी र देशकै उच्च प्राज्ञिक व्यक्तित्व खड्गमान सिंहको पनि सहभागिता रहेको थियो ।

नेपालबाट सर्वप्रथम एमए पास गर्ने व्यक्तित्व बोधविक्रम अधिकारी यदुनाथ खनालका पनि गुरु हुन् । नेपाली दन्त्यकथाका स्रष्टा बोधविक्रम अधिकारीको जन्म पनि यदुनाथकै गृहभूमि तनहुँमा १९५१ साल र निधन २००८ साल फागुनमा भएको हो । यदुनाथ साहित्य दर्शन र विज्ञानका त्रिवेणी विद्वान हुन् ।

तथापि, निबन्ध प्रतियोगिता सम्पन्न भएपछि सबै उत्तर पुस्तिकाहरू परीक्षक महाकवि देवकोटालाई बुझाइयो । परीक्षक देवकोटाले अंक निर्धारण गर्दा एकदेखि आठ नम्बरसम्म क्रमसंख्या राखेर निबन्धको मूल्यांकन गरेका थिए । । निबन्ध लेखन प्रतियोगिताअन्तर्गत मूल्यांकनको भाषाशैली, भावुकता, बौद्धिकता, प्रखरता, कल्पनाशक्ति, यथार्थ गहिराइ र चातुर्थजस्ता विषयलाई मापदण्डको आधार मानी अंक निर्धारण गरिएको थियो ।

यदुनाथको उत्तरपुस्तिकाको नम्बर पाँच रहेको थियो । अन्ततः निबन्ध प्रतियोगितामा सबैभन्दा बढी ६० अंक प्रथम श्रेणी प्राप्त गरी यदुनाथ खनाल सर्वप्रथम भै स्वर्णपदकको लागि योग्य मानिए । दोस्रो स्थानमा आजका अर्थविद् प्राडा साम्बदेव पाण्डे योग्य घोषित भए । साम्बदेव पाण्डेको उत्तरपुस्तिकाको नम्बर सात रहेको थियो । उक्त निबन्ध प्रतियोगितामा सहभागी आठैजना सबैले आ-आफ्नो क्षेत्रमा नाम र ख्याति कमाए, तर हुने बिरुवाको चिल्लो पात भनेजस्तै यदुनाथ खनालले प्राप्त गरेको राष्ट्रिय अन्तर्राष्ट्रिय प्राज्ञिक उचाइ र ख्याति आजसम्म कसैले कायम गर्न सकेका छैनन् ।

यसकारण असल र प्रतिभाशाली मानिसको लक्ष्य जीवनको प्रारम्भिक चरणदेखि नै सार्वजनिक हुदै जाँदो रहेछ भन्ने तथ्य यदुनाथको जीवनीबाट बुझ्न सकिन्छ । निबन्ध प्रतियोगिताका सहभागी २२ वर्षीय युवक यदुनाथ खनाल भविष्यमा गएर देशको विविध क्षेत्रका साथै अन्तर्राष्ट्रिय मामिला क्षेत्रमा समेत ख्यातिप्राप्त विद्वान बन्न सक्नेछन् भन्ने महाकवि देवकोटाले तत्काल गरेको सुदूर-भविष्यवाणीलाई पनि आजको स्थितिमा स्मरण नगरिरहन सकिन्न ।

नेपाली साहित्यका विशिष्टसाधक एवं पूर्वीय र पाश्चात्य समालोचनका ज्ञाता तथा प्रख्यात अन्तर्राष्ट्रिय कूटनीतिज्ञ सरदार यदुनाथ खनालको प्रेरणादायी व्यक्तित्वबाट समाज, राष्ट्र र विशेषगरी युवा पुस्ताले लामो समयसम्म पनि प्रेरणा र ऊर्जा प्राप्त गरिरहनेछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.