फेरि खुल्ने भो कोरला नाका
पोखराः चीन र नेपाल जोड्ने मुस्ताङस्थित कोरला नाका केही दिनका लागि फेरि खुला हुने भएको छ । वर्षमा दुईपटक नाका खुलाउने परम्पराअनुसार नै फेरि नाका खुला हुन लागेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिए ।
‘सीमाको गेट भदौ ४ गतेबाट खोल्ने भनिएको छ', अधिकारीले अन्नपूर्णसँग भने, ‘अहिलेचाहिँ चिनियाँहरू आएर व्यापारिक मेलाका लागि स्टल बनाउँदैछन् । उनीहरूले गेट खोले पनि नेपाली र उताका स्थानीयको आउजाउ छैन ।' उनका अनुसार भदौ ४ बाट दुई हप्ताका लागि गेट खोल्न दुईपक्षीय कुराकानी भएको थियो ।
उत्तरी मुस्ताङको लोमन्थाङ गाविसका सचिव ज्ञानेन्द्र विष्टका अनुसार चिनियाँहरूले खबर गरेर यताका स्थानीयलाई किनमेलका लागि डाकेका छन् । हिउँद याममा हिउँकै कारण स्थानीयलाई हिँडडुलमा समस्या हुने हुँदा नाका अहिल्यै खोलिएको गाविस सचिव विष्टले जानकारी दिए ।
भदौ ४ बाट दुई हप्ताका लागि कोरला नाका खुल्न लागेको हो ।
कोरला नाकामा चिनियाँको तारबार छ । गेटमा ताला पनि उनीहरूले नै लगाएका छन् । ताला खोलेर नेपालतिरका अधिकारीलाई उनीहरूले सूचित गरेका थिए । एक दशकअघिदेखि सीमामा तारबार लगाएर चीनले कोरलामा गेट बन्द गरेको छ ।
यसअघि चीनले कोरला नाका असार १ गतेदेखि खुलाएको थियो । चीनले कोरलाको गेटमा ताला लगाउनुअघिदेखि नै यसरी मेला लाग्दै आएको हो । ‘अहिले नाकाभित्र छिरेर चीनबाट किनमेल गरी हिउँदका लागि सामान भण्डारण गर्ने हो', गाविस सचिव विष्टले अन्नपूर्णसँग भने, ‘पोहोर नाका एकपटकमात्रै खुलेको थियो, यसपालि दुईपटक खुल्यो ।' कोरला नाकाभन्दा तीन किलोमिटर पल्तिर चीनको तिब्बती भागमा व्यापार मेला लाग्छ । त्यही मेलामा स्थानीयले किनमेल गर्ने हुन् ।
कोरलाभन्दा ३० किलोमिटर पर तिब्बतको ढोंबासेन जिल्ला छ । त्यही जिल्लाका व्यापारी कोरला नजिक आएर व्यापार गर्छन् । मेलामा नेपालीले पनि आफ्नो स्टल बनाएर व्यापार गर्न पाउँछन् । तर, नेपालीले बेच्नेभन्दा किन्ने सामान धेरै हुँदै आएको छ ।
मेला लाग्ने बेला नेपालले पनि सीमा क्षेत्रको भन्सारलाई सक्रिय पार्ने जानकारी प्रजिअ अधिकारीले दिए । हिउँद याममा अत्यधिक चिसो हुने र हिउँसमेत पर्ने हुँदा असार र असोजमा मेला लाग्दै आएको थियो । तर यसपालि असारमा मेला गरीकन फेरि भदौमा हुन लागेको छ ।
गाविस सचिव विष्टका अनुसार उपल्लो मुस्ताङका बासिन्दाले ६ महिनालाई पुग्ने गरी यिनै मेलाको अवसरमा सामान किनमेल गर्छन् । जोमसोम हुँदै कोरलासम्मै मोटरबाटो पुगेको भए पनि सामान ओसार्ने ट्रक गुड्न मिल्ने गरी सडकको स्तर पुगेको छैन ।